भारतको गोवामा चलिरहेको ब्रिक्स र बिमेस्टेक देशहरुको संयुक्त बैठकलाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका छन्।
सम्बोधनमा प्रधानमन्त्री दाहालले थाइल्याण्डका राजा भूमिबोल अदुल्याडेजको निधनप्रति शोक व्यक्त गरे। प्रधनमन्त्रीले बिमेस्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको बताउँदै बिमेस्टेक देशहरुको एकताले डेढ अर्ब जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने बताए।
सम्बोधनमा प्रधानमन्त्रीले बिमेस्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्ताव गरे। प्रधानमन्त्रीले बिमेस्टेकलाई बुद्धिष्ट सर्किट र बिमेस्टेक सम्पदालाई जोडेर नागरिक नागरिक बीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्रीले अातंकवाद र अतिवादी सोंच बिमेस्टेक देशहरुको साझा चुनौती रहेको भन्दै त्यसको मिलेर सामना गर्नुपर्ने बताए।