स्पेनिस लिगको नयाँ सत्रभन्दा अगाडि आइरिस क्लब सेल्टिकसँग मैत्रीपूर्ण खेल खेल्न बार्सिलोना बेलायत पुगेको छ। सेल्टिकसँगको खेल शनिबार डब्लिनको अभिभा रंगशालामा हुँदैछ। लिओनल मेसी र लुइस सुआरेजजस्ता स्टार खेलाडीको उपस्थितिमा बार्सिलोनाले सेन्ट जर्ज पार्कमा शुक्रबार अनौठो तयारी गर्यो।
यसै सातादेखि ब्राजिलमा रियो ओलम्पिक सुरु हुन लागेका कारण नेइमार भने अभ्यासमा उपस्थित भएनन्। उनी राष्ट्रिय टोलीबाट ओलम्पिकमा उत्रिदैछन्। तयारीका क्रममा प्लास्टिकको ठूलो बेलुनमा छिरेर सबैले अनौठो तयारी गरे। यसक्रममा सबैभन्दा बढी ठट्टा सुआरेजले गरे। ठूलो बेलुनभित्र रहेका सुआरेजले मैदानमा सबैलाई ठेल्दै ठट्टा गरेका थिए।
लुइस इन्रिकको टिमले यो पुरै साता इङ्ल्यान्डको सेन्ट जर्ज पार्कमा अभ्यास गरेर समय बिताउने छ। कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेसी लामो समयपछि मैदानमा देखा परेका थिए। उनले अभ्यास सत्रमा सुआरेजसँग रमाइलो गर्दै बिताए।
अभ्यासको भिडियो आफ्नो ट्विटरमा सेयर गरेका अर्जेन्टिनी डिफेन्डर जेभियर मास्चेरानोले लेखेका छन्– ‘वास्तवमै मजा आयो, हाहाहा!’ यसपालि पनि ला लिगा र च्याम्पियन्स लिग उपाधिको मुख्य लक्ष्यका साथ मैदानमा उत्रिने बार्सिलोनाको टिम निकै सन्तुलित मानिएको छ। मिडफिल्डरमा एन्रिक उपलब्ध हुनेछन्।
कप्तान आन्द्रेस इनिष्टासँग यसपालि इभान राकिटिक, सेर्गियो बुस्केट, आर्दा तरुन, सर्गी रोबर्ट्स र राफिन्हा मात्र होइन, आन्द्रे गोमेज, डेनिस सुआरोज, सामुअल उम्टिटी र लुकास डिग्ने पनि विकल्पको रूपमा रहनेछन्। गोमेजलाई ४ करोड ६० लाख स्टर्लिङ पाउन्डमा भेलेन्सियाबाट, उम्टिटीलाई २ करोड १० लाख पाउन्डमा लिओनबाट, सुआरेजलाई २७ लाख पाउन्डमा भिलारेल, डिग्नेलाई १ करोड ३८ लाख युरोमा पिएसजीबाट यसै सिजन बार्सिलोनाले किनेको थियो।