नेपाल मेडिकल काउन्सिलका एक सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा गरेको हस्तक्षेपमा काउन्सिलको संलग्नतामाथि प्रश्न उठाएका छन्।
आयोगले परीक्षा परीक्षण गर्न मेडिकल काउन्सिललाई निर्देशन दिएको भन्दै विज्ञप्ति जारी गरेपछि सदस्य डा. अञ्जनीकुमार झाले केयुको परीक्षा हस्तक्षेपमा मेडिकल काउन्सिल संलग्न भएको विषयमा अनभिज्ञता व्यक्त गरेका हुन्।
‘काउन्सिलले केयुले लिएको परीक्षामा हस्तक्षेप गरेको हो कि हैन मैले यही कुरा अध्यक्षजीलाई सोधिरहेको छु, उहाँले भन्न मान्नुभएको छैन,’ झाले सेतोपाटीसँग भने, ‘कुन नियम अनुसार गएको हो केयु, उहाँले काउन्सिलमा पनि यो कुराको जानकारी दिनुभएको छैन।’
उनका अनुसार सदस्य भएको नाताले थाहा हुनुपर्ने हो, यस्तो विषयमा कुनै काम अगाडि बढाउँदा सरसल्लाह हुनुपर्ने हो। ‘मेडिकल काउन्सिलले हस्तक्षेप गरेको भए काउन्सिलको तर्फबाट को मानिस मानिस संग्लग्न भयो, अख्तियारबाट निर्देशन भएको हो कि हैन मैले यही कुरा उहाँलाई सोधेको हुँ,’ उनले भने, ‘अख्तियारले चिठी दिएको पनि थाहा छैन।’
अध्यक्ष धर्मकान्त बास्तोलाले परीक्षाबारे अख्तियारबाट आएको निर्देशन र परीक्षा हस्तक्षेपमा काउन्सिलको संलग्नताबारे सोध्दा बताउन मानेनन्। सेतोपाटीबाट फोन गरेको भन्नेवित्तिकै उनले भने, ‘केयुको परीक्षाको विषयमा सोध्न खोज्नुभएको होला, यसमा मेरो केही भन्नु छैन।’
वरिष्ठ चिकित्सक गोविन्द केसीले काठमाडौं विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्षेत्रबाहिर गएर हस्तक्षेप गरेको बताएपछि आयोगले उक्त अभिव्यक्तिको खण्डन गरेको थियो।
आइतबार केसीले प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै केयुको प्रवेश परीक्षामा नांगो हस्तक्षेप गरेको बताएपछि आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जहाँसम्म काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा हस्तक्षेप गरेको भन्ने आक्षेपको प्रश्न छ, सो विषयमा सरोकारवालाहरूको असीमित उजुरीपछि आयोगले सम्बद्ध नियामक निकाय मेडिकल काउन्सिललाई परीक्षाको निष्पक्षता परीक्षणका निम्ति निर्देशन दिएको हो।’
काठमाडौं विश्वविद्यालयले जेठ १५ गते बिहीबार लिन लागेको मेडिकल साइन्स पोस्ट ग्राजुएट (पिजी) परीक्षाको प्रश्नपत्र रद्ध गराउन अख्तियारको हवाला दिँदै प्रहरीसहित पचास जनाको टोली केयु पुगेको थियो। ‘विज्ञ’हरू भनी अख्तियार आफैंले लिएर गएको चिकित्सकको टोलीबाट प्रश्नपत्र बनाएको थियो। शनिबार विहान जाँच लिएपछि मात्र उक्त टोली फर्केको थियो।
केयु स्रोतका अनुसार काउन्सिल सदस्यसहित गएको टोलीले आधिकारिक चिठ्ठी भने दिएको थिएन। टोलीले ‘प्रश्नपत्र बिक्री भएको’ दाबी गर्दै नयाँ प्रश्नपत्र बनाएर आफ्नै रोहवरमा परीक्षा गराएको थियो। आधिकारिताबिनै प्रमुख आयुक्त कार्की र आयुक्तहरूको हवाला दिएर बन्दुकसहितका प्रहरीको पचासौं जना पुगेपछि केयुका अधिकारी नै त्रसित भएका थिए।
केयु स्रोतका अनुसार प्रश्न पत्र बिक्री भएको आरोप लगाउँदै अख्तियार विश्वविद्यालय पुगेको बेला प्रश्नपत्र बनिसकेकै थिएन। ‘हामी प्रश्न तयार गरिरहेका थियौं, शुक्रबार बेलुकासम्ममा सक्ने अन्तिम गर्ने तयारी हुँदैथियो,’ केयु स्रोतले भन्यो, ‘उहाँहरू बिहीबार नै आउनुभयो र आफैं प्रश्नपत्र बनाएर परीक्षा गराउनुभयो।’
केयुका एक अधिकारीका अनुसार अहिलेसम्म इमानदारपूर्वकै परीक्षा सञ्चालन भइरहेको थियो। यसपल्ट आयोग आएर गुनासो रहेको दावी गर्दै ‘विज्ञ’ टोली ल्याएर ‘हामी प्रश्नपत्र बनाउँछौं’ भनेपछि सहयोग नै गरेको ती अधिकारीले बताए।
‘कम्प्लेन छ, हामी प्रश्नपत्र बनाउँछौं भनेर टोलीसहित आएपछि हामीले केही भन्नसक्ने अवस्था रहेन,’ ती अधिकारीले भने, ‘कार्यक्षेत्रबाहिरै भए पनि कम्प्लेन छ भनेपछि बोल्न सकिएन।’
त्यो ‘विज्ञ टोली’मा मेडिकल काउन्सिलका शिक्षा समिति संयोजक डा. सुप्रभात श्रेष्ठ, काउन्सिलका पूर्व उपाध्यक्ष डा. नीलमणि उपाध्याय, प्रहरी अस्पतालका डा. सरोज श्रेष्ठ, किस्ट मेडिकल कलेजका ऋषिकेषनारायण श्रेष्ठ, टिचिङ्ग अस्पताल महाराजगञ्जका डा. शशी शर्मा, डा. सुबोध अधिकारी र डा. राजन क्षेत्री थिए। ‘विज्ञ टोली’का सदस्य अख्तियार आफैंले छानेको थाहा भएको छ।
विश्वविद्यालयको धुलिखेलस्थित मेडिकल कलेज र सम्बन्धप्राप्त कलेजहरूमा भर्नाका लागि आवेदन दिने र प्रवेश परीक्षामा सामेल हुने १५४५ क्लिनिकल साइन्सेज, १७४ जना बेसिक साइन्सेज र ६२ जना एमडिएस विद्यार्थी थिए।
वरिष्ठ चिकित्सक केसीले केयुमा लोकमानले आफ्नो निहित स्वार्थका लागि भ्रष्ट व्यक्तिहरू खटाएर दादागिरी गरेको बताएका छन्। ‘अहिले केयुका कोही पनि व्यक्ति यो विषयमा बोल्दैनन्, बोल्यो भने लोकमानले पक्रिन्छ भन्ने डर देखाइएको छ,’ केसीले भने।