सफा र उज्यालो आकास, चारैतिर हरियाली, खेतका आलीआलीमा लहलह झुलेका धानका बाला, बारीभरि फलेको पहेँलपुर तोरी, जताजतै मखमली, गोदावरी अनि हजारी। असोज महिना आफैंमा मनमोहक छ। धेरैका लागि खुसी र मनमोहक बोकेर आउने महिना हो यो सबैंका लागि समान कहाँ हुदो रहेछ र? यहि असोजको रंगीन वातावरणका बीच दैवले हाम्रो खुसी सदाका लागि खोसिदियो।
४ वर्षअघि असोज २३ गते बिहान २६ वर्षको अल्पायुमै तारा रेग्मी (पत्रकार) लाई टपक्कै टिपेर लग्यो। समाचार पढेर राति एघार बजे घरमा छिरेको तारा बिहान कहिल्यै नउठ्ने गरी निदाएछ। निर्दयी कालले अलिकति पनि दया देखाएन हामीमाथि। तारा पोखिएर सुन्दर र रंगीन बनेको हाम्रो जीवनको हजारौं हजारको खुसी नदेखिने गरी मेटियो, नफर्कने गरी चुँडियो। अचानोको पीर खुकुरीलाई के था र? भोग्नेलाई मात्र थाह हुन्छ खुसी चुँडिएको पिडा कति हुन्छ। अभिव्यक्त गर्दा पनि मुटु चर्किन्छ, जीउ नै जिरिंग हुन्छ। रंग उडेर रंगहीन भइदियो जीवन। अनि जीवनको एक छेउ दशैँको त के कुरा भो र? कलरफोटोको नेगेटिभ जस्तो।
सम्झदा पनि बलिन्द्र आँसु झर्छन्। टीकाको दिन चार दिदी बहिनीको बिचमा बस्थ्यो तारा। उस्को स्थान नै बिचमा पर्ने। दुई दिदी र दुई बहिनी बीचको तारा थियो ऊ। म मायाले काले भन्थे ऊ आदरले दिज्यू भन्थ्यो। ममीबुबाले हामी पाँचै जनालाई बराबरी दक्षिणा दिनुहुन्थ्यो। त्यसैले पनि काले दशैंमा निकै नै खुसी हुन्थ्यो । हामी त्यसै रमाउँथ्यौ। साथीभाइ चाहिँदैनथ्यो, एकअर्का नै पर्याप्त। पाँच पाइला पनि नपर्ने मामा घरमा टीका लाउन हतारिन्थ्यौँ। दशैंको दक्षिणा कसैको तलमाथि भए बराबरी बनाइदिने काम बुबाको हुन्थ्यो। तर चार दिदीबहिनीबीच बस्ने तारा अब हामी बीच रहेन। ज्योतिबिनाको ममबत्ती बन्यौं हामी। ताराबिनाको रातजस्तो।
उमेर बित्दै गयो। २०६१ सालमा प्लसटु सकेर उच्चशिक्षाका लागि तारा काठमाडौं गए। होस्टेलमा बसी निस्टमा विज्ञान विषय पढिरहेको तारा मसँगै डेरामा आयो। बिहान कलेज जान्थिम् एघार बजे आएर खाना बनाउँथे। खाको नखाको गर्दै रिपोर्टिङमा दौडिन्थे। साँझ आउँदा ताराले खाना कुरिरहेको हुथ्यो।
त्यो दशैंमा मैले उस्कै रोजाइमा बेन्टलीमा गएर १६ सयको जुत्ता किनिदिएँ, जुन उस्को बहूल्य जुत्ता बन्यो। कपुरधारास्थित डेराको बसाइ, दुइटा कोठा, न फोन? इन्टरनेटको कुरा त झन परको। राति कतिपटक गोलौरामा बजेको फोनको घन्टी कानमा गुन्जन्थ्यो। घर सम्झेर रुन्थिम्।
