नौ वर्षअघि आफ्नी छोरी जुडो खेल्न पहिलोपल्ट म्याटमा ओर्लंदा सगरमाथामा भरियाको काम गर्ने दोर्जे ल्हामु खत्रीले आर्शिवाद दिएका थिए, ‘धेरै नाम कमाएस्। ओलम्पिक खेलेस्।’
तिनै हिमाली भरियाकी छोरी फुपु ल्हामु जोडतोडसाथ ओलम्पिकको तयारी गरिरहेकी छन्। उनी आउँदो साता ब्राजिलको रियोमा आयोजना हुने ओलम्पिकमा ‘वाइल्ड कार्ड’ मार्फत् सहभागी हुँदै छिन्।
ओलम्पिकमा कुनै पनि जुडो खेलाडीले भाग लिन लागेको यो पहिलो अवसर हो।
छ महिनाअघि भारतको गुवाहाटी र सिलोङको संयुक्त आयोजनामा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेपछि उनी चर्चामा आएकी हुन्। सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं सागमा जुडो खेलाडीले स्वर्ण जितेयता कुनै खेलाडीले यो पदक जित्न सकेको थिएन।
रियो ओलम्पिक खेल्न लागेका सात नेपाली खेलाडीमा फुपु एकमात्र यस्ती खेलाडी हुन्, जसले साग खेलमा स्वर्ण जितेकी छन्। उनी रियो ओलम्पिकमा सहभागी हुनुअघि ६ महिना अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को छात्रवृत्तिमा हंगेरी बसेकी थिइन्। त्यसैले उनीबाट नेपालले धेरै आशा गरेको छ।
रियो उड्नुअघि थप प्रशिक्षणका लागि महाराजगन्जस्थित प्रहरी प्रतिष्ठान तालिम केन्द्रमा भेटिएकी फुपु निकै उत्साही देखिन्थिन्। ‘बुवाले त्यतिबेला दिएको आर्शिवाद लागेजस्तो छ,’ नेपालकी पूर्व राष्ट्रिय खेलाडी देवु थापासँग प्रशिक्षणमा व्यस्त २१ वर्षीय फुपुले सेतोपाटीसँग भनिन्।
यसो भन्दाभन्दै उनी एकाएक गम्भीर भइन्। ओलम्पिक खेल्ने उत्साहमाथि बाबुबिनाको अधुरोपनले कालो बादल मडारिएजस्तो अनुभूति भयो, सायद।
ट्रेकिङ गाइडको काम गर्ने उनका बाबुको तीन वर्षअघि सगरमाथामा विदेशीहरू लैजाने क्रममा हिमपहिरोमा परी निधन भएको थियो।
‘बुवाले मलाई त्यतिबेला आर्शिवाद मात्र दिनुभएको थिएन, सपना पनि देखाउनुभएको थियो,’ बाबुको सम्झनाले कुराकानीका क्रममा भावुक बनेकी फुपुले भनिन्, ‘म बुवाकै सपना पछ्याउँदै यहाँसम्म आइपुगेकी हुँ।
‘ओलम्पिक खेल्ने क्षणमा म सबभन्दा बढी बुवालाई मिस गर्नेछु। मेरो गेम त उहाँ कहिल्यै हेर्न आउनुभएन। ‘म तेरो दुःख हेर्न सक्दिनँ छोरी’ भन्नुहुन्थ्यो। यसपालि पनि उहाँ हुनुभएको भए मेरो गेम हेर्नुहुन्थेन, मलाई थाहा छ। तर, म्याटमा मलाई परेको दुःख त बुझ्नुहुन्थ्यो नि, त्यो दुःख बुझ्ने बुवा अहिले हुनुहुन्न, यही अभाव सधैं खट्किरहनेछ मेरो मनमा,’ फुपुले मलिन अनुहार लाउँदै भनिन्।
***
फुपुका बाबु नयाँबजारमा होटल चलाउँथे। स्कुलको समयबाहेक उनको बाल्यकाल त्यही होटलमा बित्यो। त्यहीँ नजिकै तेक्वान्दो, कराँते, जुडो लगायत मार्सल आर्टको ट्रेनिङ सेन्टर थियो। उनी ‘म्याट’मा भिडिरहेका मार्सल आर्टका खेलाडी नियाल्थिन् र पछि साथीहरूसँग त्यही खेलाडीको नक्कल गर्थिन्।
कभर्ड हलनजिकै होटल भएकाले प्रशिक्षकहरू खाजा खान आउजाउ गरिरहन्थे। एकदिन मार्सल आर्टस्का प्रशिक्षक चन्द्र डंगोल उनको होटल आइपुगे। त्यतिबेला जुडोको राम्रै खेलाडीमा दरिइसकेकी लीला अधिकारी जुडो खेल्न कोरिया जाँदै थिइन्। डंगोलले लीलाको उदाहरण दिँदै फुपुका बाबुसँग भनेछन्, ‘यसलाई पनि जुडोमा भर्ना गरिदिनू। भोलि लीलाजस्तै बन्छे।’
फुपुका बुवा खेलप्रेमी थिए। उनलाई डंगोलको कुरा निकै जचेछ। भोलिपल्टै कभर्ड हलमा गएर छोरीलाई जुडोमा भर्ना गरिदिएछन्।
