डा. गोविन्द केसीको सत्याग्रह आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको अलायन्सले शनिबार ११ बजे राजधानीको माइतीघर मण्डलामा भेला आयोजना गरेको छ।
सोलिडारिटी फर डा. केसी अलायन्सले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्ताव दुईतिहाइ मतले पारित गर्न संसद तथा राजनीतिक दलहरूलाई दबाब दिने उद्देश्यले यो भेला आयोजना गरेको जनाएको छ।
‘लोकमान प्रवृत्तिविरुद्ध यो निर्णायक लडाइँ हो,’ अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो लडाइँलाई अन्तिम बनाउन राजनीतिक दल, बुद्धिजीवी, लेखक, कलाकार, पेसाकर्मी, नागरिक समाज, सञ्चार माध्यम, अभियन्ता सबैको समान दायित्व र जिम्मेवारी रहन्छ।’
एकचौथाइ भन्दा बढी सांसद महाभियोगको पक्षमा उभिएको सन्दर्भमा यो प्रक्रियालाई टुंगोमा पुर्याउन व्यापक जनसमर्थन आवश्यक पर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘तपाईं लोकतन्त्र वा लोकमानतन्त्रको पक्षमा उभिनु हुन्छ? भोलिको दबाब र्याली तपाईं–हाम्रो लागि निर्णायक दिन हो।’