नयाँ दिल्ली, कार्तिक ४ (एजेन्सी)
भारत भ्रमणमा जीतको आशा छोडिसकेको न्युजिल्यान्डले दोस्रो एकदिवसीय खेलमा रोमाञ्चक ६ रनको विजय हात पारेको छ।
बिहीबार राजधानी नयाँ दिल्लीमा ट्रेन बोल्टले घातक बलिङ गरेपछि भारतले अन्तिम ओभरमा भ्रमणकारी किवी टोलीलाई दोस्रो एकदिवसीय खेल सुम्पिएको हो। यो नतिजासँगै ५ एकदिवसीयको शृंखलामा न्युजिल्यान्डले १–१ को बराबरी बनाएको छ।
कप्तान केन विलियम्सनको सतकीय इनिङका कारण किवीले पहिलो इनिङमा नौ विकेट गुमाउँदै २ सय ४२ रन बनाएको थियो। प्रत्युत्तरमा भारतले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २ सय ३६ रन मात्र बनायो। भारतीय कप्तान महेन्द्रसिंह धोनी ३९ र केदार जादभ ४१ रनमा आउट हुनु नै भारतको हारको टर्निङ प्वाइन्ट बन्न पुग्यो। रोहित शर्मा (१५), अजिन्क रहाणे (२९), विराट कोहली (९) मनिष पाण्डे (१९) चाँडै आउट भएको स्थितिमा धोनी र जादभले पाँचौ विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए।
पुछारमा हार्दिक पाण्डयाले ३६ रन बनाएर खेल तान्न खोजेका थिए। उनले उमेश यादवसँग मिलेर आठौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए। तर, बोल्टको बलमा आउट भएपछि भारतको सम्भावना लगभग समाप्त भएको थियो। बोल्टले १० ओभरमा २ मेडनसहित २५ रन खर्चेर २ विकेट लिएपछि भारत दबाबमा परेको थियो। टिम साउथीले महंगो भएपनि ३ विकेट लिए।
पार्ट टाइमबलर मार्टिन गुप्टेलले १ ओभरमा २ विकेट लिनु पनि भारतका लागि महंगो सावित भयो। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको किवीले कप्तान विलियम्सनको आठौं एकदिवसीय सतकको सहयोगमा सम्मानजनक योगफल तयार पारेको थियो। उनले १ छक्का र १४ चौकाको सहयोगले १ सय १८ रन बनाएका थिए। जस्प्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए।
न्युजिल्यान्डले भारतलाई उसैको घरमा सन् २००३ पछि जितेको हो। १३ वर्षअघि अन्तिम पटक कटक एकदिवसीयमा किवीले भारतलाई हराएको थियो। उसले भारतलाई आठ खेलपछि जितेको हो।