संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनको बैठक विना निर्णय टुंगिएको छ।
मोर्चामा आवद्ध तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीका शिर्ष नेताहरु अनुपस्थित भएपछि गठबन्धनको आइतबार ललितपुरमा बसेको ६ घण्टा लामो बैठक विना निर्णय टुंगिएको हो।
एक महिनाभन्दा लामो रिले अनसन सकिएको पर्सिपल्ट गठबन्धनले आन्दोलनका भावी कार्यक्रमबारे छलफलका लागि आइतबार बैठक बोलाएको थियो। बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव अनुपस्थित थिए।
तीन दलका शीर्ष नेता अनुपस्थित भएपछि बैठकले कुनै निर्णय नगरेको गठबन्धनमा आवद्ध दलका नेताहरुले बताएका छन्। यद्यपि, गठबन्धनका संयोजक उपेन्द्र यादवले भने रिले अनसन लगायत विगतमा भएका आन्दोलनको समीक्षा गर्ने क्रम नसकिएकाले बैठक अनिर्णित भएको बताए। उनले सोमबार बस्ने बैठकले आन्दोलनका भावी कार्यक्रम तय गर्ने बताए।
नेकपा माओवादी केन्द्र सरकारबाट वाहिरिएर नयाँ सरकार गठनको कसरत सुरु भएको अवस्थामा गठबन्धन कुन कित्तामा उभिने भन्ने विषयमा सबै दलको एकमत नआएपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।