दाह संस्कारका लागि आर्यघाट लगिएको शवलाई परीक्षणका लागि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका– २ पुरानो भन्सार रोडका ४० वर्षीय नारायण उपाध्यायको शवलाई मोहना आर्यघाटबाट प्रहरीले नियन्त्रणमा लिई परीक्षण लागि सेती अञ्चल अस्पतालमा पुर्याएको छ।
उपाध्यायको बिहीबार एकाएक मृत्यु भएको र चितामा राख्ने तयारी गरेका बेला मुख, नाक र कानबाट रगत आएको देखेर छिमेकीले प्रहरीलाई खबर गरेपछि मसानघाटमा पुर्याइएको शव प्रहरीले नियन्त्रणमा लिई अस्पताल पु¥याइएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अन्तिम दाहसंस्कार गर्ने क्रममा हत्या गरी मारेको सूचना पाएपछि मृतक उपाध्यायको शव परीक्षणका लागि अस्पातालमा पुर्याइएको बताए।
उपरीक्षक विष्टले हत्याको आशङ्कामा मृतककी श्रीमती र उनको नाता पर्ने सालोलाई सोधपुछका क्रममा नियन्त्रमा लिएको पनि जानकारी दिए।
बिरामी श्रीमान्को हेरचाह नगरेको भन्दै मृतकका दाइ र केही छिमेकीले घर जग्गा बिक्री गरेर भए पनि उनको उपचार गराउने भनेपछि श्रीमती दुर्गाले अस्पतालमा चेकजाँच पनि गराइन्। तर बिरामी श्रीमान् दुर्गाका लागि बोझ भएकाले भाई विमलसँग मिलेर हत्या गरेको आरोप आफन्तको छ। रासस