पोखरामा एक महिलाले ५ किलो ७ सय ५० ग्राम तौल भएको शिशु जन्माएकी छिन्। स्याङ्जा एलादी १ घर भई पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीया लक्ष्मी गुरुङले शनिबार ५.७५ किलोग्रामको छोरा जन्माएकी हुन्।
रानीपौवास्थित साइ अर्चना हस्पिटलमा शल्यक्रिया गरी निकालिएको शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको चिकित्सकले बताएका छन्। लक्ष्मीका श्रीमान् होमबहादुर गुरुङका अनुसार उनीहरूको यो दोस्रो सन्तान हो।
धेरै तौल भएको शिशु जन्मिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शिशुलाई अहिले एनआइसियुमा राखिएको अस्पतालका बालरोग विषेशज्ञ डाक्टर यज्ञराज सिग्देलले जानकारी दिए। उनले धेरै तौल भएको बच्चा जन्मिएको नेपालमा सम्भवतः यो पहिलो भएको दाबी गरे।
आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अर्का डा. रामचन्द्र बाँस्तोलाले जानकारी दिए। ‘मैलै थाहा पाएसम्म नेपालमा हालसम्म यतिधेरै तौल भएको बच्चा जन्मिएको छैन,’ बाँस्तोलाले भने। विगत तीन वर्षदेखि पोखरामा बस्दै आएका होमबहादुर र लक्ष्मीको दुई वर्षकी छोरी पनि छिन्। होमबहादुरले पोखरामा ट्याक्सी चलाउँदै आएका छन्। एक महिनाअघि भारतमा ६ किलो ८ सय ग्रामको बच्चा जन्मिएको थियो।