दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले नवलपरासीको कावासोतीमा स्थापना गरेको रिफ्रेस सेन्टर कामविहीन र लथालिङ्ग भएको छ।
करिव तीन वर्षदेखि स्थापना भई प्रयोगमा आएको उक्त रिफ्रेस सेन्टरको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने ट्राफिक प्रहरी स्वयंले ध्यान नदिँदा यस्तो अवस्था आएको हो।
लामो दुरीमा सवारी सञ्चालन गर्ने चालकहरूले केही क्षण विश्राम गर्ने थलोको रुपमा विकास गर्ने र चालकहरूको सामान्य स्वास्थ्य अवस्था परीक्षण गर्ने भन्दै ट्राफिक प्रहरीले उक्त रिफ्रेस सेन्टर स्थापना गरेको बताएको थियो।
तर, उक्त सेन्टरलाई गम्भीरतापूर्वक नलिँदा कामविहीन मात्र होइन, सार्वजनिक शौचालयमा परिणत हुने अवस्थामा पुगेको छ।
रिफ्रेस सेन्टर स्थापना गर्दा एक जना प्राविधिक प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारबाट स्वास्थ्य परीक्षण गर्ने जनाएको भए पनि सेन्टरमा अहिले एक जना मानसिक रोगका बिरामीले डेराको रुपमा प्रयोग गरेका छन्।
स्रोतको अभावमा रिफ्रेस सेन्टरमा चालकहरूका लागि न्यूनतम आवश्यकताका फर्निचर समेत नभएका कारण प्रभावकारी प्रयोग हुन नसकेको भन्दै ट्राफिक प्रहरीले हात थापेपछि बुटवलका विभिन्न संघ–संस्थाहरूले आवश्यक फर्निचर सहयोग गरेका थिए।
रिफ्रेस सेन्टरलाई व्यवस्थित र स्तरीय बनाउन भन्दै रोट्रर्याक्ट क्लब अफ बुटवल, रोट्रर्याक्ट क्लब अफ बुटवल डाउन टाउन, केमसन बुटवल, सलिना ट्राभल्स र नेपाल औषधि व्यवसायी संघ लगायतका संस्थाहरूले गत वर्षको मंसिर २३ गते आवश्यक फर्निचर तथा उपकरण उपलब्ध गराएका थिए।
तर, सहयोगी दाताहरूले दिएका बेडहरू आठ महिनाकै अवधिमा अत्यन्त फोहोर र घिनलाग्दा अवस्थामा यत्रतत्र छरिएर रहेका छन्। रिफ्रेस सेन्टरमा पुग्ने कुनै पनि चालक वा परिचालकले उक्त बेडहरूको प्रयोग गर्न सक्ने अवस्थामा छैनन्। जताततै फोहरै फोहोर छ, सामान्य सरसफाइ समेत गरिएको छैन।
लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने चालकहरूलाई थकाई लाग्दा विश्राम गर्ने आरमदायी कुर्सी, रक्तचाप परीक्षण गर्ने उपकरण तथा आँखाको सामान्य परीक्षण गर्ने लगायतका उपकरण हस्तान्तरण गरिए पनि ती सामानहरूको उपयोग समेत भएको छैन।
रिफ्रेस सेन्टरलाई चालकहरूको नियमित स्वास्थ्य परीक्षणसँगै विश्रामको समयमा यात्रुसँग चालकको आनीबानीबारे जानकारी लिने गरी विकास गरिने योजना बनाइएको थियो।
राम्रो कामका लागि दिएका सामग्री सही प्रयोग र व्यवस्थापन हुन नसकेकोमा आफूहरूलाई दुःख लागेको केमचेन लुम्बिनीका अध्यक्ष विजय खनालले दुखेसो गरे।
पछिल्लो समय रिफ्रेस सेन्टर अनियमित भएको, ट्राफिक प्रहरीको इच्छाका भरमा हुने गरेको र फोहोरका कारण चालकहरूलाई पनि त्यहाँ पठाउन नसकिएको पश्चिम नेपाल बस व्यवसायी संघका कार्यसमिति सदस्य सागर सापकोटाले बताए।