अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतीय चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले परिणाम स्वीकार नगरे नतिजा डरलाग्दो हुने बताएका छन्।
डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनको मियामीमा भएको र्यालीलाई सम्बोधन गर्दै ओबामाले ट्रम्पले दिने गरेका टिप्पणी अमेरिकाको प्रजातन्त्र नै कमजोर हुने खालका भएको बताए।
ट्रम्पले बुधबार राति भएको राष्ट्रपतीय उम्मेदवारको प्रत्यक्ष टेलिभिजन बहसमा चुनावी नतिजा स्वीकार गर्ने ग्यारेन्टी दिन नसक्ने बताएका थिए।
ओबामाले राष्ट्रपतीय चुनावको वैधानिकताबारे जनताको मनमा शंका नरहने विश्वास व्यक्त गरे। ‘प्रजातन्त्रप्रति जनताको विश्वास छ भन्ने विरोधीहरूलाई देखाउने किसिमले तपाईंहरू आफ्नो मत व्यक्त गर्नुहोस्,’ ओबामाले भने।
बिहीबार ट्रम्पले भनेका थिए, ‘म बाचा गर्छु कि अमेरिकाका आम भोटरको व्यापक समर्थनबाट म राष्ट्रपतिमा निर्वाचित हुँदैछु।’
ट्रम्पले आफ्नै पार्टीको सुझावलाई समेत अस्वीकार गर्दै चुनावी परिणाम स्वीकार नगर्ने बताउँदै आएका छन्। ट्रम्पले केही दिनदेखि मिडियाहरू पूर्वाग्रही बनी मतदातालाई झुक्याएर चुनावी प्रक्रिया आफूविरूद्ध भएको दाबी गर्दै आएका छन्।
आगामी नोभेम्बर ९ मा अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदैछ।