प्रत्येक वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला भर्न हजारौ दर्शनार्थीहरू बाजुराको बडिमालिका पुग्ने गर्दछन्।
यस वर्ष भदौ महिनाको पहिलो हप्ता नै परेको जनैपूर्णिमाका दिन सुदूरपश्चिमका बाजुरा, अछाम, डोटी, कैलालीलगायत मध्यपश्चिममा कालिकोट, हुम्ला, सुर्खेत, दैलेख, मुगु लयातका जिल्लाहरूबाट हजारांै दर्शनार्थीहरू बडिमालिकाको दर्शनका लागि पुगेका छन्।
बाजुरा जिल्लाबाट प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलगायतका सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, सर्वसाधारणहरू उल्लेख्य मात्रामा सहभागी भएको पर्यटन व्यवसायी परमान्द भण्डारीले जानकारी दिए।
सम्भावना धेरै भए पनि बडिमालिका जस्तो सुन्दर, मनमोहक, रमणीय र पवित्र धार्मिकस्थल पनि बाजुरामा छ भन्ने कुरा धेरै कमलाई थाह छ। त्यहाँ पुग्नेहरू अन्य सबै कुरा बिर्सिएर बडिमालिका मात्र सम्झिन्छ।
रमणीय २२ पाटन र चुचुरोमा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका मन्दिरले त्यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ। १४ हजार फिट उचाइमा रहेको बडिमालिका क्षेत्रबाट कालिकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ र डोटी क्षेत्र हेर्न सकिन्छ। प्रायः हिमपात भइरहने बडिमालिकामा जान भने साउन र भदौमा मात्र सजिलो हुन्छ। अन्य बेला त्यहाँ जान निकै जोखिम मोल्नुपर्छ।
हरिया पाटनमा सयौंथरीका भुइँफूलले यात्रालाई रोमाञ्चक बनाउँछ। तर, फूल र विष छुट्याउन नसकेर टिप्न खोजे यात्रा असहज हुन सक्छ।
कालिकोट, मुगु र बाजुराका वरिपरिका गाविसका बासिन्दा भेडा र घोडा चराउन बडी मािलकाको पाटन ल्याउँछन्। हरिया डाँडामा भेडाको बथान लोभलाग्दो हुन्छ।
बडिमालिका मन्दिर वि.सं.१४२३ भन्दाअघि स्थापना भएको स्थानीयको भनाइ छ। सत्य युगमा भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वीलोकमा परिक्रमा गरिरहँदा मल्लिका गिरीमा बाया“ हात पतन भएकोले त्यहा“ बडिमालिका शक्तिपीठको उत्पत्ति भएको धार्मिक किम्बदन्ती छ। बडिमालिकाको पैदल यात्रा जति कठिन छ, त्यति नै रोमाञ्चक पनि। हिउँले बडिमालिका क्षेत्र ढाकिएको दृश्य कम लोभलाग्दो हुँदैन।
तस्बिर सौजन्य : परमानन्द भण्डारी