आर्थिक तथा प्रतियोगिता निर्देशिका समयमानै पास हुन नसकी स्थगित भएको सातौ क्षेत्रीय प्रतियोगिता आयोजनाको लागि नयाँ मिति तोक्न राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा प्रस्ताव गर्ने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ कार्यकारी समितिले निर्णय गरेको छ।
सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा समितिका संयोजक राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टको उपस्थितिमा बसेको बैठकले क्षेत्रीय प्रतियोगितको लागि नयाँ मिति तोक्नुका साथै मंसिरमा नै प्रतियोगिता आयोजना गर्न परिषद बोर्डमा प्रस्ताव लाने निर्णय गरेको हो।
बैठकमा समितिका संयोजक सदस्य सचिव बिष्ट तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले प्रतियोगिताको लागि आवश्यक पूर्वाधार करिब सम्पन्न भइसकेका कारण प्रतियोगिता संचालन गर्न कुनै कठिनाइ नहुने भन्दै प्रतियोगितालाई मंसिरमा नै सम्पन्न गर्न सकिने बताए।
बैठकमा प्राविधिक समितिका संयोजक राखेपका सदस्य गंगाबहादुर मगरले खेलाडी तथा निर्णायक कोटा, खुल्ला छनोट खेल, क्षेत्रीय तथा राष्ट्रिय खेलस्थल निर्धारण, प्रतियोगिताको खेल सामग्री सम्बन्धामा समितिलाई स्पष्ट पारेका थिए।