तेक्वान्दोको खेलको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)का अध्यक्ष डा. चोङवन चाले नेपाली तेक्वान्दोको भविष्य उज्ज्वल रहेको बताएका छन्। शनिबार स्वयम्भुमा आयोजित स्वागत कार्यक्रममा उनले नेपालले तेक्वान्दो विकाशमा ठूलो योगदान गरेको भन्दै प्रशंसा गरे।
उनले एकदिन नेपालले ओलम्पिक र विश्व तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले भने– ‘रियो ओलम्पिकमा नेपाली तेक्वान्दोको एक मात्र सहभागिता थियो। तर, सोचे अनुरुप नतिजा आउन सकेन। मलाई विश्वास छ, एक दिन नेपालले उत्कृष्ट र ऐतिहासिक नतिजा ल्याउनेछ।’ अध्यक्ष चोले नेपालमा तेक्वान्दो लोकप्रिय हुनुमा संघको मेहनतको तारिफ गरे। उनले भने, ‘नेपालले पारा तेक्वान्दो र ह्विल चियर तेक्वान्दोको टिम पनि बनाइसकेको छ। साथै पारामा अन्तर्राष्ट्रिय सफलता पनि पाएको छ। त्यसलै नेपाल तेक्वान्दोका लागि उर्बरभूमि हो।’
शनिबार स्वयम्भुनाथ मन्दिरमा उनको स्वागतको लागि नेपाल तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा तेक्वान्दोको डेमोस्ट्रेशन समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले चोको स्वागत गरेका थिए। कार्यक्रममा संघका उपाध्यक्ष हरिश्वर पोख्रेल, महासचिव दीपराज गुरुङ, अन्य पदाधिकारी, तेक्वान्दोका पहिलो ओलम्पियन एवम् सिओल ओलम्पिकमा तेक्वान्दो प्रदर्शनी खेलमा कास्य पदक विजेता विधान लामा, ओलम्पियनद्धय सगीना बैद्य र दीपक विष्टको पनि उपस्थिति थियो। चोलाई संघले विश्वमा तेक्वान्दो खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै कात्र्तिक ९ मा विशेष अभिनन्दन गर्ने कार्यक्रम छ ।