म बसभित्र पस्नेबित्तिकै एउटी विदेशी महिला मलाई हेरेर मुस्कुराई। रातो टी-सर्ट र कालो मिनिस्कर्ट लाएकी अधवैंशे महिला बसको सिटमा अटाइनअटाइ भएर बसेकी थिई। उसको मुस्कान मलाई व्यंग्यजस्तो लाग्यो।
'उपाय छैन, के गर्ने त?' भन्ने भावमा मैले ओठ घुमाएँ।
'बस इज फूल,' उसले भनी।
महाअष्टमीको दिन बिहान ७ नबज्दै पोखराको बाग्लुङ बसपार्क पुगेको थिएँ। म्याग्दी सदरमुकाम बेनी जाने बस अघि नै भरिइसकेको रहेछ। दसैंमा घर फर्किनेको घुइँचो थियो। धेरैले अघिल्लै दिन टिकट लिइसकेका थिए। बसको बीचतिर बसेका यी डच जोडीले पनि टिकट कुरेरै एकदिन पोखरामा बिताएका रहेछन्।
सिट बिना जाउँ कि नजाउँ? म दोधारमा परेँ। पहिलोपटक यो बाटोमा यात्रा गरिरहेको मलाई बेनी कति टाढा छ भन्ने थाहा थिएन।
बसबाट ओर्लिएर काउन्टरमा गएँ। दिउँसो १ बजेको बसमा मात्रै टिकट रहेछ।
अब त्यही बसमा उभिएरै बेनी जानुबाहेक विकल्प रहेन।
'तपाईंहरू कहाँ जाँदै हुनुहुन्छ, जोमसोम?' बस गुडेपछि ती विदेशी महिलालाई सोधेँ।
'हामी ट्रेकिङ जाँदै छौं, माथिल्लो मुस्ताङ।'
उसको श्रीमान् झ्यालपट्टि बसेको थियो। हाम्रो कुराकानीमा कत्ति पनि चासो नराखी एकटकले झ्यालबाहिर हेरिरहेको थियो। मलाई लाग्यो, यो मोटो मानिस निकै घमण्डी हुनुपर्छ।
मेरो अनुमानले पल्टा खायो। ऊ श्रीमतीभन्दा गफाडी निस्कियो।
बाटोमा कतै चिया खान गाडी रोकेको थियो। चिया टिप्ने लाइनमा हामी सँगसँगै पर्यौं। यतिबेला बल्ल ऊ मलाई हेरेर मुस्कुरायो। चिया लिएर टेबलमा राख्दै ऊ कंकड बनाउन थाल्यो।
कागजमा खैनी बेरेर बिँडी बनाउने चलन हाम्रोमा पुरानो भइसक्यो। नेदरल्याण्डमा भने चलेकै रहेछ।
कुराकानीकै क्रममा मैले भनेँ, 'यसरी तम्बाकु खाने चलन हाम्रोमा पुरानो भइसक्यो। हजुरबुवा-बुवा पुस्ताले मात्रै यो प्रयोग गर्छ। हाम्रो पुस्ता रेडिमेड सिगरेटमा रमाउँछ।'
'हामी यात्रा गर्नेलाई यो सजिलो हुन्छ,' उसको भनाइ ठीकै रहेछ। छिनछिनमै चुरोट चाहिने रहेछ दुवैलाई। यस्तो लामो यात्रामा त उनीहरूका लागि दर्जनौं बट्टा चुरोट चाहिँदो हो, जुन बोकेर हिँड्न गाह्रै हुने भयो। एक प्याकेट सुर्ती र एक प्याकेट कागजले त्यस्ता दर्जनौं चुरोटको काम गर्दो रहेछ।
उनीहरू निकै ठूला जागिरे वा व्यापारी होलान् भन्ने लागेको थियो मलाई। सामान्य मानिस बिदामा विदेश घुम्न सक्दैनन् भन्ने सोचेको थिएँ। मेरो सोच यहाँ पनि मिलेन। श्रीमान् सरकारी सार्वजनिक आवासगृहको म्यानेजर रहेछ। जो भर्खरै रिटायर्ड भएको रहेछ। श्रीमती चाहिँ वृद्धाश्रमकी कर्मचारी रहिछ।
बसमा मैले सोधेँ, 'नेपाल पहिलोपटक आउनुभएको हो?'
