सरकारले बिना इजाजत चलेका यातायातमा रोक लगाउने अभियान चलाउने भनिरहँदा लुम्बिनी अञ्चलभरिका पहाडी सडकमा बिना रुटपरमिट गाडी कुदिरहेका छन्। यस क्षेत्रका पहाडी भेगका सयौं गाउँ जोड्ने अधिकांश कच्ची सडकहरूमा रुट परमिटबिना नै गाडी गुड्दै आएका छन्।
यातायात व्यवस्था विभागले यस क्षेत्रमा बुटवल-तम्घास, बुटवल-पाल्पा, बुटवल-अर्घाखाँची र बुटवल-पोखरा गरी चार ठाउँका लागिमात्रै रुट परमिट दिएको छ। तर, यी चार मुख्य ठाउँ हुँदै अन्यत्र जानका लागि खोलिएका सयौं बाटाहरूमा इजाजतबिना नै सयौं सवारीसाधन गुडिरहेका छन्।
यीमध्ये केही सडकका लागि यातायात व्यवस्था कार्यालय लुम्बिनी अन्तर्गत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको अध्यक्षतामा बैठक बसेर सर्वसाधारण यात्रुहरूको माग र सुविधा बमोजिम अस्थायी रुपमा गाडी चल्न पाउने गरी व्यवस्था गरेपछि ती क्षेत्रमा गाडी चल्दै आएका थिए।
गुल्मी जिल्लामा दुई दिन बिना इजाजतका यातायात सञ्चालनमा रोक लगाइए पनि फेरि खुलेको छ।
बुटवल हुँदै पहाडी भेगका विभिन्न जिल्लाहरुमा चल्ने यात्रुबाहक गाडीहरु अधिकांशको रुट परमिट छैन। यातायात व्यवस्था कार्यालयले पिच भएका र पछि हल्का पिच भएका बाटोमा बाहेक अरुमा रुट परमिट दिँदैन। अहिले राष्ट्रिय स्तरबाट रुट परमिट दिएका सडक जम्मा चार वटा मात्रै छन्।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि मात्रै रुट परमिट भए पनि तम्घास हुँदै अर्घाखाँचीको खनदह, सिमलटारी, अर्जै छाप, धुर्कोट नयाँगाउँ, मैदान, इश्मा दोहोली, हुँगा लगायतका गाउँमा रुट परमिटबिना नै वर्षौंदेखि गाडी चल्दै आएका छन्। यस्तै गुल्मीकै रिडी हुँदै बाग्लुङको बुर्तीबाङ, आँपचौर, शान्तिपुर, फोक्सिङ, भार्से तथा गल्कोट हटिया र पुर्तीघाटसम्म दैनिक सार्वजनिक यातायातका दर्जनौं सवारी छुट्दै आएका छन्।
गुल्मीको तम्घास र रिडीबाट मात्रै यी बाटामा दैनिक चार सयको संख्यामा जिप र २ सय ५० जति ठूला बस छुट्दै आएका छन्। कतिपय बस र जिपहरू बुटवलबाटै सिधै छुट्ने गरेका छन्। यो रुटमा इजाजत छैन।
यसैगरी, बुटवलबाटै छुट्ने र गुल्मी तथा अर्घाखाँची सदरमुकामदेखिका शाखा सडक बलकोट, छत्रगञ्ज, सिमिचौर, चारपाला, डाँडाकटेरी, मानकोट, दुर्गाफाँट र नेटा दउरालीजस्ता गाउँमा चल्ने सार्वजनिक सवारीमा पनि रुट परमिट छैन। यी क्षेत्रमा जिप मात्रै दैनिक ३ सय ५० बढी र एकसय ५० बढी बस आवतजावत गर्ने गरेको बताइन्छ। ती मध्ये कतिपय बुटवलबाटै सिधै छुट्ने गरेका छन्।
यस्तै, बुटवल–सन्धिखर्क बाहेक शाखा सडकहरू नियालपोखरी, सिमलपानी, हंसपुर, ढाकावाङ, सोमादी, भुवनपोखरी गाउँमा जाने कुनै पनि सडकमा यातायात व्यवस्था कार्यालयले रुट परमिट दिएको छैन। पटक–पटक माग भए पनि तीस वर्षदेखि गाडी चल्दै आएका ठाउँमा पनि सम्बन्धित कार्यालयले रुट परमिट नदिएको गुनासो यातायात व्यवसायीको छ।
यस्तै, बुटवल–पाल्पा–स्याङ्जा रुटबाट चापाकोट, हर्मिचौर, रानिपानी, हुवास, घण्टे देउराली र दुर्गाफाँट गाउँका सडकमा सवारी साधनलाई इजाजत दिइएको छैन। यसक्षेत्रका पहाडी भेगका सडकहरूमा मुलुककै ठूलो संस्था पश्चिम नेपाल बस व्यवसायी संघ, गुल्मी यातायात, देउराली यातायात र श्रीनगर यातायातका गरी झन्डै एक हजार पाँच सय बढी सार्वजनिक सवारीसाधन चल्दै आएका छन्।
सरकारले रुट परमिट नदिने, अर्कोतर्फ सर्वसाधारणले गाउँ–गाउँ खोलिएका सडकहरूमा गाडी चलाउन दबाब दिने गर्दा आफूहरू दोहोरो चेपुवामा परेको यातायात व्यवसायी तथा मजदुर बताउँछन्। पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारले कुनै भरपर्दो व्यवस्था र विकल्पबिना नै यस्तो अभियान चलाउँदा थुपै्र गाउँका सयौं सडकहरूमा चल्ने सवारीसाधन बन्द हुने बताए।
व्यवसायीहरूले वर्षौंदेखि पटक–पटक सडकको निरीक्षण तथा अनुगमन गरी रुट इजाजत दिन माग गरे पनि सरकारले त्यसतर्फ ध्यान नदिँदा कतिपय क्षेत्रमा स्थानीयको चर्को मागपछि बिनाइजाजत सञ्चालन गर्न बाध्य भएको उनी बताउँछन्। कानुन बनाएर, अवस्था हेरेर यात्रुको माग र चापका आधारमा गाडी चलाउने व्यवस्था गरिएमा आफूहरूलाई मान्य हुने खरेलले बताए।
तस्बिर : गुगलबाट