‘पाएसम्म त दालभात नै खानुपर्छ है।’
रातको झन्डै १२ बजेको थियो। एक जनाले भने, ‘कोठामा त के पकाइ भो र यतिबेला? सेतोपुलमा राति १२/१ बजेसम्म भात खान पाइने होटल छ। त्यहीँ जाउँ।’
सबै चुपचाप खाना खाइरहेका थिए। होहल्ला हुने रातका अरू होटलभन्दा बिल्कुलै भिन्न। सफा। तातो र स्वादिलो खाना।
करिब एक महिनापछि हालैको एकदिन साँझ पाँच बजेतिर म दोस्रोपटक त्यही होटल पुगेँ।
हिलाम्मे कच्ची सडकको देब्रेतिर भुइँमा अड्याइएको फ्लेक्स बोर्डमा माथि सानो अक्षरमा ‘दीपक दाइको’ र तल ठूलो अक्षरमा लेखिएको छ, ‘भीमेश्वर भोजनालय’।
मैतिदेवी र पुरानो बानेश्वर छुट्याउने सेतोपुलको देब्रेपट्टि करिब ५० मिटरभित्र अँध्यारो कुनामा छ यो होटल। ढोकाबाट छिर्नेबित्तिकै साँघुरो गल्लीजस्तो खाली ठाउँ पार गर्दै होटलको काउन्टरमा पुगिन्छ। दाहिनेतिर भित्तामा ‘ए–फोर’ साइजको कागजमा प्रिन्टेड अक्षरमा लेखिएको छ, ‘अनावश्यक हल्ला गरेर अरूलाई डिस्टर्ब नगरौं, महिलाको सम्मान गरौं, अपशब्द नबोलौं, कृपया शान्त शान्तः।’
देब्रेतिर भित्तामा त्यसैगरी लेखिएको छ, ‘भोजनालय हाताभित्र मदिरापान निषेध छ।’
भान्छानजिकै टेबलमा रायोको साग, आलुलगायत काटेर राखिएका तरकारी ओइरिन ठिक्क पारिएको थियो। भान्छामा काम गरिरहेका दुई कर्मचारी हतार ‘मुड’मा देखिन्थे।
यो ‘राति भात खान पाइने होटल हो’ भन्ने धेरैलाई थाहा छ। आठ नबज्दै यहाँ ग्राहक आउन थाल्छन्। तीनवटा टेबलले झन्डै बीस जना ओगट्ने क्षमता राख्छ।
‘साहुजी कहाँ हुनुहुन्छ?’
भान्छाको काममा हतारमा रहेका एक मंगोल अनुहारका कर्मचारीले बोलाए। एकैछिनमा ‘साहुजी’ दीपक श्रेष्ठ आइपुगे, आँखा मिच्दै। राति अबेरसम्म काम गरेकाले उनको उठ्ने समय बल्ल हुँदै रहेछ।
दीपकले तरकारी पखाल्दा पानी उछिट्टिएर भिजेको बेन्च पुछे। अनि होटल चलाउँदाका अनुभवका साथै आफ्नो ‘जीवनकथा’ सुनाउन थाले।
राति मात्र खाना खुवाउने होटल दीपक आफैंले सुरु गरेको होइन रहेछन्। दीपकले चलाउनुअघि यो होटल उनका अहिलेका घरबेटीले चलाउँथे। दीपकले चलाउन थालेको आउँदो मंसिरमा चार पुगेर पाँच वर्ष लाग्दैछ। त्यसअघि घरबेटीले चार वर्ष यो होटल चलाएका थिए।
दीपक यसअघि रातको समय ट्याक्सी चलाउँथे। होटल बन्द नहुन्जेलसम्मको समयमा यात्रु ओसार्नै भ्याइनभ्याइ हुन्थ्यो। फुर्सद पाएपछि पेटले भोक सम्झाउँथ्यो। अरू ‘कच्याककुचुक’ खान्कीले चित्त नबुझ्ने। राति घर जान पनि अप्ठ्यारो। उनी दालभातको खोजीमा हुन्थे। त्यति राति कहाँ पाउनु?