सानै छँदाको त्यो दृश्य फूफूको भित्री आँखाले अझै टड्कारै देख्छ। उनका बाबु खेलप्रेमी मात्र थिएनन्, हार र जीतको अर्थ पनि बुझ्थे। त्यसैले उनका बाबुले भर्नाका लागि रजिस्टरमा नाम चढाउनेबित्तिकै भनेका रहेछन्, ‘ओलम्पिकसम्म पुगेस्।’
‘वरिपरि भएकाहरूले चाहिँ ‘लौ छोरी मैदानमा छिर्नै पाको छैन, बाउले सपना देख्न थालिसक्यो’ भनेका थिए,’ फुपुले सम्झिइन्।
***
सुरुका दिन फुपुलाई खेल भनेको रमाइलो गर्ने माध्यम मात्र लाग्थ्यो। केटीभन्दा केटा साथीसँग बढी रमाउने फुपु उनै केटा साथीसँग रमाइलोका लागि मार्सल आटर््सको नक्कल गर्थिन्।
अहिले उनलाई आफूमा खेलाडी बन्न सक्ने गुण देखेरै बाबुले भर्ना गरिदिएजस्तो लाग्छ। ‘केटी भए पनि म केटाहरूसँग झगडा गर्थें,’ उनले भनिन्, ‘साथीहरूलाई विस्तारै धाप मार्दा पनि उनीहरू कस्तो साह्रो हात भन्थे।’
जुडो सिक्ने क्रममा उनी बेलुकीको प्रशिक्षण भ्याउन क्षेत्रपाटी स्कुलबाट नयाँबजारसम्म दौडेरै आउँथिन्। पुग्ने बेला जहिल्यै पाँच मिनेट ढिला हुन्थ्यो। गुरुहरूले कहिले पाँच सय पुसअप त कहिले पाँचसय सिटअप गर्ने सजाय दिन्थे। यही सजायको डरले प्रशिक्षणमै नगएका दिनहरू पनि छन्।
कठोर सजाय पाउँदा शरीरभन्दा बढी मन दुख्ने उनको भनाइ छ। त्यतिबेला गुरुहरूले भनेको उनलाई आज पनि प्रस्टै सम्झना छ, ‘यसलाई सजाय नसम्झ फुपु। तिमी माथि उठ भनेरै हामीले यसो गरेका हौं।’
बाबुले पनि यसरी नै सम्झाउँथे उनलाई।
प्रशिक्षणको चरण पार गर्दै जाँदा फुपु गम्भीर बन्दै गइन्। च्याम्पियनसिपमा भिड्न थालिन्।
पाँच वर्षअघि राजविराजमा आयोजना भएको राष्ट्रिय प्रतियोगिता उनको पहिलो ठूलो प्रतियोगिता थियो। त्यो प्रतियोगितामा उनले ६३ किलो र खुला गरी दुई स्पर्धामा स्वर्ण र रजत जित्दै ‘बेस्ट प्लेयर’को अवार्ड जितिन्। यो प्रतियोगितामा उनले आफ्ना दुई सिनियर खेलाडी रञ्जु राई र इन्दिरा राईलाई हराएकी थिइन्।
हाल दुबई प्रहरीमा आबद्ध रञ्जुले उनी ओलम्पिकका लागि छनोट भएको सुनेपछि फोनबाट बधाई दिने क्रममा भनिछिन्– ‘ओलम्पिकसम्म पुग्ने बलियो केटी रै’छौ र पो मलाई हराएकी रहेछौ!
***
फुपु अग्रजको आर्शिवाद र मेहनतले यहाँसम्म आइपुगेको बताउँछिन्।
‘मलाई सानैमा गुरूहरूले तिम्रो अनुहारमा डर भन्ने चिज नै देखिँदैन भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘मलाई आफूचाहिँ मेहनती भएकैले यहाँसम्म आइपुगेँजस्तो लाग्छ।’
उनलाई खेल जितेपछि सबभन्दा बढी खट्किने भनेको उनको बुवाको अभाव नै हो।
केही समयअघि साफ च्याम्पियनसिपमा स्वर्ण जित्दा त उनी पदक घोषणा हुनेबित्तिकै ‘बुवा–बुवा’ भन्दै घ्वाँघ्वाँ रुन थालिछन्।
प्रतिस्पर्धाका लागि म्याटमा ओर्लिनुअघि उनी आफ्ना बुवासहित परिवार, गुरू र आफ्नो इष्टदेवतालाई सम्झिने गर्थिन्। गत सागका क्रममा भने मनोविज्ञहरूले उनलाई एउटा सुझाव दिएछन्। नेपालको झन्डा फहराइरहेको, राष्ट्रिय गीत घन्किरहेको अनि आफ्नो हातमा स्वर्ण पदक भएको कल्पना गर्नु।
उनले त्यसै गरिन्।
र, स्वर्ण जितिन्।
यसपालि ओलम्पिकमा पनि उनी केही नौलो गर्ने अभियानमा छिन्। हेरौं उनको अभियानले कति सार्थकता पाउने हो?
‘म अहिलेसम्मकै बेस्ट देखाउने कोसिस गर्छु,’ उनले भनिन्, ‘मैले नजिते पनि ओलम्पिकसम्म पुग्ने मेरो बुबाको सपना पूरा भइसकेको छ। यो ओलम्पिक मेरो बुवाको लागि।'
तस्बिरहरू: नारायण महर्जन/ सेतोपाटी