भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि शुक्रबारबाट निकासी खुला भएको छ।
भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो। यही परिपत्रका आधारमा करिब दुई सातादेखि कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन।
नेपाली व्यवसायीले यसको विरोध गरेपछि भारतीय पक्षले पुनः गुणस्तर परीक्षण गर्न करिब एक हजार किलो नमूना कोलकाता प्रयोगशाला लगेको थियो। त्यसैको रिपोर्टका आधारमा शुक्रबारबाट प्रतिबन्ध हटाइएको हो।
‘भारतीय खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी मिसिएको छैन भन्ने रिपोर्ट आफ्नो भन्सार कार्यालयलाई पठाएपछि प्रतिबन्ध हटेको छ,’ नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्रकुमार खड्काले सेतोपाटीसँग भने, ‘शुक्रबारबाटै नेपाली अदुवा भारत जान थालिसकेको छ।’
संघका व्यवस्थापक सत्यम खड्काका अनुसार शुक्रबार बेलुकी ५ बजेसम्म २४ गाडी अदुवा भारत छिरिसकेको छ भने ९ गाडी छिर्ने तर्खरमा छ। यसअनुसार शुक्रबार मात्रै लगभग ५ सय टन अदुवा निकासी हुन्छ। साबिकमा दिनको औसत साढे ३ सय टन निकासी हुँदै आएको उनले बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपाली अदुवाको प्रवेश रोकेर बखेडा झिकेको थियो। दुई देशबीच करिब एक वर्ष सम्बन्ध चिस्सिएपछि हुन गइरहेको उच्चस्तरीय भ्रमणअघि नै यो विवाद सल्टाउन नेपाली अधिकारीहरू लागिपरेका थिए।
यही क्रममा नेपाल र भारतबीच बिहीबारबाट सुरु कृषि मन्त्रालयको सह–सचिवस्तरीय संयुक्त बैठकमा यो एजेन्डालाई प्राथमिकतासाथ उठाइएको थियो। भारतले नेपाली अदुवा छिर्न नदिएपछि पूर्वनिर्धारित यो बैठकमा अन्तिम समयमा नयाँ एजेन्डा थपिएको हो।
अर्कातिर, अदुवा निकासीमा उत्पन्न समस्या अध्ययन गर्न कृषि मन्त्रालयकै उपसचिव प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। यो कार्यदलले भारत निकासी हुने अदुवाका नमूना झिकाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा परीक्षण गराउनेछ।
नेपाल संसारमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो। आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत निर्यात हुँदै आएको छ। गत आर्थिक वर्ष नेपालले ६४ करोड रुपैयाँ बराबरको झन्डै २ करोड ८३ लाख केजी अदुवा भारत निकासी गरेको थियो।
अध्यक्ष खड्काका अनुसार भारतले नेपाली अदुवाको क्वारेन्टाइन परीक्षण तीन ठाउँमा गर्दै आएको छः कलकत्ता, पटना र लखनऊ। यी तीनै ठाउँका खाद्य प्रयोगशालाले दुईदेखि चार महिनाको बीचमा एकचोटि नमूना मगाउँछ। जबसम्म उनीहरू अर्कोचोटि नमूना मगाउँदैनन्, अघिल्लो रिपोर्टले नै काम गर्छ। भारतले अन्तिमचोटि नमूना परीक्षण गरेको लगभग दुई महिना भएको छ। यसबीच नयाँ परीक्षणको निम्ति नमूना मगाएका छैनन्।
यसबीच व्यवसायीको टोलीले भारतीय दूतावासका अधिकारीसँगको छलफलमा पनि नेपाली अदुवामा विषादी मिसिएको आरोप निराधार भएको दाबी गरेका थिए। उनीहरूले आफ्नै आँखाअगाडि नमूना संकलन गरेर परीक्षण गर्न भारतीय निकायलाई चुनौतीसमेत दिएका थिए।
नेपाली अदुवा राम्रो गुणस्तरको मानिन्छ। कुनै बेला भारतीय कृषिविज्ञ टोली नेपाल आएर यहाँ उत्पादन हुने अदुवालाई ‘उच्च गुणस्तरको’ भनी प्रशंसा गरेको थियो। दक्षिण भारतको कर्नाटकमा अदुवा उत्पादन बढेपछि भने परिस्थिति फेरिएको छ। नेपाली अदुवाले भारतीय उपजलाई नै प्रतिस्पर्धामा पछार्न थालेपछि भारतकै केही व्यावसायिक समूह नेपाली अदुवा रोक्ने प्रपन्चमा लागेका छन्।
नेपालबाट निकासी हुने अदुवाको ६५ प्रतिशत बजार कलकत्ता हो। बाँकी दिल्ली लगायत अन्य सहरमा खपत हुन्छ।