श्रीमती मुस्कुराई, 'कम्तीमा यो दसौंपटक हुनुपर्छ।'
मेरो अनुमान फेरि मिलेन।
उनीहरू तीनपटक त सगरमाथा आधारशिविर पुगेका रहेछन्। पोखरा पनि यसअघि तीनपटक आइसकेका रहेछन्।
'घुम्नलाई त युरोप सजिलो होला!' मैले भनेँ।
युरोपका प्राय: सहर एकअर्कामा रेल तथा सडक यातायातले जोडिएका छन्। हवाइजहाजले पनि प्राय: सहरलाई जोडेको छ।
'यो त्यति महत्वपूर्ण कुरा होइन,' झ्यालबाहिरबाट आँखा हटाउँदै श्रीमानले भन्यो, 'युरोप असाध्यै महंगो छ। त्यसैले हामी घुम्नलाई दक्षिण एसिया आउँछौं। यहाँ निकै सस्तो छ।'
उनीहरू नेपाल मात्र होइन, भारत र तिब्बत पनि प्रशस्तै घुमेका रहेछन्। यता काठमाडौं वरपरका सबै डाँडाकाँडाको हाइकिङ पनि भ्याइसकेका रहेछन्।
घुमाइको यो रफ्तार देखेर मलाई लोभ लाग्यो। हामीलाई घुम्ने चाँजो मिलाएर यात्रामा निस्कन दर्जनौं पापड बेल्नुपर्छ। तै साइतै जुर्दैन।
उनीहरूका गाइड काल्देन शेर्पा र पोर्टर टेण्डी शेर्पा पछिल्लो सिटमा चुपचाप थिए। काल्देन बेलाबेला मुसुक्क हाँस्थे।
'मैले सानैमा पढेको। नेदरल्याण्डमा समुद्रमुनि चरा उड्छ रे!' यति भनेर म हाँसिदिएँ।
श्रीमतीले भनी, 'खासमा यो साँचो कुरा हो। नेदरल्याण्ड समुद्री सतहभन्दा तल रहेको देश हो।'
पछि श्रीमान्ले अझै स्पष्ट पार्यो, 'करिब दुईतिहाइ भूभाग समुद्री सतहभन्दा २०-२२ मिटर गहिरो छ। त्यसैले यहाँ समुद्रमुनि चरा उड्छ।'
'अनि तपाईंको देशमा मान्छेभन्दा साइकल धेर छ रे?' एउटा केटाकेटी प्रश्न।
समुद्रको सतहभन्दा गहिरो देशका मान्छे समुद्री सतहबाट हजारौं मिटरको उचाइमा यतिबिघ्न रमाउनु सुन्दर 'कन्ट्रास्ट' थियो।
बस बाग्लुङ र म्याग्दीको सीमाना मालढुङ्गा पुगेछ। बाग्लुङ जाने मान्छे ओर्लिए। अन्तिममा केही सिट खालि भयो। हत्तपत्त एउटा सिट मैले ओगटेँ।
त्यो सिटमा पनि थिए एक जोडी विदेशी । यिनीहरू चाहिँ लक्का जवान थिए। गल्फ्रेन्ड लिएर घुम्न आएको होला!
संयोगवस केटीको सिट सँगै पर्यो। मुखमुख भएपछि ऊ तीनपटक मेरा निम्ति मुस्काइदिई। मलाई त ऊ कुनै हलिउड नायिका जस्तै लागिरहेकी थिई, बेवास्ता गर्न सक्ने कुरै भएन। प्रत्येक मुस्कानको जवाफ दिएँ। तर तेस्रोपटक हेराहेर भएपछि नबोली बस्न सकिनँ। त्यही रेडिमेड प्रश्न फालिदिएँ, 'तपाईंहरू कहाँसम्म जाँदै हुनुहुन्छ, जोमसोम?'
ऊ हाँसी। मुन्टो हल्लाई। तर बोलिन्। खासमा उसलाई थाहा नै रहेनछ।
'तपाईंहरू कहाँबाट?' फेरि सोधेँ।
'रसिया, तपाईंलाई थाहा छ?'
ल! रसिया कस्तो थाहा नहुनु।
'एक जमानाको सुपरपावर हो। हैन त?'
'अँ हो हो।'
हामीले यति कुरा गरिनसक्दै बसले बेनीको कालीपुल तरिसकेछ। हामी बसपार्क ओर्लियौं।
बसबाट ओर्लिएर रसियाली केटोलाई सोधेँ, 'अब कता जाने?'
