उपत्यकामा तीस वटा साझा बस थप्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र साझा बसका कामु कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेबीच छलफल भएको छ।
बिहीबार साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेलाई प्रधानमन्त्री निवासमा बोलाई प्रधानमन्त्री दाहालले छलफल गरेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले भने, ‘‘उपत्यकामा आवातजावतका लागि जनताले दुःख पाइरहेका छन्। जनतालाई राहतको अनुभूति दिन आवश्यक छ। काठमाडौंको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णयमा पुगौं।’
प्रधानमन्त्रीले सम्बद्ध पक्षसँग छलफल र गृहकार्य गरेर कम्तीमा तीस वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गराएका थिए। भेटमा निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका थिए।