उनले सोचे, ‘अब अरूलाई राति भात खुवाउने होटल खोल्छु।’
ट्याक्सीको आम्दानी त राम्रै थियो। तैपनि उनलाई चित्त बुझिरहेको थिएन।
‘साह्रै दुःखको काम,’ उनले सुनाए, ‘श्रीमती पनि बेरोजगार थिइन्। यत्रो बुढेसकाल लाग्दासम्म लोग्नेस्वास्नी सँगै कहिल्यै भइएन। श्रीमतीलाई काम पनि हुने, सधैं सँगै पनि भइने। पैसा भनेको त्यस्तै हो। पैसाबाहेक रातिको होटल चलाउँदा सेवा पनि हुने, पैसा पनि हुने र परिवारसँगै पनि भइने।’
उनी अहिलेको होटल भएठाउँमा एक–दुईचोटि राति खाना खान आएका रहेछन्। रातिको होटल चलाउने सोचिरहेका बेला एक रात त्यहाँ पुगे। मालिक होटल बेच्ने सुरमा रहेछन्।
घरमा श्रीमतीसँग सल्लाह गरे। भतिजलाई पनि सोधे। साली बिहे गरेका भतिजसँग साढुभाइको नाता पनि थियो। यसरी साढु–साढुले करिब चार लाखमा होटल किने।
अहिले साढु र साली नजिकै अर्को होटल चलाउँछन्, ‘चमाको भोजनालय’ नाममा, जहाँ राति र दिउँसो दुवै समय खाना पाक्छ। दीपकका छोराछोरीले ‘चमा’ (सानिमा) भनेर बोलाउँदा उनी सबैकी ‘चमा’ भनेर कहलिएकी थिइन्।
पहिलेका मालिकले सुरुसुरुमा रक्सी पनि बेच्थे। त्यसैले बेलाबेला झगडा परिरहँदा हैरान भएर होटल बेचेका रहेछन्। दीपकले किनेपछि होटलको स्वरुप थोरै परिवर्तन गरे। रक्सी त बेचेनन् नै बाहिरबाट ल्याएको रक्सी भित्र छिराउनसम्म दिएनन्।
राति रक्सी खाएर आउनेहरू हल्ला गर्थे, अपशब्द बोल्थे। महिला ग्राहक, भान्छामा काम गरिहेकी उनकी श्रीमतीलाई अप्ठ्यारो लाग्थ्यो।
अनि भित्तामा सूचना टाँस गरे, अनावश्यक हल्ला गरेर अरुलाई डिस्टर्ब नगरौं, महिलाको सम्मान गरौं, अपशब्द नबोलौं, कृपया शान्त शान्तः, भोजनालय हाताभित्र मदिरापान निषेध छ।’
यसपछि यस्ता अप्ठ्यारा पनि हट्दै गए। खानाको स्वाद पनि फेरे। ग्राहक संख्या विस्तारै बढ्दै गयो।
कुरा गरिरहँदा तरकारीको अर्डर लिने व्यक्ति आइपुगे। उनले अर्डर टिपाए। अनि मतिर फर्किर बोले, ‘ड्राइभरहरूलाई थोरै भए पुग्छ तर मिठो चाहिन्छ,’ उनी भन्छन्, ‘त्यसैले सकेसम्म दिनैपिच्छे फरकफरक तरकारी पकाउँछु। म आफैं पनि ड्राइभर भएकाले मेरो ध्यान कसरी मिठो खुवाउने भन्ने हुन्छ। परिवारै खटिएर खाना बनाउँदा धेरैलाई घरकै खानाजस्तो लाग्दो रहेछ।’
धेरैले भन्दा रहेछन्, ‘यति राति पनि घरमै खाएजस्तो भयो।’ सबैले राम्रो भन्दाभन्दै उनले सुरुसुरुमा प्रशासनको अप्ठ्यारो पनि भोग्नुपर्यो। प्रहरीहरु आउँथे र राति दस बजेपछि नखोल भन्थे। तीन पटकसम्म त उनलाई रातभरि हिरासतमा पनि राखिदिएछन्।
उनी रातभर होटल चलाउन पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय पनि पुगे। तर, उनले १२ बजेसम्मका लागि मात्र अनुमति पाए। अहिले त प्रशासनले उनको काम बुझिसकेका छन्। प्रहरीहरू पनि खाना खान आउँदा रहेछन्।
एकपटकमा २० जनासम्म अटाउने होटलमा अचेल ड्राइभर मात्र आउँदैनन्, राति फिल्म हेर्नेहरू, पार्टी, क्लब, डान्सबार, दोहोरी साँझ चहार्नेसम्मका ग्राहक आइपुग्छन्। १२० रुपैयाँमा साकाहारी, १७० मा चिकेन र १९० मा मटन खाना खुवाउँछन्। सबैले सस्तो, सफा र मिठो भन्ने गरेको उनको भनाइ छ।
‘दिउँसो पनि चलाउने सोच्नु भएन?’