उसले एकपटक आफ्नो कैलो र झुस्स परेको दाह्री समायो र भन्यो, 'खासमा आज मार्फा जाने भनेको। तर केही टुंगो छैन।'
'अनि गाइड छैन?'
छैनको भावमा मुन्टो हल्लायो।
'त्यसो भए जोमसोम जाउँ, त्यहाँ बास बस्न अलि राम्रो होला। मार्फाबाटैमा पर्छ क्यारे।'
उसले मेरो आग्रह स्वीकार गर्यो।
'सँगै यात्रा गर्ने भएपछि परिचय पनि गरौं, हैन त?'
चलाइरहेको ट्याब थन्क्याउँदै उसले हात अघि बढायो।
सीमोन वा साइमोन... यी दुई उच्चारणको बीचतिर हुने गरी उसले आफ्नो नाम उच्चारण गर्यो।
'म माइया,' केटीले भनी,'नट मारिया, माइया।'
'यो त नेपाली नाम माया जस्तै भयो।'
खासमा स्पेलिङ एमएवाइए नै रहेछ। पछि मैले उसलाई माया नै भन्न थालेँ।
डच जोडीको पनि नाम त सोधेको हुँ तर सम्झिन सकिनँ।
चार विदेशी, उनीहरूका दुई सहयोगी र मसहित जोमसोम जाने सात जनाको एउटै समूह भएछ। सबै चुपचाप हिँडेको भए छुट्टाछुट्टै पुग्ने थियौं। हामी त एउटै समूह पो भइगएछौं।
बेनीबाट जोमसोमको सिधा बस पाइएला भन्ने थियो। त्यो सम्भावना सक्किइसकेछ। घासाका लागि बस रहेछ। हामी सात जना भेट्नेबित्तिकै बस हिँड्न तयार भइहाल्यो।
गाडीको सहचालक पटकपटक ठूलो स्वरमा कराएपछि साइमोनले सोध्यो, 'उसले के भनिराखेको?'
डच दम्पतीलाई देखाएर सहचालक गुनासो गरिरहेको थियो, 'चार जना बस्ने सिट दुई जनाले ढाकिदियो।' कुरा सुनेर रसियन जोडी मजाले हाँस्यो।
बेनीसम्म आउने बसमा नै घुँडा ठोक्किएर हैरान भएका डच दम्पती ड्राइभर छेउ खुला सिटमा बसेका थिए। रसियन जोडीसँग म अन्तिम सिटमा थिएँ। रसियन जोडीले अन्तिम सिटको बीचमा बसेकाले खुट्टा तन्काउन पाएका थिए।
'बस इज भेरी कन्जस्टेड,' मायाले भनी।
यो बसमा मेरा आफ्नै खुट्टा अटेका थिएनन्। बसमा खाँदाखाँद सिट राखेकाले बस्ने ठाउँ थियो तर खुट्टा राख्ने ठाउँ थिएन।
करिब १२ बजे बेनीबाट छुटेको बस २५ ज्यान बोकेर रफ्तारमा दौडियो। आधाजति स्थानीय र आधाजति पर्यटक थिए। बेनी पुग्नुअघि नै कुश्माबाट सुरु भएको काली गण्डकीको तीरैतीर बस अघि बढ्यो।
बेनीबाट घासा पुगुन्जेलको बाटो डरलाग्दै रहेछ। म्याग्दीका डरलाग्दा चट्टानी भीर छिचोलेर एक लेनको बाटो बनाइएको रहेछ। त्यसमाथि रातभरी परेको पानीले बाटो बिगार्नुसम्म बिगारेछ। तर गुरुजीको सीपले हामीलाई ढुक्क बनायो।
देब्रेतिर बसेका रसियन जोडीसँगको रमाइलो कुराकानी त छँदै थियो, दाहिनेतिर झ्याल ओगेटेर बसेको छ कक्षा पढ्ने अमृत भउजासँगको कुराकानीले यात्रा अझै सजिलो बनायो।
अमृत मलाई ठाउँका नाम भन्दै जान्थ्यो। तिनका कुनै न कुनै विशेषता पनि बताउँथ्यो। दानाको अमृत करिब दुई घन्टा हिँडेर तातोपानी पढ्न आउँदो रहेछ। तै पनि फस्ट ब्वाई।
उसले मलाई सोध्यो, 'गोराहरू किन नेपाल घुम्न आउँछन्?'
