नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीले तर्साएर समानान्तर सरकार चलाएको आरोप लगाएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले थर्काएकै भरमा अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीले कर्मचारीतन्त्र चलाएको, सरकारकै अंगहरुको प्रयोग गर्दै संबैधानिक अंगलाई पंगु बनाएकाले उनी विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताए।
कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पास गराउन मागसहितको संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै अध्यक्ष ओलीले कार्कीले सरकार जसरी नै समानान्तर सरकार चलाउने दुश्प्रयास गरेकाले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताएका हुन्। कार्कीले सुरक्षा निकायलाई पंगु बनाएको, सरकारी संयन्त्र प्रयोग गरेर संबैधानिक अंगहरुमा वेथिति बढाएको आरोप अध्यक्ष ओलीले लगाए।
एमाले कसैप्रति पुर्वाग्रही नभएको भन्दै उनले प्रतिशोध भन्दा पृथक रहेर मुलुक र जनताको हितकालागि महाअभियोग प्रस्ताव अघि सारेको बताए। समयको आवश्यकता र मागभन्दा पछाडि कोही पनि जान नसक्ने भन्दै उनले महाअभियोग प्रस्ताव वर्तमान आवश्यकता रहेको स्पष्ट पारे। पार्टीको संस्थागत निर्णय भईनसकेको भएपनि सर्वसम्मतीसाथ यस प्रस्तावको पक्षमा एमाले उभिने घोषणा समेत ओलीले गरे।
अचानक महाअभियोग प्रस्ताव ल्याईएको भन्ने सन्र्दभमा ओलीले निकै लामो समयदेखि कार्कीमाथिको काम कारवाहीका बारेमा प्रश्न उठेको भन्दै तात्कालिन समयमा मन्त्रीपरिषद् तथा सरकारमा सामेल नभएका दलहरुसंग पनि छलफल भएको स्पष्ट पारे। सरकार ढाल्नका लागि एमालेले षड्यन्त्रपुर्वक संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको भन्ने नेपाली कांग्रेसका केही सदस्यको अभिव्यक्ति प्रति इंकित गर्दे षड्यन्त्र गर्नेहरुका विरुद्धको कदम नै महाअभियोग प्रस्ताव भएको दाबी गरे।
सत्तासाझेदार दल नेपाली कांग्रेसका केही वरिष्ठ नेताले वर्तमान सरकार गठबन्धनलाई असफल पार्ने प्रयास स्वरुप एमालेले षड्यन्त्रपुर्वक महाअभियोग प्रस्ताव ल्याएको भन्दै पुनर्विचार गर्न पार्टी नेतृत्वलाई दबाब दिदैं आएका छन्। विभिन्न दल समर्थक संयुक्त विद्यार्थी संगठनले सनिबार प्रमुख दलका शिर्ष नेतालाई महाअभियोग प्रस्ताव पारित गर्नबाट पछि नहट्न दबाब दिदंै ज्ञापन पत्र बुझाउंदै छन्। संयुक्त विद्यार्थी संगठनले आईतबारदेखि महाअभियोग प्रस्तावमा समर्थन जुटाउन देशभर प्रर्दशन गर्ने भएको छ।