पूर्व सभासद् शान्ता चौधरीको दाङ स्थित घरमा शनिवार राती चोरी भएको छ। उनी घरमा नभएको मौका पारेर चोरी भएको उनले फेसबुक वालमा लेखेकी छन्।
चोरी भएको थाहा पाउनेवित्तीकै आफुले प्रहरीमा उजुरी दिएको र दोषिलाई पक्रिन प्रहरीले काम गरिरहेको उनले सेतोपाटीलाई बताइन्। लुकाइएको ठाउँबाट साँचो झिकेर ढोका खोली चोरी गरिएको थाहा भएको छ। ढोका नफोडे पनि घरभित्रको दराज भने फोडेर महत्वपूर्ण समानहरु चोरी भएको उनले बताइन्।
जेठाजुको छोराको विहेका हुँदै भएकाले तयारी गहनाहरु आफै राखेकी र तीनै गहना चोरी भएको उनले बताइन्। तीनतोला जति सुन,ल्यापटप र ट्याव पनि घरमा छैन।
‘मेरा सबै डकुमेन्ट भएको ल्यापटपै चोरी भयो,’ उनले भनिन्,‘कति दुख गरेर जोडेको सामान चोरी हुँदा निकै पीर लागेको छ, तर सर्वस्वै लुटिएको भनेर नलेखिदिनु होला यो विषयलाई ठूलो नबनाउँ।’
आफुले साँचो लुकाउने ठाउँ धरी थाहापाएकै मान्छेले चोरेको जस्तो उनलाई लागेको छ। प्रहरीले अनुसन्धान गरिरहेकाले छिटै चोर पक्रिने विश्वास लिएको उनले बताइन्।