'नेपाल' साप्ताहिकले यसैसाता प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पदबहालीपछि सिंहदरबारस्थित कार्यकक्षमा बसेको तस्बिरसहित 'कभर स्टोरी' छाप्यो। उक्त तस्बिरमा प्रधानमन्त्रीको 'डेस्क' मा देखिएका चार थान डिक्सनेरीले धेरैको ध्यान खिच्यो।
डिक्सनेरीको खातमा सबैभन्दा तल नेपाली-अंग्रेजी शब्दसागर थियो। त्यसपछि क्रमश: नेपाली बृहत शब्दकोष, अक्सफोर्ड एडभान्स लर्नर डिक्सनेरी फर करेन्ट इङ्लिस र सबैभन्दा माथि मोर्डन इसेन्सियल डिक्सनेरी थिए।
डिक्सनेरीको यो खातले सामाजिक सञ्जालमा धेरै नै चर्चा पायो। हल्काफुल्कादेखि गम्भीर खालका टिप्पणीसम्म गरिए।
पूर्वसचिव कृष्ण ज्ञवालीले ट्विटरमा लेखे, 'खै, पैले त त्यसरी जे पायो त्यही ढंगबाट राख्ने गर्या थिएनन्। कोही नयाँ हाकिमको बुद्धि पलायो होला। अरुचिकर अान्तरिक सजावटको नमूना।'
पत्रकार हरिबहादुर थापाले लेखे, 'हाम्रा प्रधानमन्त्रीहरु त यसरी डिक्सनेरी घोकेर बस्दा रहेछन्, त्यही कारण पो भाषणमा शब्दजाल बर्संदो रहेछ'।
दिनकर नेपालले भने डिक्सनेरीलाई लिएर भएको अनावश्यक टिकाटिप्पणी मन पराएनन्। उनले लेखे, 'डिक्सनेरीलाई लिएर किन यति धेरै हल्लाखल्ला! डिक्सनेरी त्यहाँ हुनु राम्रो हो नि, हैन?'
हामीलाई भने ती 'डिक्सनेरी' कहाँबाट आए, कहिलेदेखि आए र किन आए भन्ने कौतूहल जागिरह्यो। डिक्सनेरी कुनै सजावटको सामग्री हैन। सजावटकै लागि प्रधानमन्त्रीको 'डेस्क' मा डिक्सनेरी राखिएको भए त्यो पूर्वसचिव ज्ञवालीले भनेजस्तो 'अरुचिकर अान्तरिक सजावटको नमूना' नै हो।
हामीलाई लाग्यो डिक्सनेरीको खातमा पक्कै केही चाखलाग्दो कथा च्यापिएको छ। किनकि, जे वर्तमानमा छ, त्यसको प्राय: इतिहास हुने गर्छ। ती डिक्सनेरीको पनि पक्कै इतिहास हुनुपर्छ।
हामीले प्रधानमन्त्री कार्यालयका अधिकारी, पूर्व मुख्य सचिवहरु तथा पूर्व प्रधानमन्त्रीका सहयोगीहरुसँग कुरा गर्यौं।
प्रधानमन्त्री बाबुराम भट्टराई र सुशील कोइरालाको पालामा लीलामणि पौडेल मुख्यसचिव थिए। पूर्व मुख्यसचिव पौडेलले आफूले प्रधानमन्त्रीको टेबलमा डिक्सनेरी भए-नभएको 'नोटिस' नै नगरेको बताए। ‘मैले प्रधानमन्त्रीको टेबलमा डिक्सनेरी नोटिस गरिन, प्रधानमन्त्रीको अफिससँगै पुस्तकालय पनि छ, त्यहाँ पनि सबै किताब छन्,’ पौडेलले भने, ‘टेबलमा डिक्सनेरी राख्नु सामान्य भए पनि राख्नु वा नराख्नुको केही अर्थ हुँदैन।'
प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदकुमार कुँवरले प्रधानमन्त्रीको डेस्कमा 'डिक्सनेरी' राख्ने 'पुरानै चलन' भएको बताए। तर कसको पालादेखि त्यो चलन आएको हो उनलाई केही भेउ थिएन।
