महाराजगञ्जस्थित आफ्नो पुरानो निवासमा कांग्रेस महामन्त्री शशांक कोइराला मंगलबार आएनन्। कार्यकर्ता र शुभचिन्तक उनी कतिबेला आउलान् भनेर बाटो हेरेर बसे। दिउँसोसम्म नआएपछि फर्के।
कार्यकर्ता तथा शुभचिन्तक भेट्न कोइराला जहिल्यै पुरानो निवास जान्थे। शशांक निवासमा म ८ बजे बिहानै पुगेको थिएँ।
शशांक निवासमा सधैं बिहान ८-९ बजेको बीचमा भतिजा सिद्धार्थ कोइराला पनि पुग्छन्। सिद्धार्थ त्यसदिन साढे ८ बजे पुगेका थिए। उनी र म त्यहाँ भेट्ने पूर्वसल्लाह थियो। जुन दिन भेट्ने कुरा हुन्थ्यो, उनले शशांक निवास बोलाउँथे।
सिद्धार्थ र म बीच कुराकानी चलेको केही बेरपछि कार्यकर्ताहरूआउन थाले।
ढोका ठेलेर ‘शशांक दाइ हुनुहुन्न?’, ‘आइपुग्नुभएन?’, ‘यहीँ आउनु भन्नुभएको थियो’ यस्तै-यस्तै सोधिरहेका थिए। कोही शशांकलाई नदेखेर फर्के, कसैलाई सिद्धार्थले अल्मल्याए।
‘भन्नुस्, आउनुस्, बस्नुस्,’ सिद्धार्थ उनीहरूलाई रोक्दै भन्दैथिए, ‘मुन्दा आउनुहुन्छ।’
कान्छा छोरा भएका कारण शशांक सबैका प्रिय थिए। उनलाई सानैदेखि ‘मुन्नु’ भनिन्थो। ‘मुन्नु’ भन्दाभन्दै उनलाई ‘मुन्दा’ भन्न थालियो।
आफू पनि कांग्रेस राजनीतिमा अगाडि बढिरहेका कारण सिद्धार्थ नियमित शशांक निवास जान थालेका हुन्। त्यहाँ आएका कार्यकर्ता शुभचिन्तकसँग साक्षात्कार गर्थे। पार्टी राजनीतिको हालचाल र संगठनको स्थितिबारे गफगाफ गरेर बिहानको समय बिताउँथे।
शशांकका सहयोगी भरत तिवारीसँग कतिपय कार्यकर्ता अल्मलिए। त्यही सेरोफेरोमा रसुवाबाट कांग्रेस जिल्ला सदस्य लक्ष्मण देवकोटा आइपुगे शशांकलाई खोज्दै। उनी हामीसँगै बसेर गफ गर्न थाले।
महामन्त्रीको निवासमा पार्टी राजनीतिकै विषयमा बढी कुराकानी हुनु अनौठो थिएन।
‘जिल्ला जिल्लामा हाम्रो संगठन सुधार्नुपर्ने आवश्यकता छ, कुरा आइरहेका छन्, मुन्दा पनि चिन्तित हुनुहुन्छ,’ सिद्धार्थले भनेका थिए।
कतिपयले सचिवालय व्यवस्थित भएन भन्दै गुनासो पनि गरिरहेकै थिए। शशांक आउन क्रमशः ढिलो हुँदै गएको थियो। ‘मुन्दा किन आउनुभएन?’, ‘यति ढिलो गर्ने मान्छे त हैन’ भने पनि कसैले उनलाई फोन भने गरेनन्।
अढाइ घन्टापछि म निस्किएँ। उनीहरू बसिरहेकै थिए।
बुधबार शशांकको स्वास्थ्यस्थिति एकदमै गम्भीर रहेका बेला उनै लक्ष्मण ओम अस्पतालको प्राङ्गणमा भेटिए। शशांकको स्वास्थ्य अवस्था स्थिति के छ? उनको अनुहारमा जिज्ञासा दौडिइरहेको थियो।
मैले उनीसँग थोरै कुराकानी गर्ने मौका जुटाएँ।
‘हिजो कतिबेर बस्नुभयो?,’ सोधें।
‘दिउँसो १ बजेसम्म,’ लक्ष्मणले भने, ‘तर मुन्दा आउनुभएन।’