मैले साइमोनलाई यही कुरा सोधेँ। 'घुम्नलाई तिमीहरूले नेपाल नै किन छान्यौ?'
'खास कारण त छैन। नेपाल सस्तो लागेकाले पनि हो,' उसले भन्यो, 'युरोप घुम्नुमा खास मजा छैन। त्यहाँका प्राय: सहर उस्तै हुन्। अब त सेन्ट पिटर्सवर्ग आफैं मध्ययुरोपेली सहरजस्तो भइसक्यो। रसियाका अरू सहर पनि युरोपेली हुँदै छन्। त्यसैले नेपाल घुम्नु नयाँ परिवेश घुम्नु पनि हो।'
साइमोनले निकै मिलाएर जवाफ दियो। उसको कुरा धेरै डच दम्पतीसँग मिल्दो लाग्यो। तर, सबै कुरा अमृतलाई बुझाउन सकिनँ।
तस्बिर: भरतबन्धु थापा
'गोराहरू उनीहरूको देशमा के गर्छ?' उसले अर्को रमाइलो प्रश्न गर्यो।
यसको जवाफ मैले आफैं दिएँ। उसलाई साइमोनकै जवाफ चाहिएको रहेछ। फेरि सोध्यो, 'त्यो गोरालाई सोधिदेऊ न, सप्पै गोराहरू रेस्लिङ खेल्छ?'
उसले फेरि थप्यो, 'मैले भनेकोचाहिँ नभन है।'
मलाई खपिनसक्नु हाँसो उठ्यो। तर, उसले अपमान महशुस गर्ला भनेर नहाँसीकनै साइमोनलाई सोधेँ। उनीहरू भने बेस्सरी हाँसे।
अमृत रेस्लिङको ठूलै फ्यान रहेछ। दर्जन बढी रेस्लरको नाम उसलाई कण्ठै रहेछ।
'तिमी कहाँ जाने?' उसले मलाई आफ्नै कक्षाको साथी जस्तै गरी सोध्यो। उसका दर्जनौं रमाइला सवालको जवाफ दिँदै हिँडेको बाटोमा दर्जनौं रमाइला झरना पनि देखिँदै थिए। तर, झ्यालबाहिर चियाउनेबित्तिकै डरलाग्दो भीर आँखैमा आइहाल्ने। कतिपय ठाउँ हामी आँखा चिम्लिएर अघि बढ्यौं।
पश्चिम भारत निकै घुमेको साइमोन मलाई भनिरहेको थियो, 'भारतले यस्ता ठाउँको विकासमा निकै काम गरेको छ। प्राय: हिमालका फेदसम्मै फराकिला पक्की बाटो बनाएको छ।'
उसले पटकपटक मनालीको नाम लिइरहेको थियो।
स-साना खोल्साखोल्सी निकै बढेका थिए। भेगखोला भने पहिरो नै बोकेर आएछ। यसले ल्याएको पहिरोले काली गण्डकी पनि अलिअलि थुनेछ। स-सानो ताल बनिरहेको थियो। तर त्यो ताल समस्या सिर्जना गर्ने खालको थिएन। भेगखोलाको पहिरोले भने बिहानैदेखि बाटो छेकेको रहेछ। हामी पुग्दा दर्जनौं बस, जीप र मोटरसाइकल भेला भएका थिए। यात्रीहरूले ठूल्ठूला ढुंगा पल्टाएर खोलाको धार बदल्दिएछन्। यसले गाडी आवतजावत गर्न नसक्ने भयो।
पूरा बल लगाएर फुल स्पिडमा गाडी चलाएपछि हामीले भेगखोलाको चुनौति पार गर्यौं।
त्यहाँबाट हिँडेको धेरैबेर नहुँदै फेरि गाडी रोकियो। घासाबाट आएको बस फसेछ।
गाडी रोकिएपछि डच दम्पतीले कंकड सल्काए। श्रीमान्चाहिँले खान ठीक्क पारेको कंकड मतिर तेर्स्यायो। मैले लिइदिएँ।
हामी बस फसेको ठाउँतिर गयौं। नदीभन्दा करिब आठ सय मिटरमाथि भीरको बाटोमा बस हिलोमा फसेको रहेछ। तर तीन वटा बसका यात्री मिलेर धकेलेपछि हिलोको जोर चलेन। बस गुड्यो। सबैले एकसाथ ताली बजाए।
दाना पुगेपछि अमृतले बिदा मागेको थियो। उसले भनेजस्तै एकैछिनमा बस घासा पुगिहाल्यो।
