एसियाली क्रिकेट महासंघ (एसीसी) को नयाँ अध्यक्षमा पाकिस्तानका साहरियार खान नियुक्त भएका छन्। श्रीलंकाको राजधानी कोलम्बोमा बसेको एसीसीका सदस्य राष्ट्रहरूको प्रतिनिधि मण्डलले २ वर्षको आगामी कार्यकालका लागि पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्षसमेत रहेका साहरियारलाई नियुक्त गर्ने निर्णय गर्यो।
कोलम्बोस्थित किङ्सबरी होटलमा बिहान ११ बजेदेखि बसेको बैठकले यसअघि एसीसीका अध्यक्ष रहेका श्रीलंकाका थिलंगा सुमाथिपालालाई धन्यवाद दिएको थियो। उनकै कार्यकालमा गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले एसीसीको भूमिका समाप्त गर्दै एसियाको क्रिकेट सोझै आफैले हेर्ने निर्णय गरेको थियो। आइसीसीको यो निर्णयसँग एसियाका थुप्रै सदस्य राष्ट्र असन्तुष्ट थिए।
एसीसीलाई पुनः ब्युत्याउने सम्बन्धमा कोलम्बोमा गत शुक्रबारदेखि एसियाली क्रिकेट राष्ट्रहरूका प्रतिनिधि जम्मा भएका थिए। शनिवार साँझ ५ बजे कोलम्बोको मेटल्यान्ड प्लेसमा एसीसीको कार्यालय विधिवत रूपमा उद्घाटन गरिएको थियो।
आइतबार टेष्ट खेल्ने ४ राष्ट्रका प्रमुख तथा एसीसीको १२ सदस्य राष्ट्र गरी १६ देशका पदाधिकारी सम्मिलित साधारण सभाले बरिष्ठ उपाध्यक्षमा सिङ्गापुरका इमरान ख्वाजालाई मनोनित गर्यो। उनी एसोसिएट राष्ट्रको तर्फबाट प्रतिनिधित्व गर्दै बरिष्ठ उपाध्यक्ष भए।
साधारण सभाले ४ वटै टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका प्रतिनिधि कार्यसमितिमा रहने व्यवस्था गर्यो। यस्तै, पूर्ण सदस्य राष्ट्रको तर्फबाट थाइल्यान्ड र ओमानका अध्यक्षले कार्यसमितिको अगुवाई गर्ने निर्णय भयो भने चीनलाई एसोसिएट राष्ट्रको प्रतिनिधित्वको रूपमा कार्यसमितिमा स्थान दिइयो।
यस्तै एसीसीको क्रिकेट विकास कमिटीको संयोजकमा श्रीलंकाका पूर्वअध्यक्षथिलंगालाई मनोनित गरिएको थियो।
‘बैठकमा एसियाली क्रिकेटको स्तरवृद्धको लागि कसरी आत्तेमालो गरेर काम गर्ने भन्ने विषय उठेको थियो,’ नेपालको तर्फबाट एसीसीको साधारण सभामा भाग लिएका नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित कमिटीका अध्यक्ष चतुरबहादुर चन्दले सेतोपाटीलाई टेलिफोनबाट जानकारी दिए।
एसीसीको साधारण सभामा भाग लिन उनीसँगै महासचिव अशोकनाथ प्याकुरेल पनि कोलम्बो गएका थिए। यी दुवैले साधारण सभामा भाग लिएका थिए।
गत वर्ष क्यानको निर्वाचनबाट उनीहरू अध्यक्ष र महासचिवमा निर्वाचित भएका थिए। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानको त्यो निर्वाचनलाई मान्यता नदिएर रमेश सिलवालको अध्यक्षतामा तदर्थ कमिटी गठन गरेको थियो।
क्यानमा सरकारले राजनैतिक हस्तक्षेप गरेपछि आइसीसीले ४ महिनाअघि क्यानलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धको अवस्थामै एसीसीले चन्दले अध्यक्षता गरेको कमिटीलाई आफ्नो साधारण सभामा भाग लिन बोलाएको हो।