राजनीतिक दलमा ‘पहुँच राख्ने’ व्यक्तिहरूको अवैधानिक क्रियाकलापमाथि कारबाही थाल्दा काठमाडौं झिकाइएका दुई प्रहरी उपरीक्षक (एसपी)लाई व्यापक विरोधपछि प्रहरी प्रधान कार्यालयले पहिलेकै ठाउँमा फिर्ता पठाएको छ।
पर्सा प्रहरी प्रमुख राजुबाबु श्रेष्ठ र सिरहाका एसपी श्याम ज्ञवालीको ‘कारबाही सरुवा’ पुनर्विचार गर्दै कार्यालयले पहिलेकै ठाउँमा पठाएको हो।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नभएको बेला दुबै एसपीलाई कामु महानिरीक्षक विज्ञानराज शर्माले दुई दिनअघि प्रहरी प्रधान कार्यालय तानेका थिए। गृहमन्त्री विमलेन्द्र निधिको दबाबपछि दुबै एसपीलाई नियमित सरुवापूर्वै काठमाडौं तानिएको थियो। उनीहरूलाई ‘पेशी’ (ब्रिफ़िङ)का लागि भन्दै प्रहरी प्रधान कार्यालय बोलाइएको थियो।
बुधबार प्रधान कार्यालयले दुबै एसपीलाई फर्किन पत्र थमाएको छ। ‘मैले पत्र पाइसकेँ, म आफ्नो कार्यक्षेत्रमा फर्किँदै छु,’ एसपी राजुबाबु श्रेष्ठले सेतोपाटीसँग भने।
पर्सा प्रहरी प्रमुख श्रेष्ठले असोज १६ गते वीरगञ्जका हुण्डी कारोबारीलाई समातेका थिए। पहुँचवाला कारोबारी सन्तोष जैन, छोरा अंकुर र श्रीमती उषासहित पाँच जनालाई पक्रेर कारबाही प्रक्रिया अगाडि बढाउँदा स्थानीय कांग्रेसका नेताले बोरोध गरेका थिए। समानुपातिकतर्फ कांग्रेसका पूर्वसभासद ओपप्रकाश शर्माले गृहमन्त्री निधिलाई ‘लबिङ’ गरेर प्रहरी अधिकृतलाई सरुवा गर्न मनाएका थिए। शर्माले पक्राउ परेका आरोपीलाई छुटाउन पनि प्रयत्न जारी राखेको प्रहरी स्रोतले जनाएको छ।
छापा मारेर हुन्डीका लागि जम्मा गरेर राखिएको करिब ८१ लाख रुपैयाँ नगद र एक करोड ३२ लाख बराबरको चेकसहित कारोबारीहरूलाई पर्सा प्रहरीले समातेको थियो।
‘समातेको केही दिनमै उनलाई काठमाडौं बलाइएको थियो,‘ प्रहरी स्रोतले भन्यो, ‘यो राजनीतिक हस्तक्षेपको विरोध नभएको भए उहाँहरू यतै थन्किनु हुन्थ्यो। मिडियामा समाचार आउन थालेपछि पुन: सम्बन्धित जिल्लामा नै फिर्ता फ़ठाइएको हो।’
आफ्नो कर्तव्य निर्वाह गर्दा सरुवा गरिएको भन्दै दुई एसपीको सरुवाको प्रहरी सङ्गठनभित्रै पनि व्यापक असन्तुष्टि व्यक्त भएको थियो।
एसपी ज्ञवालीलाई नेकपा माओवादी केन्द्रका पूर्वसभासद विश्वनाथ साहलाई पक्रिन खोजेपछि सरुवा गर्न खोजिएको थियो। साहले इञ्जिनियर देवानन्द मण्डलको अपहरण गरेको आरोपमा एसपी ज्ञवालीले पक्रिन खोजेका थिए।
एसपी ज्ञवालीले बिहीबारबाट सिरहा हाजिर हुने बताए। ‘ब्रिफिङका लागि बोलाइएको थियो, म भोलि सिरहामा हाजिर हुँदैछु,’ ज्ञवालीले भने।
गृहमन्त्री निधिले यसअघि पनि दबाब दिएर आफूलाई ‘नसघाउने’ एसपीको सरुवा गरिसकेका छन्। गृहमन्त्रीको दबाबपछि धनुषा प्रहरी प्रमुख एसपी रामदत्त जोशीलाई यसअघि नै हेडक्वाटर सरुवा गरिसकिएको छ। दाङ कांग्रेसका स्थानीय नेता कार्यकर्ता संरक्षित अबैध क्रसर उद्योगमाथि कारबाही गरेपछि एसपी धीरजप्रताप सिंहलाई पनि सरुवा गर्न गृहमन्त्रीले दबाब दिएका थिए। तर, प्रहरी महानिरीक्षक अर्यालले अडान लिएपछि दाङका एसपीको सरुवा रोकिएको थियो।
कामु प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले भने दुबै एसपीलाई जिल्लाको शान्ति सुरक्षा सम्बन्धमा ‘जानकारी लिन’ मात्र काठमाडौं बोलाएको जिकिर गरे। ‘जिल्लाको शान्ति सुरक्षा विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले दुबैलाई प्रधान कार्यालय बोलाइएको हो, आज फिर्ता भइसक्नुभएको छ,’ शर्माले सेतोपाटीसँग भने, ‘काज सरुवा वा दबाबमा सरुवा गर्न खोजिएको हैन।’