हामी आफैँले कमाएको दुख थियो काठमाडौं बसाइ। आफ्नो खुट्टामा उभिनुपर्छ भनेर नै यसो गरिम्। दशैं कहिले आउला र रात्री बस चढेर दाङको रंगिन आँगनमा पुगिएला झैं हुन्थ्यो। बहिनीहरुलाई नयाँ लुगा, मरमसलादेखि लिएर तिहारका सामग्री समेत बोकेर दाङ हुँइकिन्थ्यो। दाङको समथर भुभागमा झुलिरहेका धानका बाला अनि चिसो चिसो हावाले हामीलाई नै स्वागत गरेको जस्तो भान हुन्थ्यो। पहेँलपुर तोरीले हामीसँगै प्रित लाएको आभास हुन्थ्यो। घरघरबाट आउने तेलको खारले हामीलाई पर्खिबसेको झैं लाग्थ्यो।
घर अगाडिको आधा कठ्टा जमिनमा हाम्रो फूलबारी थियो। हाम्रा औंला खियाएर बनाएको। जता गएनि फूलका बिरुवा बोकेर पुग्थिम् घर। थरिथरीका फूलहरु, रंगिविरंगी फूलहरु। फूल टिप्न लोभ लाग्थ्यो। तारा र मैले सजाएका दर्जनौं फूलहरु। गाउँघरमा पूजाआजा चल्दा डोकोभरी फूल हाम्रै घरबाट जान्थ्यो। मन मान्दैनथ्यो त्यसरी दिन त तर भगवानका नाममा चढाईम् धेरै फूलहरु।
दशैंमा घर पुगेपछि फूलबारी गोडमेल गर्ने काम पहिलो हुन्थ्यो। मम्मीले तरकारी लगाउछु भन्दा पर्दैन् यहाँ लाउन्, घर पछाडि लाउनुस् भनेर धेरजसो जमिनमा लाएका फूल गोडमेल गर्न दुई तीन दिन नै लाग्थ्यो। यसरी गोडमेल गरेका फूलहरु बिहान फुलेको देख्दा मन दिनभरीलाई उज्यालो हुन्थ्यो।
हामीले हुर्काएका सन्तान थिए ती। नरिवल, सुपारी, अनार, कफी, मेवा, आप अम्वा, धुपी, अशोकलगायत आँगनका थुप्रै बोटका जरा जरामा सेतो चुन र रातो माटो लाएर रंगिचंगी बनाउने काम बुवाको हुन्थ्यो। पेटीमा बसेर ममीले पकाएको सेल र काक्राको अचार खादा कति आनन्द आउथ्यो। सयौं संझनाहरु छन्, जुन म छताछुल्ल पारी पोख्न सक्दिन। पोंखौ त आफैलाई सम्हाल्न सक्दिन। बिहेपछि यी सबै कुरा सपना झैं लाग्थे। कुनै दिन त माइतीको आँगनीमा अघाउन्जेल बस्न पाइएला भन्ने आस हुन्थ्यो। तर अब तारा नरहेको घर कसरी उज्यालो होला? तारा नै नरहे के फूलको कुरा? मन भक्कान्छिन्, मुटु चिरिन्छ। ताराविनाको हाम्रो दशैं, खुसी खोसिएको दशैं, खोक्रिएको हाम्रो दशैं।
पीडाको पोखरीमा डुबेकी ममीलाई भुलाउनु मेरो पहिलो दायित्व। रोहन जन्मिएको खुसीयालीमा ममीलाई आफूसँगै राखे। रेगन र रोहनसँग खेल्दै जिस्कँदा छ महिना बितेको पत्तै पाउनुभएनछ। उनीहरुले मम्मीको मुहारमा यति खुसी छरिदिए कि उहाँ खित्का छोडेर समेत हाँस्न थाल्नुहुन्थ्यो। मेरो लिभिंग रुमको भित्तामा टाँसेका ताराका हँसिला तस्विर देखेर फेरि एक तमासले उहाँको मन खिन्न्न हुन्थ्यो।