उनका अनुसार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको टेबलमा पनि तीनवटा डिक्सनेरी थिए।
‘राजीनामा दिएपछि उहाँले ती डिक्सनेरीमा हस्ताक्षर गरेर लाइब्रेरीलाई दिनुभएछ,’ कार्यालयका एक कर्मचारीले भने, ‘पूर्वप्रधानमन्त्रीले हस्ताक्षर गरेको डिक्सनेरी नयाँ प्रधानमन्त्रीलाई दिन अप्ठेरो लागेर नयाँ किनेका हौँ।’
प्रधानमन्त्री ओलीका पालामा पनि त्यहाँ डिक्सनेरी थिए भन्नेसम्म त थाहा भयो, तर कुन प्रधानमन्त्रीको पालादेखि राखिए भन्ने अझै थाहा भएन। टेबलमा एउटा मात्र डिक्सनेरी भएको भए पनि हामीलाई त्यति धेरै चासो हुने थिएन, तर त्यहाँ एउटा हैन, चारवटा डिक्सनेरी थिए। प्रधानमन्त्रीको काम कुनै 'ट्रास्लेटर' वा 'इन्टरप्रेटर' को पनि त हैन, जसलाई हरबखत सही शब्द प्रयोग भयो कि भएन भन्ने सकसक परिरहोस्!
हामीले २०४७ सालमा बहुदल आइसकेपछिका पहिलो जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग लामो समय काम गरेका हरि शर्मासँग डिक्सनेरीबारे चासो राख्यौं।
'त्यो बेला प्रधानमन्त्रीको टेबलमा कुनै डिक्सनेरी थिएन,' शर्माले सम्झँदै भने, 'उहाँका टेबलमा तीन थान अंग्रेजी पत्रिका मात्र हुन्थे, काठमान्डु पोष्ट, राइजिङ नेपाल र टाइम्स अफ इन्डिया।'
कोइराला सधैं बिहान साढे चार बजे उठ्थे। दौरासुरुवाल, कोट र कालो टोपी लगाएर तयार भएपछि घरमै बिहान उनी नेपाली पत्रिका पढिसक्थे वा कसैले पत्रपत्रिकाबारे उनलाई 'ब्रिफिङ' गरिसक्थ्यो।
'मैले पनि एकपटक उहाँलाई सोधेँ,' शर्माले भने, 'तपाईं किन अफिसमा अंग्रेजी पत्रिका हेर्नुहुन्छ? उहाले भन्नुभयो 'विदेशीले अंग्रेजी पत्रिका मात्र पढ्छन्, उनीहरुले नेपालबारे के पढिरहेका छन्, पत्रिकाले उनीहरुलाई कसरी बुझाइरहेका छन् भन्ने थाहा पाउन अंग्रेजी पत्रिका पढ्नुपर्छ।'
कोइरालाले पहिले सम्पादकीय, त्यसपछि विचार पेज र अन्तर्राष्ट्रिय पेज हेर्ने/पढ्ने गर्थे रे।
'पत्रिकाबाहेक टेबलमा अरु केही हुन्न थियो,' शर्माले भने, 'उहाँ टेबल सफा राख्नुपर्छ, नत्र मानिससँग कुरा गर्दा 'डिस्टर्ब' हुन्छ भन्नुहुन्थ्यो। यहाँसम्म कि फूल पनि उहाँ टेबलमा हैन, छेउमा राख्न लगाउनु हुन्थ्यो।'
भनेपछि, कोइरालाका पालासम्म पनि प्रधानमन्त्रीको 'डेक्स'मा डिक्सनेरीले प्रवेश पाएको हैन रहेछ।
अन्तत: हामीले पत्ता लगायौं, डिक्सनेरीको खात शेरबहादुर देउवाको पालामा प्रधानमन्त्रीको 'डेक्स'मा पुगेका रहेछन्।
तपाईं एकछिन थामिएर अनुमान गर्नुहोस्, 'देउवाले किन त्यतिका धेरै डिक्सनेरी त्यहाँ लगे होलान्?'
