उमेरले ६० वर्ष पुगेकी कुविजा देवकोटा यतिबेला कखरा सिक्दै छन्। अशिक्षाले गाँजेको हाम्रो समाजमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने पुरानो मान्यताले पढ्ने रहर हुँदा पनि उनले पढ्न पाईनन्। नातिनातिनाको हजुरआमा बनेकी देवकोटाले बुढेसकालमा आएर सानैदेखिको पढ्ने इच्छा पूरा गर्दै छन्।
अमेरिकन संस्था युएसआइडीको आर्थिक सहयोगमा किसान परियोजना पाल्पाले जिल्लाका विभिन्न स्थानमा कृषि साक्षरता कक्षा कार्यक्रम सञ्चालन गरेपछि देवकोटा जस्तै उमेर ढल्केका रामपुरका धेरैले बुढेसकालमा कखरा सिक्दैछन् । साक्षरता कक्षामा सहभागी हुँदै गरेकी देवकोटाले अहिले आफ्नो नाम, ठेगाना प्रस्टसँग लेख्न सिकेकी छन्।
उनी भन्छिन्, “मान्छेमा भित्री मनदेखि नै सीप सिक्ने इच्छा शक्ति छ भने उमेरले छेक्दैन”– “मेरो सानैदेखिको पढ्ने रहर अहिले पूरा हुँदैछ, पहिला त लेखपढ गर्न नजान्दा ल्याप्चे लगाइन्थ्यो भने अहिले हस्ताक्षर गर्नसक्ने भएकी छु”। उनी जस्तै साक्षरता कक्षा सिक्दै गरेकी ५८ वर्षीय डेमा देवकोटा पनि हिजोआज सामान्य अक्षर चिन्न र लेख्न सक्ने भएकी छन्।
छोरीलाई पढाउन नहुने, सानैमा बिहे गरेर अर्काको घरमा पठाउने पुरानो संस्कारले पढ्न नपाउँदा यो उमेरसम्म आफू अन्धकारमा बाँचेको बताउँदै अहिले त बुढेसकालमै भए पनि सामान्य लेखपढ गर्न थालेको देवकोटाले बताईन्।
जीवलाल गैरे पनि हिजोआज वृद्धभत्ता लिन जाँदा ल्याप्चेका सट्टा हस्ताक्षर गर्नसक्ने भएका छन्। ५२ वर्षीय भगवती देवकोटा पनि हिजोआज घरधन्दा सकेर साक्षरता कक्षा पढ्न जान्छिन्। उनी भन्छिन्, “नपढेका मान्छेलाई समाजले तिरस्कार गर्ने, विभिन्न आरोप लगाउने गर्छ, अक्षर कस्तो हुन्छ भन्ने कुरा अहिले बुढेसकालमा आएर सिक्दैछु ।” यहाँका धेरैले साक्षरता कक्षाबाट बुढेसकालमा अक्षर चिन्न सक्ने भएको सहजकर्ता सगुन देवकोटाले बताईन्।
परियोजनाले निरक्षरता अन्त्य गरी साक्षरता वृद्धि गर्ने उद्देश्यले पाल्पासहित देशका २० जिल्लामा यो कार्यक्रम चरणबद्ध रुपमा सञ्चालन गरेको छ । रासस