भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले अघिल्लो वर्ष इङ्ल्यान्डमा आयोजना हुने आइसीसी च्याम्पियन्स ट्रफीका लागि अनावश्यक बजेट निकासा गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) सँग आफ्नो असहमति दर्ता गरेको छ।
च्याम्पियन्स ट्रफीका लागि आइसीसीले टी–२० विश्वकप भन्दा तीन गुना बढी रकम निकासा गरेपछि बिसिसीआईले असहमति जनाएको हो।
बिसिसीआईले ईमेल लेखेर च्याम्पियन्स ट्रफीका लागि मोटो रकम निकासा गर्नुपर्ने कारण माग गरेको छ। टी–२० विश्वकप यसै वर्ष भारतमा आयोजना भएको थियो। बिसीसीआईका पदाधिकारीले क्रिकइन्फोसँग कुरा गर्दै दुई वटा आयोजनामा बजेटको ठूलो अन्तर कसरी निस्कियो भन्ने प्रश्न राखेका थिए।
बिसीसीआईले टी–२० विश्वकप आयोजनाको लागि जति बजेट माग गरेको थियो, आइसीसीले बढी भनेर घटाउन आग्रह गरेको थियो। तर, च्याम्पियन्स ट्रफीको लागि जति माग गरिएको हो, त्यति नै दिन लागेकोमा बिसीसीआईको आपत्ति थियो।
टी–२० विश्वकप भारतको ७ सहरमा आयोजना भएको थियो। च्याम्पियन्स ट्रफी ३ सहरमा मात्र आयोजना हुँदैछ। यस्तै, महिला र पुरूष टी–२० विश्वकपमा कूल ५८ खेल भएको थियो, जबकी च्याम्पियन्स ट्रफीमा कूल १५ खेल मात्र हुनेछ। च्याम्पियन्स ट्रफीको कूल बजेट १३ करोड ५० लाख अमेरिकी डलर बताइएको छ। तर, टी–२० विश्वकपका लागि आइसीसीले ४ करोड ५० लाख डलर मात्र दिएको थियो।