करिब २११० मिटर उचाइमा रहेको घासा मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने सानो बजार हो। ट्रान्जिट बजार जस्तै रहेको घासाबाट जोमसोम र बेनी जाने बस पाइन्छ। बीच बाटोमा भए पनि यहाँ थुप्रै होटल छन्। यहीँबाट मुस्ताङको थकाली बस्ती पनि सुरु हुन्छ।
यहाँ आइपुग्दा झन्डै चार बजेको थियो। मलाई असाध्यै भोक लागेको थियो। बिहानैदेखि एक ग्लास चिया मात्रै खाएको थिएँ। बेनीमा खाना खाने सोच थियो, तर बसले समय नै दिएन। यहाँ रारा चाउचाउबाहेक केही पाइएन।
रारा चाउचाउ खाइनसक्दै जोमसोम जाने बस हिँड्ने बेला भइहाल्यो। हामी आउँदा बस भरिइसकेछ। टिकट गरे पनि जो पहिला आउँछ ऊ नै सिटमा बस्ने चलन रहेछ। एकछिन हामीले सिट पाएनौं।
यहाँबाट पत्रकार सरला गौतम पनि हाम्रो समूहमा थपिइन्। अब हामी आठ जना भयौं।
घासाबाट अगाडिको बाटो म्याग्दीको जस्तो अप्ठ्यारो थिएन। घासाबाट थोरै माथि उक्लिएपछि बाटो तेर्सो र सजिलो रहेछ। कतिपय ठाउँमा त मजाले ढुंगा छापेको थियो। सकेसम्म मैले झ्यालबाट दृश्यहरू हेर्ने प्रयास गरिरहेँ। काल्देन दाइ ठाउँका नामहरू भनिरहेका थिए। भुपीको लेतेबाट अलि अगाडि गएपछि कबड्डी सुटिङ भएको गाउँ पनि उनले देखाए।
टुकुचे र मार्फा पार गरेपछि जोमसोम आइपुग्यो।
जोमसोम पुग्नै लाग्दा अँगालोभरी धूलो बोकेर हावा जोडसँग बहिरेको थियो। यति दृश्य देख्दा पनि नेपथ्य र अमृत गुरुङलाई नसम्झिन सकिने कुरा होइन। साँझको सात बजिसेकको भए पनि '१२ बजे हावा सरर' भन्ने गीत दुई लाइन गाइदिएँ।
बस स्नोल्याण्ड होटल अगाडि रोकियो।
राति काल्देन र म डच दम्पतीसँग निकै गफियौं। दुई दुई गिलास 'मुस्ताङ कफी' रित्याउन्जेल नेदरल्याण्डबारे थुप्रै कुरा गर्यौं।
'डु यु वान्ट नेपाली सिगरेट?' मैले सोधेँ।
'सूर्या' उसले अप्ठ्यारो गरी उच्चारण गर्यो, 'ह्वाई नट?' उसैले पनि दुईचार बट्टा जोहो गरिराखेको रहेछ।
घुँडा खुम्चिएका कारण उसलाई सार्वजनिक बसको यात्रा दिक्कै लागेछ। 'फर्किँदा जहाजमा पोखरा जाने हो,' उसले सुनायो।
मेरो लागि भने हिमाल पारीको जिल्ला भनेर चिनिएको मुस्ताङ सार्वजनिक बसमै चढेर आइपुग्नु निकै रमाइलो अनुभूति थियो। जोमसोम मात्र होइन, त्यहाँबाट करिब डेढ घण्टाको बस यात्रामा पुगिने मुक्तिनाथसम्मै सार्वजनिक बसमा जान सकिने रहेछ।
मुक्तिनाथ पुग्नु यति सजिलो भइसकेछ, काठमाडौंबाट दुई हजारभन्दा कम भाडा तिरेर सार्वजनिक बसमै पुग्न सकिन्छ। विदेशीका लागि भने घासा-जोमसोम र जोमसोम-मुक्तिनाथको भाडा झन्डै डबल रहेछ।
जोमसोमको बसाइ पनि निकै सस्तो। कल्पना गरेभन्दा कता हो कता सस्तो। मैले अट्याच बाथरुम सहितको कोठाको लागि एक रातको पाँच सय तिरेँ। विदेशीको लागि निकै महंगो होला भन्ने लागिरेहको थियो।
साइमोनलाई सोधेँ, 'कोठाको कति तिर्यौ?'
