मोर्टेजा मेहराज्ड ब्राजिलको रियोमा भइरहेकोको पारा ओलम्पिकका अग्ला खेलाडी मात्र होइनन्, उनी इरानका सबैभन्दा अग्ला पुरुष पनि हुन्।
उनको लम्बाई ८ फिट १ इन्च छ। तर, जब उनी खेल्न बस्छन्। निकै होचा देखिन्छन्। रियो ओलम्पिकमा उनी इरानको भलिबल टोलीमा समावेश थिए। १६ वर्षको उमेरमा उनी मोटरसाइकल दुर्घटनाको शिकार बनेका थिए।
त्यतिबेलै उनी ६ फिट अग्ला थिए। मोटरसाइकल दुर्घटनामा उनको हिपको हड्डी भाँचिएको थियो। जसका कारण उनको दाहिने खुट्टा बढ्ने प्रक्रिया अवरुद्ध भयो। अहिले उनको देब्रे खुट्टाको तुलनामा दाहिने खुट्टाको लम्बाई ६ इन्च छोटो छ।
२८ वर्षिय मेहराज्ड इरानका सहायक भलिबल प्रशिक्षकका खोज हुन्, जसले ५ वर्षअघि उनलाई पहिलो पल्ट टेलिभिजनमा देखेका थिए। उनलाई गत मार्चमा राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।
‘हामीले उनलाई आशाको किरण देखाएका थियौं। ऊ पनि यो चाहन्थ्यो,’ इरानी प्रशिक्षक हादी रेजाईले न्युयोर्क टाइम्सलाई भने–‘जब मैले उसलाई खेलका लागि प्रस्ताव गरे र ऊ घरबाट निस्कियो। सबै उसलाई अचम्म मानेर हेरिरहेका थिए। जब ऊ घरबाट बाहिर निस्कियो तब ऊ चर्चित बन्यो। सबै ऊसँग फोटो खिचउन आतुर थिए। ऊ विजेता बन्यो।’