पीडाको वन्दना (एक)
हाम्रा रातहरूमा दु:ख र चोट खन्याइदिन्छ यसले
अनिद्राले भरिदिन्छ यसले हाम्रा आँखालाई।
बर्षातको एक बिहान हिँडदै जाँदा
भेटेका थियौँ हामीले बाटामा यसलाई,
र मायाले सुम्सुम्याएर दिएथ्यौँ बास
बेतोडले धड्किएको हाम्रो मटुभित्र।
कहिल्यै छोडेन यसले हाम्रो बाटो।
हामीलाई दुनियाँका कुनाकुनामा थन्क्याएर
कहिल्यै विलाएन यो हाम्रो अघिल्तिरबाट।
नदिनु रहेछ एक थोपो पनि
पिउनका लागि यसलाई
त्यस बिहान हामीले।
हाम्रा रातहरूमा दु:ख र चोट खन्याइदिन्छ यसले
अनिद्राले भरिदिन्छ यसले हाम्रा आँखालाई।
पीडाको वन्दना (दुई)
किन आउँछ हामी भए ठाउँ यो पीडा?
कहाँबाट आइपुग्छ यो?
वर्षौँदेखि
लडिबुडी खेल्दै हाम्रा सपनाहरूमा
सिँगारिरहेछ यसले हाम्रा गीतहरूलाई।
तिर्खाएका मुख रहेछौँ हामी
र यिनै पीडालाई पिएर प्यास मेट्ने गर्दा रहेछौँ ।
कसै गरी तलाउसम्म पुर्यायौँ घिसारेर त्यसलाई हामीले
कुनै सुस्केरा नलिई, आँसुको एक थोपोसमेत नचुहाई
टुक्र्यायौँ त्यसलाई
र छरिदियौँ तरङ्गहरूमा,
मिसाउँदैन त्यसले अबदेखि हाम्रो खुसीमा दु:ख
बरू हाम्रा गीतका पछाडि लुकाइदिनेछ सुस्केराहरूलाई भन्ने ठानेर।
त्यसपछि आइपुग्यो
आफन्तहरूले क्षितिजपारबाट हाम्रा लागि भनेर पठाएका
सुन्दर सुगन्धित गुलाफको फूल।
त्यसबाट आशा थियो हामीलाई
खुसियाली र हर्षपूर्ण सन्तुष्टी देला भन्ने,
तर त्यसले त झनै विक्षिप्त गरायो
र आँसुसँगै बग्न थाल्यो पीडा
पीरहरूले कुँदिएका हाम्रा औँलाहरूमा।
पीडाको वन्दना (तीन)
ए पीडा, हामी तिमीलाई प्रेम गर्छौँ !
हामी जित्न सक्दैनौँ पीडालाई
न त त्यसलाई अर्को दिनको लागि भनेर सार्न सक्छौँ,
न साँझमा कुनै काममा जोताएर व्यस्त राख्न सक्छौँ,
न कुनै खेल खेल्न लगाएर वा गीत सुनाएर अल्मल्याउन सक्छौँ,
न त बिर्सिएको पुरानो दन्त्यकथा सुनाएर भुल्याउन नै सक्छौँ।
आखिर यो पीडा भनेको के होला ?
मायालु स्पर्शले थुम्थुम्याएर
मुस्कान र लोरीले सुताएको
चञ्चल आँखा भएको सुकोमल, सानो बालकजस्तो।
ए तिमी, जसले हामीलाई दु:ख र आँसु दियौ।
अरू कसैले हैन
तिमीले नै उसको हृदय हाम्रा दु:खका लागि बन्द गरायौ
र
आँसु भएर शरण माग्दै हामी भए ठाउँ आयौ।
अरू कसैले हैन,
तिमीले नै मुस्कानसँगसँगै चोटहरूको उपहार दियौ।
(मूल अरबीबाट हुसेन हाद्वेले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)
नाजिक अल मलाइकाको परिचय:
नाजिक अल मलाइकाको जन्म २३ अगस्ट, सन् १९२३ मा इराकको बगदादमा एउटा सुसंस्कृत तथा साहित्यिक परिवारमा भएको थियो। उनका पिता कवि थिए र उनले २० भाग इन्साइक्लोपिडियाको सम्पादन गरेका थिए। उनकी आमा अम निजार मलाइका वेलायती शासनका विरुद्धमा छद्मनामले कविताहरू लेख्ने गर्थिन्।
अल मलाइकाले सन् १९४४ मा बग्दादको एउटा कलेजबाट स्नातक गरिन्। कलेज पढ्दाताकादेखि नै उनले आफ्ना कविताहरू विभिन्न पत्रिकाहरूमा प्रकाशित गराउन थालिन्। फाइन आर्ट इन्स्टिच्युटमा भर्ना भएर उनले सङ्गीतको औपचारिक शिक्षा लिइन्। आफ्नो अङ्ग्रेजी सहित्यप्रतिको ज्ञानका कारण उनले संयुक्त राज्य अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा छात्रवृत्ति पाइन्। मलाइकाले विस्कन्सिन विश्वविद्यालयबाट साहित्यमा स्नातकोत्तरको अध्ययन पूरा गरिन् र विश्वविद्यालयमा अध्यापक तथा प्रध्यापकका रूपमा प्राध्यापन गरिन्।
नाजिक अल मलाइकाले आफ्नो पहिलो कविता दश वर्षको उमेरमा पारम्परिक अरबी ढाँचामा लेखेकी थिइन्। सन् १९७८ सम्ममा मलाइकाले 'आशिकत अल लाय्ल' (रातकी प्रेमिका), 'शजाया वा रामाद' (झिल्का र खरानी), 'क्वरारात अल म्वौजा' (छालको पिँध) लगायत सात वटा काव्यसङ्ग्रह प्रकाशित गराइन्।
सन् १९६१ मा उनले बग्दादमा अरबी पढ्दादेखिका आफ्ना साथी अब्देल हादी महबुबासँग विवाह गरिन्।
मलाइकाले लामो समय कुवेत विश्वविद्यालयमा प्राध्यापन गरिन्। सन् १९९० मा कुबेतमाथि भएको इराकको आक्रमणका कारण उनलाई कुबेत छोड्न वाध्य बनाइयो। उतिसारो चर्चामा रहने नचाहने मलाइकाले सन् १९७४ पछिका पच्चीस वर्षको अवधिमा लेखिएका रचनाहरू सङ्ग्रहित गरेर सन् १९९९ मा अर्को पुस्तक प्रकाशित गराइन्। खाडी युद्ध सकिएपछिदेखि नै मिस्रको राजधानी कायरोमा बस्दै आएकी मलाइका धेरै वर्षसम्म पार्किन्सन्स रोगबाट ग्रसित भएर २० जुन सन् २००७ मा कायरोमा नै दिवंगत भइन्। प्रस्तुति-अनुवादक
(कवि सुमन पोखरेलद्वारा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कविहरुको कविताको नेपाली अनुवादको श्रृंखला केही हप्तासम्म जारी रहनेछ)