म आमा हुँ, मलाई मेरी आमाको मुहार पढ्न कठिन छैन् , उहाँको मन बुझ्न पहाड छैन। एउटा कोख रित्तिएको कथा सजिलै पढ्न सक्छु तर बुझाउन सक्दिन किनकी मेरो भाइ पनि त छैन। म बुझेर पनि अबुझ बन्न बाध्य छु। फुटेको मुटुले च्यात्तिएको मुटु कहाँ सिलाउन सकिन्छ र? यसका बावजुद पनि घटस्थापनाको अघिल्लो दिन ममीलाई नेपाल पठाएँ। संगिता र बवितामा खुसीका सीमारेखा कोर्न पनि मैले पठाउनुथियो। ताराको सम्झनामा भएपनि जमरा उमार्न भनेकी छु। सायद उमारिदैँछ।
यतिबेला म संझिरहेकी छु। मेरो गोलौराको माइती घर। जहाँ तारा छैन अब। रेखाले नेपालको नक्सारेखा काटेकी छ। तर हामीले त्यसरी हुर्काएका फूलहरु फक्रेका छन् कि छैनन् होला। लाग्छ, ती फूलहरु पनि ताराको सम्झनामा रोएका होलान्। रेखाको विछोडमा तड्पेका होलान्। सायद तारा भएको भए हाम्रो दशैं फरक बन्थ्यो। धेरै कल्पिन्छु, धेरै तडपिन्छु आँसुबाहेक केही हात पर्दैन।
यसपालि क्यालेन्डरमा दशैं आएको छ। घटस्थापनाको दिन पूजास्थलमा ताराको तस्बिर सजाएँ। उसैले पठाएर दिएका भगवानका तस्बिरहरु लस्करै टाँसे। पूजाका भाडाकुँडा धोएँ, अपार्टमेन्टमा सजाउन रोपेका केही फूल टिपेँ, अघिल्लो दिन नै समुद्र तटबाट ल्याएको बालुवामा माटो मिसाई जमरा छरेँ। दुई वर्ष पछि मेरो घरमा जमरा उम्रदै छ।
नवदुर्गाको समयभरी मैले ताराकै प्रतिमामा पूजाआजा र बत्ती बालिरहेकी छु। मेरो भगवान भनेको अब एउटा नै छ, तारा। मान्छेहरु ढुंगालाई भगवान मान्छन्, म भाइलाई। जे माग्नु छ, जे पुकार्नु छ, जे आस्था अनि बिस्वास छ ताराप्रति नै छ। हरेक छाक खानुअघि तारालाई नदिई खाएकी छैन। मलाई थाहा छ तस्बिर अभौतिक हो, तर विश्वास सबैभन्दा महान रैछ। तस्बिरअगाडि दिएको खाना उसैले खाएको अनुभूति हुन्छ, हामीसँगै रहेको तृप्ति मिल्छ।
हर्ष र उल्लासले आउने दशैं मेरा लागि बाध्यता बन्दैछ। सात समुन्द्र पारिको देश, त्यसमाथि अंग्रेजी भाषा। रेगन र रोहनलाई दशैँ सिकाउन दशैं मनाउनु छ मलाई। दशैं पढाउन दशैं मनाउनु छ मलाई। घटस्थापनाको दिन पहिलोपल्ट अक्षता र फूलले पूजा गर्न सिकाउँदा कति रमाएको थियो रेगन। अब उस्को खुसी देख्न पनि मनाइदिनु छ मैले दशैं। मामालाई चिनाउन पनि मनाइदिनु छ मैले अब। मेरो च्यात्तिएको खुसीमा उनीहरुका खुसीका रंगहरु मार्न पाउँदिन । रंगहीन दशैंमा खुसीका रंगहरु खोजिदिनुछ मैले अब।
यसअघि यो लेख २०७१ साल असोज १५ गते सेतोपाटीको छापिएको थियो।