सिद्धार्थ र लक्ष्मण दुबै १ बजे शशांक निवासबाट निस्किएका थिए। बेलुका अचानक बिरामी भएको खबर आयो। बिहानसम्ममा त स्वास्थ्यस्थिति गम्भीर रहेको सुनेपछि लक्ष्मण दौडिएर ओम अस्पताल पुगेका थिए।
‘हिजोमात्र भेट्ने कुरा गरेको, फोनमा उहाँले भेटौं है भनेपछि म आएँ,’ लक्ष्मणले दुःख मान्दै भने, ‘आजै यस्तो हुनुपर्ने।’
५८ वर्षीय कोइराला सास फेर्न कठिन भएपछि मंगलबार राति साढे ८ बजे ओम अस्पताल भर्ना भएका थिए। बुधबार बिहान ५:३० मा उनको अवस्था गम्भीर हुँदै चिन्ताजनक अवस्थामा पुग्यो।
देशभरि राम्रो पकड बनाएर भावी नेतृत्व लिन सधैं सुझाउँथे शशांकलाई सिद्धार्थ।
‘महामन्त्री भएपछि उहाँ सधैं संगठन कसरी राम्रो बनाउने भनेर सोचिरहनु हुन्थ्यो,’ सिद्धार्थ भन्छन्।
अचानक उनी बिरामी परेपछि र ‘यसै भन्न नसकिने’ डाक्टरको भनाइपछि निराश अनुहार लिएर उनी दिउँसो ३ बजेतिर ओम अस्पतालबाट केहीछिन बाहिरिएका थिए।
‘एकदमै कम सम्भावना छ,’ सिद्धार्थले भनेका थिए, ‘उहाँको स्वास्थ्यमा सुधार आओस् भनेर प्रार्थना गरौं।’ शशांकको स्वास्थ्यस्थिति बुझेपछि नेतृ सुजाता पनि सुधार हुँदैछ भन्दै रुँदै फर्किएकी थिइन्।
शशांकले बिहान बमिट गरेका थिए। उपचारमा संलग्न डाक्टर लवनरसिंह जोशीका अनुसार त्यही बमिटको एसिड र कमिकल फोक्सोमा पुगेपछि निमोनिया भयो र उनी अचेत ढलिरहे। भेन्टिलेटरमा राखेर उनको स्वास्थ्यस्थिति सुधार गर्न डाक्टरले धेरै मेहनत गरिरहे।
बमिट भएपछि कोइरालाको स्वासप्रश्वास बन्द भएको थियो, मुटु चल्न छोडेको थियो। डाक्टरले तत्कालै भेन्टिलेटरमा राखेर कृत्रिम स्वासप्रश्वास गराए। मुटुलाई पुरानै अवस्थामा फर्काउने प्रयास गरे।
दिउँसो तीन बजेसम्ममा कोइरालाको ब्लडप्रेसर १००/५० थियो। इसिजी सामान्य थियो। तर कलेजो र मिर्गौलामा असर परिसकेको थियो। पछिल्लो स्वास्थ्य जानकारीमा डाक्टर जोशीले कोइरालाको अवस्था ‘गम्भीर, स्थिर र प्रगति हुन नसकेको’ बताएका थिए। फोक्सोमा निमोनिया भएकाले इन्फेक्सन हटाउन ‘चेस्ट ट्युब’ राखिएको थियो।
उनको स्वास्थ्यमा सुधार आउनु ‘मिराकल’ जस्तै थियो।
डाक्टरहरूको भनाइले यस्तै संकेत गर्थ्यो। डाक्टरले ४८ घन्टासम्म भेन्टिलेटर राखेपछि ‘संकेत देखिन सक्ने’ बताएका थिए। त्यो संकेत जे पनि हुनसक्थ्यो।
बिहीबार बिहान खबर आयो - केही सुधारको संकेत देखियो। उनले आँखा हेरे, मान्छे चिने र आँशु झारेको कुरा पारिवारिक स्रोतबाटै आयो। यद्यपि, डाक्टरले भेन्टिलेटर बाहिर ननिकालेसम्म स्थिति खतरामुक्त भन्न नसकिने किसिमको भनाइ सार्वजनिक गरे।
त्यहीबीचमा मैले सिद्धार्थलाई फोन गरेको थिएँ। उनी आफू छिरेका रहेनछन्।