प्रधानमन्त्रीको डेस्कको सजावटका लागि ती डिक्सनेरी त्यहाँ लगिएका थिएनन्।
कारण के रहेछ भने, भारतसँग महाकाली सन्धिको 'नेगोसिएसन' चलिरहेका बेला आफू चुकिएला र आफ्नो छवि बिग्रेला भन्नेमा देउवा अत्यन्त सचेत थिए। उनी सन्धिको मस्यौदामा परेका शब्द शब्दका बारेमा आफैं आश्वस्त हुन चाहन्थे। त्यसैले, आफ्नो डेस्कमा डिक्सनेरीको खात लगाएका थिए।
देउवाको पहिलो प्रधानमन्त्रीकालमा उनको टिममा बसेर काम गरेका पत्रकार अच्युत वाग्ले डिक्सनेरी जम्मा पारको समय सम्झँदै भन्छन्, 'हामीले बजारबाट ठूलो वेब्स्टर डिक्सनेरी र अक्सफोर्डको कानुनी पदावलीको डिक्सनेरी किनेर ल्यायौं। मैले मेरो घरको एउटा डिक्सनेरी पनि लगेको थिएँ। जम्मा चारवटा डिक्सनेरी भेला पारेका थियौं।'
देउवा यति धेरै सचेत वा सशंकित हुनु स्वाभाविक थियो।
प्रधानमन्त्रीका रुपमा आफ्नो पहिलो दिल्ली भ्रमणका बेला गिरिजाप्रसाद कोइराला भारतसँग टनकपुर सम्झौता गरेर नेपाल फर्किए। कोइरालाले भारतसँग गुपचुप सन्धि गरेको आरोप लाग्यो। २०४८ सालको संविधानको धारा १२६ मा कुनै देशसँग प्राकृतिक श्रोत र साधन बाँडफाँडसम्बन्धी सन्धि भयो भने त्यो संसदको बहुमतले अनुमोदन गर्नुपर्छ भन्ने प्रावधान थियो। संविधानको त्यो धारा छल्न कोइरालाले 'टनकपुर सम्झौता' भनेको भनेर विरोध भयो।
सर्वोच्च अदालतमा मुद्दा पर्यो। सर्वोच्चका तत्कालीन प्रधानन्यायधीश विश्वनाथ उपाध्यायको बेन्चले टनकपुर सम्झौता नभएर 'सन्धि' नै भएको फैसला सुनायो। पहिले नै कोशी, गण्डकी 'बेचेको' आरोप लागेको कांग्रेसको छविमा ठूलो धक्का लाग्यो। एमालेले राष्ट्रियताको मुद्दा खुब उचाल्यो। संसद विघटनपछि भएको मध्यावधि निर्वाचनमा एमाले केहि सिटले कांग्रेसलाई उछिनेर पहिलो दल बन्यो। मनमोहन अधिकारी मुलुकको पहिलो वामपन्थी प्रधानमन्त्री बने।
अधिकारीको त्यही सरकारलाई ९ महिनामै ढालेर देउवा प्रधानमन्त्री बनेका थिए। भारतसँग हुन लागेको महाकाली सन्धिमा आफू चुक्छु कि भन्ने स्वाभाविक चिन्ता उनमा थियो। भारतले कोइरालालाई 'शब्दजाल' मा फसाएको कांग्रेसको बुझाइ थियो। कांग्रेसका अर्का प्रधानमन्त्री फेरि शब्दजालमा फस्न चाहन्न थिए। त्यसैले, उनले आफ्नो डेस्कमा शब्दकोषको खात लगाए।
महाकालीका सन्धिमा 'फसिएला' भन्ने देउवाको त्यो बेला ठूलो चिन्ता रहेको सम्झँदै पत्रकार वाग्लेले भने, 'शब्द शब्दमा राति एक-दुई बजेसम्म छलफल चल्थ्यो। सौदाबाजी हुन सक्ने शब्दको खोजी भैरहन्थ्यो।'
