तराई मधेस लोकतान्त्रिक पार्टीले संविधान संशोधनबारे सरकारमा सहभागी दलहरू नै स्पष्ट नभएकाले प्रक्रिया अघि बढ्न नसकेको बताएको छ।
बुधबार पार्टीले गरेको पत्रकार सम्मेलनमा तमलोपाले सरकारमा सहभागी दलहरूकै कारण संविधान संसोधन प्रक्रिया अलमलमा परेको आरोप लगाएको हो। केन्द्रीय समितिका पदाधिकारी र सांसदहरूको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्न गरेको पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयश त्रिपाठीले सरकारमा सहभागी नेकपा माअोवादी केन्द्र र नेपाली कांग्रेसको दोहोरो चरित्रका कारण संविधान संसोधन प्रक्रिया अघि नबढेको बताए।
सहअध्यक्ष त्रिपाठीले प्रधानमन्त्रीले भारत भ्रमणअघि नै संविधान संसोधन विधेयक संसदमा दर्ता गराउने आश्वासन दिए पनि विभिन्न बहानामा आलटाल भइरहेको दाबी गरे। उनले प्रमुख प्रतिपक्षी दल एमालेले पनि संविधान संशोधनको सवालमा दोहोरो चरित्र देखाएको टिप्पणी गरे।
सरकारले मधेसी मोर्चासँग गरेको तीन बुँदे सहमति पालना गरेर संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुनै नसक्ने उनको तर्क थियो। तीन बुँदे सहमतिमा उल्लेख भएका विषय सम्बोधन नभए देश दुर्घटनामा जाने चेतावनी समेत उनले दिए।