भारतीय क्रिकेट टिमका ‘सिक्सर किङ’ युवराज सिंहले बिहे गर्ने पक्का भएको छ। लामो समयदेखि भारतीय टिममा अविवाहित खेलाडीको पदवी झुन्ड्याउँदै हिडेका सिंहले यही २९ नोभेम्बरमा अभिनेत्री हेजल कीचसँग बिहे गर्न लागेका हुन्।
पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाका अनुसार युवराजको बिहे फतेहगढ साहिबस्थित उनको गुरुको घरमा हुनेछ। बिहेपछि भोजको कार्यक्रम चण्डीगढ र दिल्लीमा राखिएको छ। युवराजको भाई जोरावरको बिहे पनि यहीबाट भएको थियो।
गत वर्ष ११ नोभेम्बरमा तिहारको दिन युवराज र हेजलको प्रेम पहिलोपटक सार्वजनिक भएको थियो, जब यो जोडी इन्डोनेसियाको बालीस्थित एक रेष्टुँरामा औठी साटासाट गर्दै थिए। उनीहरूले त्यही औठी साटेर कुरा छिनेका थिए।
युवराजले पछि हेजलसँग खिचेको तस्बिर ट्विटरबाट सार्वजनिक गर्दै आफूले चाँडै बिहे गर्न लागेको खुलासा गरेका थिए।
हेजल बेलायतीमूलकी भारतीय अभिनेत्री हुन्। उनी मेक्सिमम फिल्मको ‘आ आम्टे अमलापुरम’ जस्तो हिट आइटम गीतबाट चर्चामा आएकी थिइन्। यसबाहेक उनले सलमान खान र क्याटरिना केफ अभिनित चर्चित फिल्म ‘बडीगार्ड’ मा पनि अभिनय गरेकी थिइन्। हेजल यस वर्षको आइपीएल खेलमा युवराज सिंहलाई उत्साही तुल्याउन रंगशालामा धेरै पल्ट देखा परेकी थिइन्।