भकाञ्जे–६ सोलुखुम्बुका भीमबहादुर बस्नेतले ७२ वर्षको उमेरमा ‘क’ वर्गको अपाङ्गता परिचयपत्र लिए।
सानैदेखि ढाडमा समस्या भएर हिँडडुल गर्न नसके पनि अहिलेसम्म बस्नेतले अपाङ्गता परिचयपत्र बनाएका थिएनन्। भौगोलिक विकटताका कारण सदरमुकामसम्म जान नसक्नुभएका बस्नेतलाई प्रमुख जिल्ला अधिकारी र महिला विकास अधिकृतसहितको टोली उनको घरमा नै पुगेर बस्नेतलाई परिचयपत्र बनाइदिएको हो।
टाक्सिन्दु–१ की विवालक्ष्मी राईले पनि ७१ वर्षको उमेरमा घरमै अपाङ्गता परिचयपत्र लिएकी छिन्। पटक पटक परिचयपत्र बनाउन पहल भएपनि परिचयपत्र लिनका लागि सदरमुकाम नै पुग्नुपर्ने बाध्यताका कारण हालसम्म उनले परिचयपत्र लिन सकेकी थिइनन्। तर एकीकृत घुम्ती शिविर टोली गाउँमा नै पुगेपछि उनले परिचयपत्र लिएकी हुन्।
गतबर्ष माघदेखि जेठ महिनाको अवधिमा जिल्लाका ६ वटा विकट स्थानमा सञ्चालन भएका घुम्ती शिविरबाट राई र बस्नेतजस्ता १२५ जनाले अपाङ्गता परिचयपत्र लिएको बालबालिका तथा महिला विकास कार्यालयका महिला विकास अधिकृत सावित्रा न्यौपानेले बताइन्।
'अपाङ्गता भएका नागरिकहरु परिचयपत्र लिनका लागि सदरमुकामसम्म आउन नसक्ने र कर्मचारीहरुको नागरिकप्रतिको उत्तरदायित्वलाई मध्यनजर गरी सञ्चालन भएको एकीकृत घुम्ती शिविरबाट सेवा लिएका हुन्,' उनले भने।
महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कअनुसार गतबर्ष माघदेखि जेठको अवधिमा जिल्लाका विभिन्न छ स्थानमा सञ्चालित शिविरबाट ‘क’ वर्गको २५, ‘ख’ वर्गको ५९, ‘ग’ वर्गको २३ र ‘घ’ वर्गको १८ गरी एक सय २५ जनाले परिचयपत्र बनाएका छन्।
उनीहरु सदरमुकाम पुग्न पहुँच नहुँदा परिचयपत्रविहीन थिए। सो अवधिमा कार्यालयबाट भने ‘क’ वर्गको चार, ‘ख’ वर्गको १३, ‘ग’ वर्गको छ र ‘घ’ वर्गको एक गरी २४ जनाले परिचयपत्र बनाएका बालबालिका तथा महिला विकास कार्यालय सोलुखुम्बुले जनाएको छ।
जिल्लाका विभिन्न स्थानमा धेरै नागरिक विभिन्न कारणले सरकारी सेवा लिनबाट वञ्चित रहेकाले अब असोजदेखि पुनः निरन्तर रुपमा विकट गाविसमा शिविर सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।
'वर्षातको समय भएकाले असारदेखि भदौसम्म शिविर सञ्चालन हुँदैन । असोजदेखि बाँकी रहेका गाविसमा निरन्तर शिविर सञ्चालन गरिने कार्यक्रम रहेको छ,' उनले भने।
सदरमुकाम गएर पाइने सबै प्रकारका सेवा गाउँमा नै पाउन थालेपछि स्थानीयवासी निकै खुसी भएका छन्। जिल्लाका छ वटा स्थानमा शिविर सञ्चालन हुँदा धेरैले वृद्धावस्थामा नागरिकता, अपाङ्गता परिचयपत्र पाएका छन् भने गोली–४ मैलीका एक सय छ घरपरिवारले २९ वर्षपछि जग्गाको धनीपुर्जा पाएका छन्। रासस