पाकिस्तानका अनुभवी क्रिकेट खेलाडी मोहम्मद हफिजको बलिङ शंकाको घेरामा परेको छ। त्यसैले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसिसी) ले आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा वेष्ट इन्डिजविरूद्ध हुने शृंखलाअगाडि नै उनको बलिङको परिक्षण गर्न पाकिस्तानलाई सल्लाह दिएको छ।
पाकिस्तान क्रिकेट संघ (पिसिबी) श्रोतका अनुसार संघका एक वरिष्ठ अधिकारीले पनि हफिजलाई यसको जानकारी दिइसकेका छन्। हफिजलाई बलिङ परिक्षणका लागि तयार हुन भनिएको छ।र, परिक्षण गर्न ढिलो नगर्न पनि सुझाव दिइएको छ। पाकिस्तानलाई अहिले अलराउन्डरको भूमिकामा उनको आवश्यकता अत्याधिक छ। वेष्ट इन्डिजविरूद्ध टि–२० श्रृंखला अगाडि २३ सेप्टेम्बरसम्म उनले आफ्नो बलिङको परिक्षण गरिसक्नु पर्नेछ।