प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा मुलुकको हित विपरितका कुनै पनि सम्झौता नहुनेमा निश्चिन्त हुन सबैसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री दाहालले आइतबार व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकमा उपस्थित भएर आफू व्यक्तिगतरूपमा नभइ मुलुकको प्रतिनिधिका रुपमा भारत भ्रमणमा जान लागेको भन्दै भ्रमणका क्रममा जनता र राष्ट्रको हितभन्दा बढ्ता केही नसोच्ने बताए।
उनले भारत भ्रमणलाई लिएर जहिल्यै पनि धेरै आशंका हुने गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आफ्नो भ्रमणमा मुलुकको हित विपरितका सम्झौता होलान् कि भनेर टेन्सन नलिन आग्रह गरे।
प्रधानमन्त्री दाहालले आफू दुई मुलुकको सम्बन्धमा नयाँ आयाम थपिने विश्वाससहित भारत जान लागेको बताए। उनले नयाँ सम्झौता गर्नेभन्दा पनि यसअघि भएका सम्झौतालाई गतिशीलता दिनु र दुई मुलुकबीच विश्वासको बलियो आधार बनाउनु नै भ्रमणको मुख्य उद्धेष्य रहेको बताए।
प्रधानमन्त्री दाहालले गत वर्ष दुई मुलुकको बीचमा चिसोपना आएको तथ्य लुकाएर नलुक्ने भन्दै छिमेकीसँगको सम्बन्ध विगारेर मुलुकको हित हुन नसक्ने बताए। उनले छिमेकी कहिल्यै बदल्न नसकिने भएकाले सम्बन्ध सुधारका लागि गत वर्ष चिसोपना बढ्नुका विषयमा भारत भ्रमणमा समीक्षा हुने बताए।
बैठकमा नेकपा एमालेका सांसद् भीम रावलले जोखिम मोलेर सम्झौता गर्नभन्दा यसअघि भएका सम्झौताको कार्यान्वयन, सीमा क्षेत्रमा हुने हस्तक्षेप र डुबानको समस्याका विषयमा कुरा उठाउन आग्रह गरे भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् जीतेन्द्र देवले सम्बन्ध सुधारका लागि क्रमभंग गर्न आवश्यक रहेको भन्दै खुट्टा नकमाउन सुझाव दिए।
बैठकमा समितिका अन्य सदस्यहरुले प्रधानमन्त्री दाहालको भारत भ्रमणबाट दुई मुलुकको सम्बन्ध सुधार हुनेमा आफूहरु आशावादी रहेको बताएका थिए।