हिमालपारिको जिल्ला मुस्ताङको कोबाङमा ४६औँ संस्करणको थाक खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। महोत्सवअन्तर्गत भएको पुरुष भलिबलको उद्घाटन खेलमा ताग्लुङले कोबाङलाई ३–२ को सेटमा पराजित गरेको छ।
ताग्लुङले रोमाञ्चक जीत निकाल्ने क्रममा पहिलो दुई सेट २१–२५ र २१–२५ ले गुमाएको थियो। कोबाङको जीतका लागि एक सेट आवश्यक परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै ताग्लुङले अन्तिम तीन सेटमा २५–१३,२६–२४ र १५–१० ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।
अर्को खेलमा जोमसोमले टुकुचेलाई ३–० को सोझो सेटमा हरायो। जोमसोमले टुकुचेलाई २५–१७, २६–२४ र २५–१९ को सोझो सेटमा स्तब्ध पारेको होे। लिगकम नकआउटमा भएको पुरुषतर्फ ८ टिम र महिलामा ५ टिमको सहभागिता रहेको छ। पुरुषतर्फ सिक्स सोल्टी युवा घासा, अन्नपुर्ण युवा क्लब ताग्लुङ, निर्मल स्पोर्टिङ क्लब लेते, धौलागिरी युवा क्लब कोबाङ, निलगिरी युवा क्लब टुकुचे, जनकल्याण युवा क्लब जोमसोम, जनहित युवा क्लब स्याङ र मिलीजुली युवा क्लब मार्फाको टिमले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ घासा, ताग्लुङ, लेते, कोबाङ र टुकुचेका टिमले एक आपसमा चुनौती पेश गर्नेछन्।
महोत्सवअन्तर्गत बुधबार धनुषवाण प्रतियोगिता हुनेछन्। धनुषवाणमा कुल ९ टिमको सहभागिता रहने आयोजक थाक खेलकुद तथा साँस्कृतिक विकास संघका अध्यक्ष प्रेम प्रसाद तुलाचनले बताए। महोत्सवमा मुस्ताङको सस्कृति झल्कने किसिमको नृत्य र आफैले रचना गरेको संगीत प्रतियोगिता, मिस मुस्ताङ र कृषि प्रदर्शनीसमेत रहेको अध्यक्ष तुलाचनले बताए।
प्रतियोगिताको वाणिज्य मन्त्री रोमी गौचन थकाली ,व्यवस्थापिका संसद सदस्य महेन्द्र शेरचन र अध्यक्ष प्रेमप्रसाद गौचनले संयुक्त रुपमा रेफ्रीलाई बल हस्तान्तरण गरेर उद्घाटन गरेका थिए।