आज उन्नाइस सय बैसठ्ठी मार्च अठ्ठाइस
प्राग-बर्लिन रेलको झ्यालमा बसेर हेरिरहेछु म।
साँझ ढल्दैछ।
हुस्सुले भिजेको फाँटमा
कुनै थकित चरो जसरी रात पर्दै गएको मलाई मन पर्दोरहेछ
मलाई थाहा थिएन।
साँझ पर्नुलाई एउटा थकित चरोसँग तुलना गर्नु
ठीक लागेन मलाई।
म धर्तीलाई मन पराउँदो रहेछु, मलाई थाहा थिएन
के यस धरालाई नचलाएको कसैले उसलाई माया गर्छ?
कहिल्यै जमीन खनेको छुइनँ मैले
मेरो यो माया पक्कै वासनारहित हुनुपर्छ।
र मैले नदीलाई सधैँ माया गरेको छु
यस्तै गतिहीन हुँदा पनि र मर्किँदै पहाडलाई बेरेर झर्दा पनि,
चाहे ती भव्य महलहरूको श्रीपेच लगाएर उभिएका यूरोपेली चुचुरा हुन्
वा
मधेसको लम्बाइभरी आँखाले भ्याउनेजति परसम्म लमतन्न तन्किएका पहाड।
मलाई थाहा छ, उही नदीमा दोहोर्याएर केही पनि पखाल्न सक्दैनौँ हामी।
थाहा छ, हामीले कहिल्यै नदेखेको उज्यालो ल्याउनेछ नदीले
थाहा छ, हामी घोडाभन्दा अलि बढी बाँच्छौँ तर काग जति धेरै बाँच्दैनौ
थाहा छ, यसले उहिलेदेखिका मान्छेलाई पिरोलेको छ, र पछिकालाई पनि सताइरहनेछ।
थाहा छ, यी सबै कुरा हजारौँपल्ट भनिसकिएका छन्,
र फेरि कयौँपल्ट भनिने छन्।
म आकाश मन पराउँदो रहेछु, मलाई थाहा थिएन।
चाहे त्यो बादलले छोपेको होस् वा नाङ्गै।
कालकोठरीको आन्द्रेले बोरिदिनोमा छउन्जेल उसका पिठ्यूँमा पढ्यो
जेलमा छँदा युद्ध र शान्तिका दुबै भाग तुर्कीमा अनुवाद गरेँ मैले।
मैले स्वरहरू सुनेँ
कालकोठरीबाट हैन, आँगनबाट आएको स्वर
फेरि कसैलाई चुट्दै थिए गार्डहरू।
म रूखहरू मन पराउँदो रहेछु भन्ने मलाई थाहा थिएन।
हिउँदमा मलाई भेट्न आउँदा शिष्ट र मृदुल भएर आउँछन्
मास्कोछेउ पेरेडेल्किनोका हाडे बदामका नाङ्गा रूखहरू।
हाडे बदाम रसियन हुन्, पपलरहरू तुर्की भए जसरी।
'इज्मिरका बुट्टाहरू
आफ्ना पात झारिरहेछन्...
तिनीहरू मलाई चक्कु भन्छन्...
हुर्केका रूखजस्ता प्रेमीहरू...
विशाल भवनहरूलाई आकाशमा पुग्ने गरी हुत्याउँछु म।'
उन्नाईस सय बीसमा आफ्नो बुट्टे रुमाल मैले
इल्गाजको जङ्गलको एउटा सल्लाको रुखमा बाँधेर हिँडेको थिएँ,
भाग्य सुध्रेला भनेर।
म बाटाहरू मन पराउँदो रहेछु भन्ने मलाई कहिल्यै थाहा थिएन,
पिच बाटाहरू समेत।
बिर चक्काको पछाडिपट्टि छ,
हामी मास्कोबाट क्रिमिया कोकतेबेल जाँदैछौँ।
तुर्कीमा भन्नु पर्दा पहिलेको 'गोक्तेपे इली।
एउटा बन्द बाकसभित्र छौँ हामी दुई
यसअघि जीवनमै कसैसँग यति धेर नजीक भएको थिइनँ म।
म अठार वर्षको छँदा
रातो बाटोमा पर्ने बोलु र गेरेदेका बीच डाँकाहरूले रोकेथे मलाई।
त्यस घोडागाडामा तिनीहरूले लान सक्ने मबाहेक अरू केही थिएन,
र उसै पनि अठार वर्षको उमेरमा हामीलाई जीवन नै सबैभन्दा कम महत्वको लाग्दछ।
मैले यो पहिले नै कतै लेखिसकेको छु।
रमजानको एक रात
अँध्यारो हिले बाटामा छ्यापछ्याप गर्दै
जाँदैछु म अँध्यारो खेल्न,
एउटा कागजे लालटिन बाटो देखाइरहेछ।
त्यस्तो त्यसअघि कहिल्यै नभएको हुनसक्छ,
इस्टनबुलमा रमजानको कुनै रात
आफ्ना हजुरबाको हात समातेर एउटा आठ बर्षे बालक
अँध्यारो खेल्न गएको,
मैले कतै पढेको हुन सक्छ।
उसका हजुरबाले फेजटोपी र
झम्के कल्लर भएको भुवादार कोट लगाएका हुन्छन्
र म खुसीले आफूलाई थाम्न सकिरहेको हुन्नँ।
खै किन हो फूलहरूको सम्झना आउँछ
पप्पीहरू, सिउँडीहरू, सयपत्रीहरू।
इस्टनबुलको खादिखोयमा सयपत्रीको बगैँचामा
मारिकालाई किस गरेको थिएँ मैले,
उनको निश्वासमा ताजा अल्मोन्ड थियो।
म सत्र वर्षको थिएँ
मेरो हृदयले पिङ खेल्दै आकाश छोएथ्यो।
मलाई थाहा थिएन,
म फूल मन पराउँदोरहेछु।
जेलमा छँदा तीनवटा थुङ्गेफूल पठाइदिएका थिए
साथीहरूले मलाई।
अहिले भर्खरै मैले ताराहरूलाई सम्झेँ
म तारा पनि मन पराउँछु।
तिनलाई भुइँमा सुतेर हेर्दा पनि
र तिनीहरू कै छेउछेउमा उडिरहेको बेला पनि।
अन्तरिक्षयात्रीहरूसँग केही कुरा सोध्नु थियो मलाई -
के ताराहरू यहाँबाट हेर्दाका भन्दा निक्कै ठूला देखिन्छन्?
