इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सहायक प्रशिक्षक रायन गिग्सले क्लब छाडेका छन्। २९ वर्षदेखि म्यानचेस्टर युनाइटेमा आवद्द गिग्सले सहमतिमा क्लब छाडेको म्यानचेस्टर युनाइटेडले जनाएको छ।
म्यानचेस्टर युनाइटेडले गिग्ले क्लब छाडेको औपचारिक जानकारी दिन आयोजित कार्यक्रममा गिग्सले भने ‘अब के गर्ने भन्ने तत्काल योजना नबनाएको भएपनि यो उचित समय जस्तो लाग्यो । अब नयाँ अध्यायको समय हो । नयाँ चुनौती सामना गर्न तयार छु । म भविष्यका लागि उत्साहित छु ।’
४२ वर्षका गिग्सको क्लबसँगको सम्झौता कायम थियो तर नयाँ प्रशिक्षक जोसे मोरिन्होले सहायक प्रशिक्षकको भूमिकामा लामो समयदेखिका साथी रुइ फारियालाई लिन चाहेपछि गिग्सले छाडेका हुन्।
गिग्सले म्यानचेस्टर युनाइटेडबाट ९ सय ६३ खेलमा आफ्नो भूमिका खेलेका छन्। १७ वर्षको उमेरमा सन् १९९० को नोभेम्बरबाट व्यवसायिक फुटबल सुरु गरेका उनले सन् १९९१ को मार्च दुईमा एर्भटन विरुद्धको खेलबाट डेब्यु गरेका थिए। उनले खेलाडीका रुपमा कीर्तिमानी १३ पटक लिग उपाधि, दुई वटा युरोपियन कप, चार एफए कप र चार लिग कपको उपाधि जितेका छन्।
उनलाई सन् २०१४ मा लुइस भान गालले सहायक प्रशिक्षकमा नियुक्त गरेका थिए।