पूर्व क्षेत्रमा भएको भारी वर्षासँगै सप्तकोसीमा पानीको बहाव उच्च भएको छ।
शनिबार साँझ कोसीमा पानीको बहाव दुई लाख ४२ हजार ७२५ क्युसेक पुगेको छ। पानीको बहाव बढेसँगै ३१ वटा ढोका खोलिएको छ।
पानी बढेसँगै राति बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ। कोसीमा पानीको बहाव डेढ लाख क्युसेक हुनेबित्तिकै रातो झन्डा फहराउने र बत्ती बाल्ने गरिन्छ।
कोसीमा गत आइतबार साँझ पनि पानीको बहाव दुई लाख नाघेको थियो। यो साता भर नै कोसीमा पानीको बहाव प्रायः डेढ लाख क्युसेकभन्दा बढी छ।
५० वर्ष आयु भनिएको कोसी ब्यारेज बनेको ५० वर्ष नाघिसक्दा पनि सामान्य मर्मत मात्र हुनु, सवारी साधनको अत्यधिक चाप हुनु तथा ब्यारेजको माथिल्लो सतहमा बालुवा थुप्रनुले कोसी तटबन्ध र ब्यारेज जोखिममा रहेको मानिन्छ।
ब्यारेजमा पानीको सतह बढ्नासाथ ब्यारेज छेउछाउका बासिन्दाहरू बाँध फुट्ने डरले त्रसित हुने गरेका छन्।