‘संविधान संशोधनमा दुई तिहाई पुर्याउने नाममा कांग्रेसले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रमा सम्झौता गर्दैन्’ कांग्रेस प्रमुख सचेतक
संविधान संशोधनको लागि एमालेका शीर्ष नेताहरुसँग छलफल सुरु भएको माओवादी नेताको दावी
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिले संविधान संशोधन गर्ने वेला नै नभएको स्पष्ट पारेका छन् ।
संविधानले नै हामीलाई समयसिमाभित्र बाँधेको र अहिले संविधान कार्यान्वयनको लागि समय निकै थोरै भएको भन्दै उनले भने‘हामी यतिवेला संविधान संशोधनमा होईन कार्यान्वयनमा केन्द्रीत हुन जरुरी छ ।’
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा ज्ञावलीले तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाईए मुलुकमा द्धन्द्ध तथा अन्तरविरोध बढ्ने समेत चेतावनी दिए ।
‘अहिले हामीले तराई मधेश केन्द्रित दलको लागि मात्रै संशोधन गर्ने हो भने अरु साथीहरुको पनि आफन असन्तुष्टिहरु छन्, सबैका कुराहरुमा अल्झिने हो भने संविधान कार्यान्वयनको लागि खै समय ?’ज्ञावलीको प्रश्न गरे
उनले संविधान संशोधनको विषयमा अल्झिँदा संविधान कार्यान्वयन नै छायाँमा पर्ने समेत चिन्ता व्यक्त गरे । ज्ञावलीले संविधान कार्यान्वयनको लागि तीन वटै निकायको चुनाव समयमै सम्पन्न गर्नुपर्ने अहिलेको आवश्यकत्तालाई बुझेर प्रमुख दलहरु अघि बढ्नुपर्ने सुझाव समेत दिए ।
नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संविधान संशोधनको लागि दुई तिहाई पुर्याउने नाममा काँग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमा कसैसँग पनि सम्झौता नगर्ने दाबी गर ।
प्रमुख सचेतक श्रेष्ठले भने,‘झिनामसिना विषयमा संविधान संशोधनको लागि काँग्रेसले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र यी तीनवटा विषयमा कसैसँग पनि सम्झौता गर्दैन्, चाहे पृथ्वी नै किन नपल्टियोस्, यो असम्भव छ ।’
उनले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र पनि परिवर्तनीय विषय भएको स्पष्ट पारे ।संविधान कार्यान्वयनको लागि आगामी ०७४ माघ ७ भित्रै तीन वटै निकायको चुनाव अनिवार्य आवश्यक रहेको उल्लेख गर्दै श्रेष्ठले त्यसको लागि अहिले तयारी भैरहेको समेत जिकिर गरे । उनले थपे,‘निर्वाचन सम्बन्धी अहिले विधेयक प्रस्तुत भएको छ, ऐन तथा कानुनहरु धमाधम बनिरहेको छ, त्यसैले अब दलहरुवीच न्यूनतम सहमति बनेपछि निर्वाचनको प्रक्रिया अघि बढ्छ ।’
नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले संविधान संशोधनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल गरिरहेको दावी गरे ।
नेता गजुरेलले संविधान संशोधन अहिलेको लागि अनिवार्य आवश्यक रहेको उल्लेख गर्दै भने,‘संविधानलाई सर्वस्विकार्य बनाउनको लागि पनि संशोधन आवश्यक छ, तर संशोधनको लागि दुई तिहाई आश्यक छ, यसको लागि एमाले र राप्रपा नेपाललाई पनि विश्वासमा लिनुपर्छ, त्यसैले हचुवाको भरमा प्रस्ताव अघि बढाउनु भन्दापनि एउटा निश्कर्षमा पुग्ने गरि प्रस्ताव दर्ता हुन्छ ।’
राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले संवैधानिक बाटो भएर संविधान संशोधन प्रस्ताव आएर आफ्नो पार्टीले त्यसमा भाग लिने स्पष्ट पारे । उनले भने,‘हामी संविधान संशोधन हुनै हुन्न भन्ने पक्षमा छैनौं, तर संवैधानिक बाटो भएर प्रस्ताव आउँछ भने हामी त्यसमा भाग लिन्छौं, हाम्रा पनि संविधानमा असुन्तुष्टिहरु छन्, हामीले उठाएका मुद्दाहरुमापनि छलफल हुनुपर्छ ।’ अहिलेसम्म सत्तापक्षले संविधान संशोधनको लागि आफ्नो दलसँग कुनै छलफल नै नगरेको गिरीले दाबी गरे । उनले भने,‘कहाँ कुरा भएको छ,? हामीलाई थाहा छैन, तर मेरो जानकारीमा अहिलेसम्म सरकारले संशोधनको बारेमा हाम्रो दलसँग कुनै छलफल गरेको छैन्।’ यद्धपी उनले गलत ढंग र उत्ताउलो बाटो भएर आउने प्रस्तावको पक्षमा आफ्नो नरहेको जिकिर गरे ।
मधेशी मोर्चाका नेता राम नरेश रायले संविधान संशोधन नगराईकन सेनाको आडमा जबरजस्ती चुनाव गराईए आफूहरुले त्यसलाई कुनै हालतमा सफल हुन नदिने चेतावनी दिएका छन् ।
रायले भने,‘संविधान संशोधन वा पूर्नलेखन नभएसम्म हामी कुनैपनि चुनाव हुन दिँदैनौं, यदि ज्ञानेन्द्र शैलीमा ठूला पार्टीहरुले सेनाको बलमा चुनाव गराउने चेष्टा गरे भने हामी त्यसलाई कुनै हालतमा सफल हुन दिन्नौं ।’ उनले यदि चुनाव जबरजस्ती गराईयो भने मुलुक दुर्घट्नातर्फ जाने खतरा समेत औंल्याए ।