‘सोचेको थिएँ,’ उनले भने, ‘मान्छेलाई पैसा जति भए पनि पुग्दैन।’
‘मेरो पहिलो महिनाको तलब १२ रुपैयाँ थियो,’ चुरोट सल्काउँदै उनी बोले, ‘अहिले त त्यतिमा एउटा चुरोट पनि आउँदैन। पहिलो महिनाको तलबले मैले आमालाई १० रुपैयाँको साडी किनिदिएको थिएँ। पाँच महिनाको तलब एकैचोटि थापेर घरमा चाहिने सबै सामान किन्दा पनि पैसा बचेको थियो। त्यसपछि मैले थुप्रै ठाउँमा थुप्रैपटक हजारौं तलब थापेँ। तर पनि १२ रुपैयाँ तलब थाप्दाजत्तिको खुसी अहिलेसम्म पाएको छैन।’
यसो भन्दै गर्दा उनी बाल्यकालतिर फर्किए। अनुहारमा एकाएक रमाइलो भाव दौडियो। झनै खुलेर कुरा गर्न थाले।
गाउँकै स्कुलमा पाँच कक्षासम्म पढेपछि ६ कक्षा पढ्न झन्डै दुई घन्टा लगाएर दोलखाको चरिकोट आइपुग्नुपथ्र्यो। सधैंजसो फस्ट–सेकेन्ड भइरहने दीपक ६ कक्षाको अर्धवार्षिक परीक्षामा फेल भएछन्। उनलाई एक्कासि ‘मास्टर’ हरूप्रति रिस उठेर आयो। उनी स्कुल जानै छोडिदिए।
तर, उनलाई पढ्न मन थियो।
कसैले ‘काठमाडौं गए पैसा कमाइ हुन्छ, झन् राम्रो पढ्न पनि पाइन्छ’ भनिदिएछन्। उनी काठमाडौंको डिल्लीबजार आएर एक जना साहुको घरमा घरायसी काम गर्न थाले। घरअगाडि नै स्कुल थियो। स्कुलको ड्रेस लगाएर हिँडेका विद्यार्थी देख्दा उनलाई आफ्नो गाउँ र स्कुलको याद आउँथ्यो। उनी आफूलाई विद्यार्थीको त्यही हुलमा चिटिक्क ड्रेसमा सजिएर हिँडेको देख्थे।
त्यो त फगत कल्पना थियो। यथार्थमा त उनका साहु उनलाई मासिक १२ रुपैयाँ मात्र दिन्थे। स्कुल त परको कुरा।
उनलाई ती साहुको व्यवहार चित्त बुझेन। त्यसपछि साहु फेरे। ती अलि मिजासका थिए। स्कुल जा पनि भनेछन्। तर त्यतिबेलासम्म उनी हलक्कै बढिसकेका थिए। सानो कक्षामा बसेर पढ्न लाज लाग्यो। चरिकोटको स्कुल नै उनका लागि अन्तिम औपचारिक विद्यालय बन्यो।
अहिले दीपकको बुझाइ छ, ‘जिन्दगी आफैंमा ठूलो विद्यालय रहेछ। यहाँ त परीक्षामा फेल भइयो स्कुल जान्नँ भनेर पनि पाइन्न। लाज लाग्यो भनेर पनि सुख छैन।’
उनलाई जिन्दगीले देशमा मात्र होइन हङकङ, थाइल्यान्ड, बेल्जियम लगायत देशमा समेत परीक्षा लियो। गाडी चलाए, सुरक्षा गार्डको काम गरे, होटलमा कुकको काम गरे। पास–फेलको नियति चलिरह्यो। उनी देश फिरे, ट्याक्सी ड्राइभर बन्दै अहिले होटल मालिक बनेका छन्।
उनी अहिलेको यो कामलाई पास–फेलको तराजुमा राख्दैनन्। भन्छन्, ‘बस्! सन्तोष छ।’
‘मेरो जिन्दगीको पहिलो काम भाँडा माझ्नु थियो,’ उनी थप्छन्, ‘अहिले बुढेसकालमा त्यही काममा फर्किएको छु। १२ वर्षदेखि भाँडा माझेको अहिले पनि भाँडा माझ्नै सजिलो लाग्छ। अरुले जेसुकै भनुन्, सन्तोष नै सबैभन्दा ठूलो कुरा रहेछ।’
बेलैमा खाना खान, भातमै बढी रुचि राख्नेलाई मध्यरातमा खाना खुवाउन पाउँदा, अरूलाई रोजगारीसमेत दिन पाउँदा, ग्राहकको मुखबाट ‘घरको जस्तै स्वादिलो खाना’ जस्ता शब्द सुन्दा उनलाई जीवनदेखि झनै सन्तोष लाग्छ।
भन्छन्, ‘नेपालीका लागि त भात नसा हो। त्यही भएर मैले भुइँचालोको बेला जम्मा एकदिन मात्र बन्द गरेँ। नाकाबन्दीका बेला ७३ वर्षे आमालाई तेलको लाइन लगाएर भए पनि भात पकाएर खुवाएँ।’