गोलको खडेरीलाई तोड्दै म्यानचेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टरसिटीलाई ४–१ गोलले पराजित गरेको छ।
शनिवार भर्खरै केही समयअघि सम्पन्न खेलमा जोसे माउरिन्होको म्यानचेस्टरले पहिलो हाफमै विपक्षी गोल पोस्टमा ४ गोल ठोकेपछि पोर्चुगिज प्रशिक्षकको विषयमा केही समयदेखि भइरहेको आलोचना पनि कम भएको छ।
इटालीका स्ट्राइकर पाउल पोग्बालाई महंगो रकममा भित्र्याउने माउरिन्होको निर्णयप्रति पनि आलोचना भइरहेको थियो। तर, पोग्बाले प्रिमियर लिगमा गोलको खाता खोल्ने क्रममा ४२ मिनेटमा गोल गरे।
माउरिन्होले तनावका बीच कप्तान वायन रुनीलाई पहिलो पल्ट अतिरिक्त खेलाडीको रूपमा मैदानमा प्रवेश गराए। उनको स्थानमा रसफोर्डलाई मैदानमा उतारिएको थियो। जाल्टन इब्राहिमोभिक र पोग्बालाई आक्रमणको जिम्मा सुम्पिएको म्यानचेस्टरले सुरुदेखि नै लेस्टरलाई दबाबमा राखेको थियो।
खेल सुरु भएको २२ मिनेटमा स्मालिङले गोल गरेका थिए। ३७ मिनेटमा माटा, रसफोर्डले ४० मिनेट र पोग्बाले त्यसको २ मिनेटपछि गोल गरेका थिए। म्यानचेस्टरले २० मिनेटभित्र लेस्टरको पोस्टमा ४ गोल छिराइसकेको थियो। लेस्टरका लागि ग्रेले ५९ मिनेटमा एक गोल फर्काएका थिए। रुनी ८३ मिनेटपछि मैदान प्रवेश गरेका थिए। यो जीतसँगै म्यानचेस्टर ६ खेलमा १२ अंक बटुलेर तेस्रो स्थानमा उक्लिएको छ। लेस्टर भने १२ स्थानमा झरेको छ।