मोरङको रमितेखोलामा पिकअप भ्यान भिरबाट खसेर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रमितेखोला–९ बस्ने २३ वर्षीय अर्जुन राईको न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा गएराति मृत्यु भएको छ।
यसअघि रमितेखोला–७ बस्ने १८ वर्षीय सिद्धी राईको घटनास्थलमा नै र इलाम साक्फारा–१ बस्ने १५ वर्षीय सन्दिप राईको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।
आइतबार राति दुर्घटनामा परेर घाइते भएका अन्य सात जनाको न्युरो अस्पतालमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक गङ्गाबहादुर राईले जानकारी दिए।
मोरङको टाँडीबाट रमितेबजारतर्फ जाँदै गरेको को १ ज १७५५ नम्बरको पिकअप भ्यान आइतबार राति रमितेखोला–२ स्थित भिरबाट ध्वाँसे खोलामा खस्दा दुर्घटना भएको थियो। पिकअप भ्यानका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ। रासस