कञ्चनपुर जिल्लाको ढक्कामा शिविर बनाएर बस्दै आएका आरक्ष विस्थापित परिवारलाई जङ्गली हात्तीको आक्रमणबाट ज्यान जोगाउन गाह्रो भएको छ ।
हात्तीले एक सातादेखि लगातार झोपडी भत्काउन थालेपछि शिविरमा बस्दै आएका परिवार साँझ नपर्दै नजिकैको बस्तीमा बास बस्नका लागि जान थालेका छन् । हात्तीको डरले बालबालिकासहित झोपडीमा रहेको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत बोकेर सुरक्षित स्थानमा जानु परेको स्थानीय हिरादेवी ऐडीले बताईन् ।
साँझ नपर्दै हात्तीको बथान शिविरमै आउँछ उनले भनिन्, “ज्यान जोगाउनकै लागि पनि अन्यत्र बस्नु परेको छ ।” “सुतेको अवस्थामा समेत हात्ती आयो भनेर बालबालिका बर्बराउने गरेका छन् । हात्तीकै डरले बस्ती नै छाड्नुपर्ने अवस्था आएको छ”, भक्तबहादुर महराले भने ।
घरभित्र रहेको तेह्र क्विन्टल धान, डेढ क्विन्टल गहुँ हात्तीले खाएपछि परिवारका लागि अन्नको जोहो गर्न आफन्तलाई गुहार्नु परेको महराले दुखेसो पोखे । दश÷पन्ध्रको सङ्ख्यामा रहेको हात्तीको बथान राति खाना खाँदै गरेका बेला टुप्लुक्कै आँगनमै आइपुग्यो दीपादेवी बोहराले भनिन्, “पाक्दै गरेको खाना छाडेर बालबालिका बोकेर भाग्दै नजिकैको नेपाली सेनाको ब्यारेक पुगेर ज्यान जोगायौँ ।”
दोस्रो दिन बिहानै झोपडीमा पुग्दा पूरै झोपडी भत्केको थियो, अन्न खाएछ, बाँकी रहेको अन्न आँगन र खेतमा छरपस्ट पोखेर बिजोग बनायो, उनले भावुक हुँदै भनिन्, “श्रीमान्ले मजदुरी गरेर ल्याएको अन्न, लत्ताकपडा, भाँडाकुँडा सबै हात्तीले बर्बाद पारेपछि बिचल्लीमा परेका छौँ ।”
उनी जस्तै शिविरमा बस्दै आएकी नरमादेवी कामीले हात्तीको झुण्डले सबै अन्न खाएर र खेतमा पोखेर कामै नलाग्ने बनाएपछि गाउँगाउँ दिनभरि मागेर अन्नको जोहो गरी बालबालिकाको साँझ÷बिहानको खानाको जोहो मिलाउँदै आएको बताईन् । साँझ नपर्दै खाना खाएर झोपडी छाडेर एक सातादेखि सडकमै रात अनिदोमै काट्दै आएको गोपाल बिष्टले बताए ।
महिला, बालबालिका र बुढापाकालाई शिविरभन्दा टाढा घना बस्तीमा सारेका छौँ, उनले भने, “युवा पुरुष मात्रै शिविरमा झोपडी बचाउन सकिन्छ कि भनेर रातभरि अनिँदोमै बस्दै आएका छौँ ।”
शिविरका दुई दर्जनभन्दा बढी परिवारका झोपडी भत्काएर हात्तीको झुण्डले खाद्यान्न खाएर बिचल्लीमा पारेको छ । लत्ताकपडा, भाँडाकुडासमेत कामै नलाग्ने गरेर च्यात्चुत र कच्याक्कुचुक बनाउँदा उनीहरुलाई झनै कष्टमा पारेको छ ।
शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्रबाट विसं २०५९ सालमा आरक्षबाट पुनःस्थापना गराइने भन्दै हटाइएका छ सयभन्दा बढी परिवार यहाँ शिविर बनाएर बस्दै आएका छन् । रासस