'नट सोमच, इट इज रियल्ली चिप,' उसले भन्यो, 'आइ जस्ट पेड वन थाउजेन्ड रुपीज।'
भोलिपल्ट बिहान आठ बजेतिर हामी मुक्तिनाथ जाने गाडी चढ्यौं। कालीगण्डकीले बनाएको फराकlलो हिमाली उपत्यकाको दृश्यले मनमा बेग्लै ऊर्जा सञ्चार गरिदियो। मुस्ताङ ठीक मैले कल्पना गरेकै रङमा अगाडि थियो।
यही दृश्यको आनन्द लिँदै मुक्तिनाथ पुग्दा करिब साढे नौ बजेको थियो। डच दम्पती, काल्देन, टेन्डी र सरला कागबेनीमै ओर्लिए। साइमोन, माया र म त्यही बसमा मुक्तिनाथ पुग्यौं। करिब डेढ घन्टा लाएर मुक्तिनाथ घुम्यौं।
समुद्री सतहबाट ३७१० मिटर उचाइमा रहेको मुक्तिनाथबाट देखिने कालीगण्डकी उपत्यकाको दृश्य साँच्चै मनोरम छ। थोरै हिउँले ढाकेका डाँडाकाँडा देखिए पनि यो सिजन यहाँबाट आँखाले भ्याउन्जेल देखिने सुख्खा पहाडको श्रृंखला नै हो। यी फुस्रा पहाड पनि मुस्ताङका लागि प्रकृतिले यति सुन्दर बनाइदिएको छ, आँखा नउठाई हेरिरहन मन लाग्छ। स-साना बुट्यान थपक्क बसेका छन् पहाडहरूमा। सबै पहाडको रङ एउटै छ। अलिकति पनि फरक छैन।
हामी त्यहाँबाट जोमसोम फर्कियौं र जोमसोमबाट घासा आयौं। मार्फाको कोसेलीघरमा साइमोन र मैले एकएक बोतल स्याउको ब्रान्डी किन्न भ्यायौं। स्याउ पाक्ने सिजन भएकाले बाटैभरी स्याउ पाकिरहेको देखिन्थ्यो। बाटामा बेच्न राखेको पनि उत्तिकै भेटिन्थ्यो।
लोकल प्यासेन्जर चढाउँदै र ओराल्दै गर्दा बस बल्ल आठ बजे घासा आइपुग्यो। जोमसोमकी होटल साहुनीले सिफारिस गरेको होटल खोज्न १५ मिनेट लाग्यो। राति साइमोनले हातले खाना खान सिक्यो।
मायाले पूरै भिडियो खिचिदिई।
भोलिपल्ट विजया दशमीको दिन थियो। ड्राइभरहरु बिदा बसेकाले बिहान गाडी चलेन। हामी हिँडेर तातोपानी गयौं। तातोपानीमा नुहाएर तीन बजेतिर बेनीको बस चढ्यौं। बेनीबाट पोखरा आइपुग्दा करिब नौ बजेको थियो।
पोखरा आउँदै गर्दा मायाले सुनाई, उनीहरू अक्टोबर १ मा बिहे गरेर ३ तारिख यात्रामा निस्किएका रहेछन्। अझै लुम्बिनी र चितवन घुम्न बाँकी नै रहेछ।
'तर मलाई लाग्छ मुस्ताङ नै मेरो सबैभन्दा सुन्दर यात्रा हुनेछ,' उसले भनी, 'यसअघिका सबै यात्राभन्दा पनि।'
पोखरामा छुट्टिने बेला साइमोनले दह्रोसँग हात मिलायो। मायाले गम्लङ्गै अंगालो हाली।
'ह्याप्पी हनिमुन!'
'धन्यवाद!'
मेरो दिमागमा भने एउटै कुरा खेलिरह्यो- बसैबस मुस्ताङ, बसैबस मुक्तिनाथ।
मुक्तिनाथ जान महिनादिनको सामल बोकेर पैदल हिँड्नुपर्छ भन्ने सुनेको मेरा लागि यसपालिको मुक्तिनाथ यात्रा अनुभव साँच्चैको नपत्याउँदो थियो।
अब त बस् दस हजार खल्तीमा राखेर हिँडे सार्वजनिक बसैमा मुस्ताङ र मुक्तिनाथ पुगिने रहेछ।