अख्तियार दुरूपयोग अनुसन्धान अायोगका प्रमुख अायुक्त लोकमानसिंह कार्कीलाई अदालतमा उपस्थित हुन गरिएको म्याद सूचना बुझाउने जिम्मा पाएर पनि आलटाल गरेका तामेलदार शम्भु खत्रीबारे सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश ईश्वर खतिवडाको इजलासले मंगलबारै सुनुवाइ थालेको थियो।
सर्वोच्च प्रशासनले तामेलदार खत्रीलाई जिम्मा पाएको म्याद बदनियत राखेर तामेल नगरेको भन्दै टिप्पणी उठाएर इजलासमा पेश गरेपछि सुनुवाइ भएको हो। अहिले सुनुवाइ सकिएको तर आदेश आउन बाँकी छ।
आफ्नै तामेलदारले म्याद नबुझाए रजिष्ट्रारले टिम्पणी उठाएर इजलासमा पेश गर्छन् र त्यसमाथि सुनुवाइ गरी आदेश गर्नुपर्ने नियम छ।
मुलुकी ऐन अदालती बन्दोबस्तको १११ 'बदनियत राखी म्याद तामेल नगर्ने तामेलदारलाई कानुनी कारबाही हुन सक्ने व्यवस्था गरिएको छ।
मुलुकी ऐनमा लेखिए अनुसार, यसरी म्याद तामेल नगर्ने तामेलदारलाई १५ दिन कैद वा एक हजार जरिवाना हुन्छ। जरिवाना र कैद दुबै सजाय पनि हुन सक्छ।
अख्तियार प्रमुख कार्कीको नियुक्ति विवाद सर्वोच्चले पुनरावलोकन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भएकाले १५ दिन भित्र अदालतमा उपस्थित हुनु भन्दै सर्वोच्च प्रशासनले असोज ९ गते उनका नाममा म्याद सूचना सम्बन्धी पत्र काटेको थियो।
उक्त सूचना लोकमानसमक्ष पुर्याउने जिम्मा तामेलदार खत्रीले पाएका थिए। दसैंअघि उनकोघरमा म्याद टाँस्न जाने तयारी गरिरहेका बेला उनी सर्वोच्चसंग सम्पर्कविहीन भएका थिए।
दसैंपछि बल्ल उनी अदालतमा उपस्थित भए। त्यसपछि उनको जिम्मा अर्कै तामेलदारलाई दिइएको थियो। उनीहरुले भने सोमबारै कार्कीको घरमा म्याद टाँसिसकेका छन्।