के कालो मखमलमा विशाल गहनाहरू राखेजस्ता देखिन्छन् ती?
कि हलुवाबेतजस्ता सुन्तले रङ्गका?
के तपाईँलाई ताराहरूको नजीक पुग्दा ज्यादै गर्व लागेथ्यो?
मैले ओगोनेक पत्रिकामा तारामण्डलको रङ्गीन फोटो देखेथेँ।
निराश नहुनुस् कामरेड,
तर हामीले तिनलाई अस्पष्ट वा नबुझिने भन्नैपर्छ।
हो, तीमध्ये केही भने
स्पष्ट र बुझिने भन्न सकिने चित्रजस्ता देखिन्थे।
तिनीहरूलाई हेर्दा मेरो मुटु मुखसम्म आइपुगेको थियो।
हरेक चिजमा आधिपत्य जमाउन चाहने हाम्रा अनन्त रहर हुन् तिनीहरू
मैले त तिनीहरूलाई हेरेर मृत्युका बारेमा समेत सोचेँ,
तर एकरत्ति पनि निराश भइनँ।
मलाई थाहै थिएन, म तारामण्डल मन पराउँदो रहेछु।
हिउँ मेरा आँखैका अगाडि चम्किन्छ
दुबै खाले
गर्हौँ, रसिलो भई जमेको हिउँ पनि,
र भुमरी परेको सुख्खा पनि
मलाई थाहा थिएन,
म हिउँ मन पराउँदोरहेछु।
मलाई थाहा थिएन, म घाम मन पराउँदो रहेछु,
अहिले अस्ताउँदै गर्दाजस्तै चेरीझैँ रातो हुँदाको समेत।
इस्टनबुलमा पनि कहिलेकाहीँ यो पोस्टकार्डको रङ्मा अस्ताउने गर्छ
तर त्यसलाई त्यसै गरी रङग्याउन खोजेको भने हैन।
मलाई थाहा थिएन म समुद्र मन पराउँदोरहेछु
एजोभ सागरबाहेक सबै।
र
म बादल कति बिघ्न मनपराउँदो रहेछु भन्ने मलाई थाहै थिएन
आफू तीभन्दा तल हुँदा पनि र तिनको माथिमाथि उड्दा पनि,
तिनीहरू भयङ्कर ठूला हुँदा पनि र भुवाझैँ पातला हुँदा पनि।
सर्वाधिक कृत्रिम, सर्वाधिक अल्छी बोर्जुवा जूनको किरणले
मलाई कतै भित्रैदेखि छुन्छ ,
म जूनको उज्यालो मन पराउँदोरहेछु।
मलाई थाहा थिएन, म पानी परेको मन पराउँदोरहेछु।
जालीझैँ मिहिनसँगले सिमसिम पर्दा पनि
र शिशामाथि दर्किँदा पनि।
मेरो मनले मलाई
कि त जालीमा अल्झाइदिन्छ
कि थोपाभित्र थुनिदिन्छ।
र नभएका देशतिर डुलाइहिँड्छ।
मलाई थाहा थिएन, म बर्सात् मन पराउँदोरहेछु।
तर यी सबै मोहहरू बारे मैले आज एक्कासी
यो प्राग-बर्लिन रेलको झ्यालमा बसेर कसरी पत्तो पाएँ?