तर शशांकको स्वास्थ्यस्थितिको छिनछिनको जानकारी उनी राखिरहेका हुन्थे।
सिद्धार्थका अनुसार बिहीबार बिहान काकी सुपात्रा (शशांक पत्नी) छिरेकी थिइन्। त्यसबेला शशांकले आँखा खोलेका थिए। आँशु झारेका थिए र शरीर चलाउन खोजेका थिए।
‘स्वास्थ्यस्थिति सुधार छ भन्ने खबर काकीले दिनुभएको छ,’ सिद्धार्थले भनेका थिए।
शशांकको स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएको भन्ने खबरपछि म दिउँसो ओम अस्पताल पुगेँ।
कार्यकर्ता भरिभराउ थिए। सबै स्वास्थ्य सुध्रेकोमा खुसी थिए। तर भेन्टिलेटर बाहिर ननिकालेसम्म अवस्था गम्भीरै मानिने डाक्टरको भनाइले धेरैलाई के-कसो होला चिन्ता थियो। डेढ घन्टा लामो बसाइमा केही पनि आधिकारिक जानकारी पाउन नसकेपछि अफिस फर्किने सोच बनाएँ। मोटरसाइकल राखेको पार्किङतिर अगाडि बढेँ। ३ बजेर ८ मिनेट गएको थियो।
पत्रकार भएका कारण मनमा कौतुहलता नदौडिने कुरै भएन। यति लामो बसाइमा मैले डा. शेखर कोइरालालाई दुई पटक फोन गरेको थिएँ। तर फोन उठेको थिएन।
मैले मनमनै आफैंलाई प्रश्न तेस्र्याएँ, ‘यति टाढा आएर यत्रोबेर बसेपछि केही जानकारी नलिई फर्किने?’
‘एकपटक सिद्धार्थ कोइरालालाई फोन गर्छु। के जानकारी आउँछ त्यसपछि फर्किने,’ निर्णय गरेँ।
फोन गरेँ। फोन उठ्यो।
मैले खासै केही भन्न नपाई सिद्धार्थले भने, ‘भाइ, स्वास्थ्य एकदमै सुध्रिएर आयो, भेन्टिलेटरबाट मुन्दालाई निकालियो।’
यो सन्देश प्राप्त भएपछि मैले उनलाई तुरून्तै भेटिहाल्ने सर्त राखेँ। उनले अस्पताल परिसरमा बोलाए। म पार्किङबाट त्यतै फर्किएँ।
भेट भयो। उनी खुसी थिए।
‘राम्रो भयो,’ हल्का मुस्कानसहित उनले भने। म पनि थोरै मुस्कुराएँ।
भेटको साधारण रीतिथिती पूरा गरेपछि उनले थप स्पष्ट तरिकाले बुझाए। सुपात्राले सिद्धार्थलाई म्यासेज पनि गरेकी रहिछन्। त्यो देखाए। म्यासेजमा ‘भर्खरै भेन्टिलेटरबाट बाहिर निकाल्यौं, धेरै नै इन्प्रुभ छ’ भन्ने खबर थियो। त्यति भएपछि मैले अफिसमा तुरुन्तै फोन गरेर ब्रेकिङ न्युज टिपाएँ।
शशांक आफैं स्वास लिन सक्दैनथे त्यसैले भेन्टिलेटरबाट स्वासप्रश्वास गराइएको थियो। सिद्धार्थका अनुसार बिहानदेखि उनको स्वासप्रश्वास समस्या कम हुँदै गएको थियो। उनले आफैं स्वास लिनसक्ने लक्षणमा डाक्टर विश्वस्त भइसकेपछि भेन्टिलेटरबाट बाहिर निकालिएको थियो।
सिद्धार्थसँग कुराकानीकै क्रममा डा. शेखर कोइराला हँसिलो अनुहार लिएर अस्पतालभित्रबाट निस्किए। उनको अनुहारले सकारात्मक सूचना दिँदैथ्यो। अस्पतालमै रहेकी मृदुला कोइराला साथीसंगीसँग खुसी साट्दै थिइन्।
धेरैले भनेजस्तै बिहीबार ‘मिराकल’ भएको थियो। अब शशांक खतरामुक्त छन्।