वाग्लेले सिंहदरबारमा एक रात अबेरसम्म एउटा शब्दमा भएको छलफल सम्झिए। सन्धिको मस्यौदामा एक ठाउँमा अंग्रेजी शब्द 'इक्युइटेबल' ठिक हुन्छ कि 'इक्वल' भन्नेमा धेरै छलफल भयो। विवाद परियोजनाको लाभ दुवै देशबीच 'इक्युइटेबल' वितरण हुने कि 'इक्वल' वितरण हुने भन्ने थियो।
'एक साँझ प्रधानमन्त्री देउवा, प्रदीप गिरी, जलश्रोत मन्त्रालयका अरुणध्वज अधिकारी र म बसेर धेरै अबेरसम्म छलफल गर्यौं,' उनले भने, 'इक्युइटेबल शब्दको अर्थ के हुन्छ भनेर डिक्सनेरीमा कन्फर्म गर्न खोज्दा प्रधानमन्त्रीले चासो राखेर घोप्टी, घोप्टी हेरेको मलाई याद छ।'
'अन्तत: हामीले 'इक्वल' शब्द ठिक हुन्छ भन्ने निस्कर्ष निकाल्यौं,' वाग्लेले भने, 'प्रधानमन्त्रीले मलाई पनि त्यो शब्द ठिक लाग्यो भन्नुभयो।'
दुई देशबीच सन्धि सम्पन्न भैसकेपछि भारतका पूर्व विदेश सचिव जे एन दीक्षितले 'मेनस्ट्रिम' भन्ने म्यागजिनमामा उक्त सन्धिका बारेमा 'महाकाली ट्रिटी: अ वाटरसेड इन नेपाल-इन्डिया रिलेशन्स' भन्ने शीर्षकमा एउटा लेख लेखेछन्।
उक्त लेखमा प्रयोग भएका कतिपय शब्दावलीले के भन्न खोजेको हो भनेर प्रधानमन्त्री कार्यालयमा पछि फेरि डिक्सनेरी हेरेको वाग्ले सम्झन्छन्।
महाकाली सन्धिको बेला प्रधानमन्त्रीको डेस्कमा खात लागेका ती डिक्सनेरीले सम्भवत: श्राद्धमा बिरालो बाँधे जसरी त्यसपछिका प्रधानमन्त्रीका कार्यकालमा पनि निरन्तरता पाए भन्ने अनुमान लगाउन सकिन्छ। नत्र प्रधानमन्त्री ओलीले डिक्सनेरीमा 'सही गरेर' लाइब्रेरी पठाइदिएपछि हाम्रा 'कल्पनाशील' कर्मचारीले किन फेरि अर्को खात डिक्सनेरी किनेर टेबल सझाउँथे!
हामीले कहिलेदेखि प्रधानमन्त्रीको कार्यकक्षमा डिक्सनेरीले प्रवेश गरे भन्ने त पत्ता लगायौं, तर ओलीले सही गरेका डिक्सनेरी देउवाले महाकाली सन्धिमा 'कन्सल्ट' गरेका एेतिहासिक डिक्सनेरी हुन् वा बीचमा फेरिएका नयाँ हुन् थाहा पाउन सकेनौं।
ओली स्वयम् महाकाली सन्धिका पक्षधर थिए। भारतसँग उनको सम्बन्ध जोडिएको पनि त्यही सन्धिपछि हो। तर, उक्त सन्धिलाई लिएर उनको पार्टीमा विवाद बढ्दै गएर पछि पार्टी विभाजनसम्म भयो।
विपक्षी दलमा पनि दोस्रो, तेस्रो वरियतामा रहेका ओलीले महाकाली सन्धिमा दस्तखत गर्ने कुनै अवसर नै थिएन। तर, ओलीले देउवाले प्रयोग गरेकै डिक्सनेरीमा सही गरेका हुन् भने उनले कम्तीमा आफ्नो 'प्रिन्ट' त्यस्ता पुस्तकका पन्नामा छाडेका छन्, जुन पुस्तकहरु महाकाली सन्धिको बेलाको सकसपूर्ण समयका साक्षी हुन्।
तस्बिर: नेपाल साप्ताहिकमा प्रकाशित तस्बिरको सम्पादित रुप।