किनभने मैले छैटौँ चुरोट सल्काइसकेको छु
एउटै मात्रले पनि मेरो प्राण लिन सक्छ।
किनभने
म मास्कोमा भएको कसैलाई सम्झिरहेर आधा मरेको छु
जसका पराले रङ्कका खैरा केश र नीला परेला छन्।
रेल अलकत्राजस्तो कालो रातको बीचैबीच हुँइकिरहेको छ
मलाई थाहा थिएन, म अलकत्रे कालो रात मन पराउँदोरहेछु।
इन्जिनबाट झिल्काहरू उड्दैछन्
म आगाका झिल्का मन पराउँछु भन्ने मलाई थाहा थिएन।
म यतिका धेरै चिज मन पराउँछु भन्ने मलाई कहिल्यै थाहा थिएन,
र यति थाहा पाउनका लागि
मैले साठी वर्षको हुन्जेल पर्खनुपर्नेछ
र कहिल्यै नफर्कने यात्रामा हिँडेको जस्तो
दुनियाँ विलिन हुँदै गएको हेर्दै
यो प्राग-बर्लिन रेलको झ्यालमा बस्नुपर्नेछ भन्ने
मलाई कहिल्यै थाहा थिएन।
(मूल तुर्कीबाट र्यान्डी ब्लासिङ तथा मुत्लू कोनुकले गरेको अङ्ग्रेजी अनुवादबाट नेपालीमा अनुदित)
नाजिम हिकमतको परिचय-
नाजिम हिकमतको जन्म सन् १९०२ मा ओटोमनको सालोनिका (हाल ग्रिसको देसालोनिकी)मा भएको थियो। उनको पूरा नाम नाजिम हिकमत रान थियो।
कलाकार आमा र कवि हजुरबाका सङगतका कारण उनी सानै उमेरदेखि कवितातिर आकृष्ट भए र सत्र वर्षको उमेरमा आफ्नो पहिलो कविता प्रकाशित गराए। स्टनबुलमा हुर्किएका नाजिम हिकमत पहिलो विश्वयुद्धपछि मित्र राष्ट्रहरूको अधिनमा रहेको टर्की छोडी मास्को गएर बसे। सन् १९२४ मा टर्की स्वतन्त्र भएपछि उनी स्वदेश फर्किए तर वामपन्थी पत्रिकामा काम गरेकाले तुरुन्तै पक्राउ परे। त्यहाँबाट उम्किएर उनी फेरि रुस पुगे र आफ्नो कविता तथा नाटक लेखनलाई निरन्तरता दिए। छन्दमा लेखिएका राष्ट्रवादी कविताहरूका माध्यमबाट परिचय बनाएका हिकमतले आफ्नो परम्परावादी लेखनलाई छोडी आधुनिक धार समाते।
सन् १९२८ मा आम माफी पाएपछि उनी फेरि टर्की फर्किए र त्यसपछिका दश वर्षमा 'इल्क सिर्लेर' (प्रारम्भिक कविताहरू), 'यातार बुर्सा कालिसिन्दे' (बुर्सामा जे छ) लगायत पाँच वटा कवितासङग्रह तथा 'मेम्लेकेतिम्देन इन्साँ मान्जरालारी' (मेरो देशको मानवचित्र) र 'कुर्तुलुस साभासी दास्तानी' (स्वतन्त्रता सङ्ग्रामको कथा) लगायत चार वटा लामा कविताका पुस्तक प्रकाशन गराए। त्यसबाहेक हिकमतले चार वटा नाटक र एउटा उपन्यास लेखे। अतिवादी कार्यका कारण पाएको लामो जेलसजायपछि सन् १९५१ मा नाजिम हिकमतले अन्तिमपल्ट टर्की छाडे र सोभियत सङ्घ तथा पूर्वी युरोपमा बसे।
नाजिम हिकमतले सोभियत सङ्घमा रहँदा नुज्हत नाजिमसँग विवाह गरे। छोटो अवधीमै सो वैवाहिक सम्बन्ध विच्छेद भएपछि उनी लुदमिला युरसेन्कोसँग लिभ टुगेदरको सम्बन्धमा रहे। सन् १९३५ मा हिकमतले पियारे अल्तिनोग्लीसँग विवाह गरे। सन् १९५० मा जेलबाट छुटेपछि उनले पियारेसँग सम्बन्धविच्छेद गरे र मुनेभ्भेर एन्दाकसँग हिँडे। पचासको दशकको शुरूका वर्षदेखि उनी गालिना ग्रिगोर्येभ्ना कोलेसनिकोभासँग रहे। गालिनासँग अलग्गिएपछि हिकमतले आफूभन्दा तीस वर्ष कान्छी भेरा तुलयाकोभासँग विवाह गरे।
पहिलो तुर्की आधुनिक कवि मानिएका र बीसौँ शताब्दीका एउटा महान कविका रूपमा विश्वभर चिनिएका नाजिम हिकमत हर्ट एट्याकका कारण ३ जुन सन् १९६३ मा रुसको मास्कोमा दिवंगत भए।
(कवि सुमन पाेखरेलको अनुवादमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कविका कविता र उनीहरुकाे संक्षिप्त परिचयकाे यो श्रृंखला केही हप्तासम्म जारी रहनेछ।)