फाइल फोटो
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू राजनीतिक दलहरुको घेराबन्दीमा परेको बताएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी विद्रोहीबीचको पार्टी एकीकरण सभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दे उनले आफू विरुद्धको दलीय घेराबन्दी राम्रो नभएको उल्लेख गरे। अत्यन्तै जटिल परिस्थितिकाबीच आफू खुकुरीको धारमा हिँडेको भन्दै उनले आफ्ना कामकारवाहीमा समर्थन गर्न कार्यकर्तालाई आग्रह गरे।
उनले एकतावद्ध हँुदै गएको माओवादी आन्दोलनले सबै अप्ठ्यारा र चुनौति सामना गर्दै जाने विश्वास समेत व्यक्त गरे। दलीय घेराबन्दी धेरै भएको भन्दै प्रधानमन्त्री दाहालले अघिल्लो पटक सरकारको नेतृत्व लिए जस्तो अहिले सहज नभएको उल्लेख गरे।
प्रधानमन्त्री दाहालले संविधानमा स्वीकार्यताको दायरा फराकिलो बनाउँदै कार्यान्वयन गराउनु मुख्य चुनौति रहेको बताएका छन्। उनले संविधान कार्यान्वयन मुलुकका लागि मुख्य चुनौतिको विषय रहेको भन्दै संविधानमा असन्तुष्टी जनाएको समुह, मधेसी, जनजाती लगायत समुदायलाई सहमतिमा ल्याउँदै संविधानमाथिको सर्वस्वीकार्यताको दायरा फराकिलो बनाउनुपर्ने उल्लेख गरे। हिमाल पहाड तराई सबैलाई सर्वस्वीकार्य हुने गरी संविधान संसोधन गरी निर्वाचन गराउने प्रमुख दायित्व पुरा गर्न तर्फ सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताए।
उनले संविधानलाई सर्वस्वीकार्य बनाउने प्रयास गर्दे नेकपा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन आफूले हर संभव प्रयास गर्ने उल्लेख गरे। त्यसका लागि आगामी निर्वाचन केन्द्रीत रहेर गाउँगाउँमा विनियोजित बजेट बढाउने तयारी भईरहेको पनि उनले जानकारी दिए।
पार्टी एकीककरण सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री दाहालले संविधान, निर्वाचन र राष्टिय स्वाधिनताका विषय उठाए पनि पछिल्लो समय अत्यन्तै चर्चामा रहेको अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीविरुद्धको महाअभियोग प्रस्ताव बारे भने केही टिप्पणी गरेनन्।