लिखु भुजी रामेछाप युवा क्लबको आयोजनामा छैटौं भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।
प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मनोजकुमार सुनुवारले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। लिग कम नकआउट पद्धतिमा हुने प्रतियोगिताका खेलहरु रामेछापको भुजी खेल मैदानमा खेलाइने छ।
विजेताले भुजी लिग ट्रफीसहित ५१ हजार ५ सय नगद पुरस्कार, पदक र प्रमाण पत्र प्राप्त गर्ने छ। १ केजी चाँदी र १ तोला सुनबाट निर्मित भुजी लिग ट्रफी ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसमा कार्यरत र अवकाश प्राप्त स्थानीयहरुले प्रायोजन गरेका हुन्। दोश्रो हुने टिमले २५ हजार ५ सय नगद, पदक र प्रमाण पत्र तथा तेश्रो हुनेले १३ हजार ५ सय नगद, पदक र प्रमाण पत्र पाउने छन्।
उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ। स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानिय उदीयमान खेलाडीलाई ट्रफी र ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सेमिफाइनलदेखि ‘म्यान अफ द म्याच’ लाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
भुजी गाविसमा फुटबल प्रतियोगिताको सुरुआत २०५५ सालदेखि सुरु भएपनि भुजी लिगको नाममा २०६८ सालदेखि फुटबल प्रतियोगिता आयोजना गर्न थालिएको आयोजकले जनाएको छ। फाइनल कात्तिक १२ गते हुनेछ।