चीन भ्रमणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स लामो समयदेखि अमेरिकाको सहयोगी रहँदै आएको चर्चा गर्दै आफ्नो मुलुक अमेरिकासँगको सहकार्यलाई अन्त्य गरेको घोषणा बिहीबार गरेका छन्।
'म अमेरिकासँग रहँदै आएको सहकार्यबाट ‘पृथक’ भएको घोषणा गर्दछु', फिलिपिन्सका राष्ट्रपति डुटेर्तेले एक कार्यक्रमबीच बताए।
डुटेर्तेले आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई तियानमिनस्थित स्क्वाएर ग्रेट हल अफ द पिपुल्समा भेटेपछि अमेरिकासँगको सहकार्य अन्त्य भएको घोषणा गरेका हुन्।
चिनियाँ राष्ट्रपति सी र फिलिपिन्सका राष्ट्रपति डुटेर्तेबीच आगामी दिनमा दुई छिमेकीबीचको विश्वासलाई थप मजबुत एवम् मैत्रीपूर्ण बनाउँदै अघि बढ्ने र सामुद्रिक सिमानामा देखिने विवादलाई वार्ताद्वारा कम गर्दै जाने विषयमा छलफल भएको फिलिपिन्सले बताएको छ।
यसैबीच अमेरिकी अधिकारीले भने फिलिपिन्सद्वारा अमेरिकासँगको सहकार्य अन्त्य गर्ने सम्बन्धमा कुनै औपचारिक पत्राचार नभएको जनाएको छ। रासस/सिन्ह्वा