फ्रान्सको नाइस सरहमा अवस्थित एक रिसोर्टमा शुक्रबार बिहान भएको बन्दुक आक्रमणमा परी मारिने व्यक्तिको सङ्ख्या ८० पुगेको छ ।
एकजना बन्दुकधारीले नागरिकहरुले महोत्सव गरिरहेको स्थानमा ट्रक छिराई ट्रकभित्रैबाट बन्दुकले हमला गरेको थियो । सो आक्रमणमा परी कम्तीमा पनि ८० व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।
फ्रान्सका राष्ट्रपति फासाँ ओलान्दले फ्रान्सको बास्टिल डे अर्थात राष्ट्रिय दिवसको दिनमा सो आतङ्ककारी आक्रमण भएको बताएका छन्। राष्ट्रिय दिवस मनाउन जम्मा भएको भीडलाई लक्ष्यगरी सो आक्रमण भएको बताइएको छ ।
यस आक्रमणमा परी कम्तीमा ८० जनाको मृत्यु भएको छ भने अन्य १८ जनाको अवस्था गम्भीर रहेको फ्रान्सेली गृहमन्त्री बार्नार्ड क्याजेनुउभेले बताए।
राष्ट्रपति फासाँ ओलान्दका अनुसार यस आक्रमणमा मारिएकामा कैयौँ बालबालिका रहेका छन् । मारिनेको पहिचान हुन सकेको छैन ।
फ्रान्समा तीन महिना सङ्कटकालको घोषणा भएको जानकारी राष्ट्रपति ओलन्दले जानकारी दिएक छन्।
फ्रान्सको राजधानी पेरिसमा आठ महिना अगाडि भएको आतङ्ककारी आक्रमणमा १३० व्यक्तिको मृत्यु भएपछि यहाँ संङ्कटकालको घोषणा गरिएको थियो । राष्ट्रपतिले यस सङ्कटकालको समय थप गरेका हुन्।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले यस आक्रमणको निन्दा गर्दै यसलाई ठूलो आतङ्ककारी हमलाको संज्ञा दिएका छन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले नाइस सहरमा भएको यस आतङ्ककारी आक्रमणको निन्दा गरेको छ ।