कोइराला फागुन २५ गते कांग्रेस महामन्त्री निर्वाचित भएका थिए। शुभचिन्तक, कार्यकर्ताले उनलाई भावी पार्टी सभापति देख्न चाहन्थे। यसै पनि कांग्रेसमा कोइराला परिवारको अस्तित्व खोजिने गरेको छ। त्यो बिरासत समात्दै नेपाली कांग्रेस हाँक्ने सर्वोच्च निकायमा शशांकलाई देख्ने चाहना बोकेका आम कांग्रेस कार्यकर्ता दुई दिनसम्म यही सन्देश सुन्न पर्खिरहेका थिए। धेरैले स्वास्थ्यलाभका लागि प्रार्थना गरे। अस्पताल परिसरमै बीपी र शशांकको फोटो राखिएको एउटा पोस्टर टाँगिएको थियो।
नेपाली कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशनबाट कोइराला महामन्त्री पदमा १४१७ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १०१७ मत ल्याएका थिए।
सुशील कोइराला बितेपछि कोइराला परिवारको बिरासत कसले धान्ला भन्ने चिन्ता कांग्रेसजनमा थियो। कोइराला परिवारबाट उनलाई कांग्रेसको भावी नेतृत्वसमेत दाबी गर्दै कार्यकर्ताले रोजे।
एउटै प्यानलबाट उठेका रामचन्द्र पौडेलले धेरै कम मत ल्याएर सभापतिमा हारे। महामन्त्री उठेका शशांक भने कांग्रेस कार्यकर्ताको लोकप्रिय मत ल्याएर जिते।
बीपीको छत्रछायाँमा हुर्केका र कांग्रेस राजनीतिलाई बुझेका शशांक नेपालमा गणतन्त्र स्थापना हुँदा त्यसको विपक्षमा देखिएका थिए। धर्म निरपेक्षताको विरोधमा उनी खुलेरै हिँडे पनि। शशांक बाबु बीपीको राजनीतिक विचारधारालाई पछ्याउने नेताको रुपमा चिनिन्छन्।
बीपी कोइरालाका कान्छा छोरा कोइरालाको जन्म अक्टोबर २४ सन् १९५८ मा भएको थियो। बीपी भारत निर्वासनमा जाँदा उनी डेढ वर्षका थिए। बीपी र आमा सुशीलाले उनलाई सँगै लिएर गएका थिए।
शशांक उतै बसे। भारतको पटनास्थित सेन्ट जेभियर्स स्कुलमा पढे। बीचमा केही वर्ष दिल्लीमा बसेर पनि पढे। कक्षा ८ देखि ११ सम्म उनले दार्जीलिङमा पढे।
फेरि पटना फर्किए। बीएस्सी, एमबीबीएस र आँखा रोगमा पोस्ट ग्राजुएट गरे। २०४३ सालतिर नेपाल फर्किएर उनी टिचिङ अस्पतालमा काम गर्न थालेका थिए।
उनी आँखाका राम्रा डाक्टर हुन्।
कोइराला परिवारमा जन्मेहुर्केको मान्छे कांग्रेसको सदस्य बन्न अधिकारै लाग्छ। शशांक विद्यार्थी जीवनदेखि नै कांग्रेसमा लागेका थिए। २०४६ सालको आन्दोलनबाट शशांक राजनीतिमा बढी सक्रिय हुन थालेका थिए।
२०४६ सालको जनआन्दोलनमा उनी चिकित्सकको रुपमा सक्रिय सहभागी थिए। उनको नेतृत्वमा टिचिङ अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिए। त्यहीबेला उनी पहिलोपल्ट हिरासत परे।
पार्टीमा पूरा सक्रिय भएको दसौं महाधिवेशनबाट हो। उनी दसौं महाधिवेशनदेखि लगातार केन्द्रीय सदस्य निर्वाचित थिए।