बिहीबार राति र शुक्रबार साँझदेखि लगातारको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ।
मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगांैडा जोड्ने बाटामा ठाउँ ठाउँमा पहिरो गएको छ। वर्षात्सँगै छोरेपाटनदेखि निर्मलपोखरी भरतपोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिराले क्षति पु¥याएपछि यातायात सञ्चालनका कठिनाइ भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।
बिहीबार रातिको वर्षात्का कारण उक्त सडकखण्डको धारापानीमा पहिरो गएपछि अवरुद्ध बाटो सडक कर्मचारी र स्थानीयवासीको सक्रियतामा शुक्रबार मात्र खुलाइएकामा आज पुनः अवरुद्ध भएको उपभोक्ता समितिका सचिव गुरुप्रसाद पौडेलले बताए।
सडक अवरुद्ध भएसँगै जिविस कास्कीका इन्जिनियरसहितको प्राविधिक टोलीले शुक्रबार बाटाको स्थलगत अवलोकन गरेको थियो। वर्षात्का कारण लेखनाथ–१८ स्थित भरतपोखरी बहुउद्देश्यीय सामुदायिक भवन परिसरमा पहिरो गएपछि भवन जोखिममा परेको भवन संरक्षण समितिका कोषाध्यक्ष गोविन्द लम्सालले बताए।
वर्षात्सँगै लेखनाथ नगरपालिकाका तालचोक शिशुवा लगायत स्थान जलमग्न भएका छन्। रासस