वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाको ‘बर्न’ बेडमा चार जना युवा छट्पटाइरहेका छन्। अनुहार, जीउ, हात खुट्टा लगायत शरीरका धेरै भाग डढेको छ।
अस्पताल भर्ना भएको पन्ध्र दिन भइसक्यो। राम्ररी बस्न सक्दैनन्, बेडमा सुत्न गाह्रो हुन्छ। डढेको भागमा हल्का छाला पलाउन थालेको छ तर चर्रर पोल्न छाडेको छैन।
राकेश र लक्ष्मीकुमार अलि ठिक भएका छन्। रोहित र उमेश कुमारलाई ठिक हुन अझै समय लाग्ने डाक्टरले बताएका छन्।
भारत, बिहार राज्यको मोतीहारी घर भएका यी चारले आफ्ना सहकर्मी साथी पनि गुमाए। सडकमा पानीपुरी बेच्न हिँड्दा सँगै हुने विभु कुमारको अस्पताल पुगेकै दिन मृत्यु भयो।
पानीपुरी बनाउँदा, बेच्दा उनीहरू सँगै हुन्थे। कालिमाटी कोठा पुग्दा पनि। एउटै घरमा कोठा लिएर बस्थे उनीहरू। चारमध्ये राकेश चाहिँ स्थानीय अफसेट प्रेसमा काम गर्थे।
विभुले श्रीमती र छोराछोरी बिहारमै छाडेका थिए। विभु नेपाल आएको त्यस्तै १२-१५ वर्ष भएको थियो। उनको कमाइ बिहार पुग्थ्यो, श्रीमती छोराछोरी र बाबु पालिन्थे।
घर चलाउन पैसा पठाउने उनै विभुको शव लिन श्रीमती आउँदा डेढ लाख रुपैयाँ किरिया खर्च दिएर सुगम ग्यासले टार्यो।
जेठ २९ गते उनीहरू पाँचै जना सुगम ग्यासको सिकार भएका थिए। उमेरदारी यी युवा ठेलामा पानीपुरी कुदाएर काठमाडौं सहरमा सपना देख्थे, सुगम ग्यास विस्फोटसँगै उनीहरूको सपना मोडिन खोजेको छ।
...
गर्मी मौसम लागेपछि उनीहरूको व्यस्तता बढ्थ्यो। किनभने गर्मीमा पानीपुरी धेरै बिक्थ्यो।
पानीपुरीमा मिहेनत निकै नै थियो। अमिलो एकठाउँमा किन्नुपर्ने, पुरी अन्तै। पुरी किनेर मात्र हुँदैन, तातो तेलमा डुबाएर फुलाउनुपर्छ। चना, मटर भिजाउने, आलु उसिन्नुपर्ने सबै बन्दोबस्त गर्नुपर्छ।
त्यस दिन कालिमाटी प्रहरी चौकी पछाडि डेराको आँगनमा उनीहरू यस्तै काम गरिरहेका बेला सुगमको सिलिन्डर आगलागी भयो।
टेकुबाट ल्याएको सुगम ग्यासको सिलिन्डर ल्याएका थिए। सिलिन्डरबाट ग्यास बलेन। नबलेपछि विक्रेता सुरेन्द्र बलामीलाई बोलाए। उनले सिलिन्डर हेरे।

‘अरू सिलिन्डरमा भन्दा यसमा धेरै ग्यास रहेछ भनेर थोरै ग्यास लिक गराउँदै थिए,’ प्रत्यक्षदर्शी बुद्धिप्रसाद न्यौपाने भन्छन्, ‘बम पड्केझैं आवाज निस्कियो, सबै ढले, शरीरमा आगो लाग्यो।’ अलि पर भएका कारण न्यौपाने आगलागीमा परेनन्।
विक्रेता बलामी आफैं घाइते भएर हाल कीर्तिपुर अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहेका छन्। विभुको ज्यान गयो। घाइतेमध्ये राकेशकी १८ महिने छोरी पनि गम्भीर घाइते छिन्। उनको कान्ति अस्पतालमा उपचार भइरहेको छ।
सबैको शरीर सग्लो छैन। आगोले आधा शरीर पोलेको छ। अब यो ज्यान सकुसल भएर काममा फर्किने चुनौती नै पहिलो छ।
...
राकेशसिंह प्रेसका स्टाफ थिए। त्यही प्रेसका मालिक बुद्धिप्रसाद न्यौपाने २९ गतेदेखि नै उनको रेखदेखमा वीरको ट्रमा सेन्टर बसिरहेका छन्। औषधि किन्ने, खाना खुवाउने, कपडा अदलबदल गर्नेलगायत काम आफैं गरिरहेका छन्।
‘आफन्त छैनन्, भएका सबै घाइते छन्,’ न्यौपानेले भने, ‘त्यसैले म आफैं रेखदेखमा खटिएको छु।’
उनका अनुसार चार जनाको उपचार खर्च भन्दै सुगम ग्यासका एक जना केही समयअघि आए, २५ हजार रुपैयाँ दिएर फर्किए। त्यसयता सुगम ग्यासबाट कोही आएका छैनन्, औषधि खर्च डेढ लाख पुगेको छ।
‘उधारोमा औषधि ल्याउने बन्दोबस्त मिलाएको छु,’ न्यौपानेले भने।
सुगम ग्यासका सञ्चालक शिव घिमिरे हुन्। ललितपुरमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनामा सरकारले एचपी ग्यासलाई कारबाही थाल्दा हडतालको नेतृत्व गर्दै उत्रिएका थिए उनी।
पटक-पटकको वार्तापछि पीडित परिवारलाई चालीस लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको थियो। एचपीलाई चालीस लाख तिराउने सहमति उनै घिमिरे अध्यक्ष रहेको एलपी ग्यास संघले गरेको थियो। तर, आफ्नै ग्यास कम्पनीको सिलिन्डर आगलागी भएर मारिएकालाई घिमिरेले डेढ लाख रुपैयाँमा टारेका छन्। घाइते भएकाहरूको उपचार गर्न पनि उनी हिच्किचाएका छन्।
सरकार आफैं पनि सुगम ग्यास दुर्घटनामा केही बोलेको छैन। घटना त्यसै सामसुम पार्न खोजिएको छ। न छानबिन भएको छ न त पीडितलाई उपचार र राहतको पहल। ‘दुई जनाको डिस्चार्ज गर्ने भनेर अस्पतालले भनेको छ,’ न्यौपाने भन्छन्, ‘यहाँ उपचार गर्दा लागेको खर्च नतिरी मुक्ति पाइँदैन, कसले तिर्ने पैसा?’
सुगम ग्यास सञ्चालक घिमिरे भने घाइतेको उपचारमा सहयोग गरिरहेको बताउँछन्। ‘तत्कालका लागि किरिया खर्च पनि दिएको छु,’ उनले भने।
आपूर्ति मन्त्रालयका अनुसार सुगम ग्यास घटना छानबिन भएको छैन। ‘सुगम ग्यास विस्फोटको छानबिन गर्न समिति गठन गरिएको छैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘छानबिन गर्ने तयारी पनि छैन।’
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे भने छानबिनको अधिकार निगमलाई नभएको बताउँछन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार राकेश र लक्ष्मीकुमार धेरै निको भइसकेका छन्। उनीहरूलाई अब घर पठाउँदा पनि हुन्छ।
‘दुई जनाको घाउ निको हुन समय लाग्छ, जबजम्म पोलेको ठाउँमा नयाँ छाला भरिँदैन,’ उपचारमा संलग्न डाक्टर पीयुष दाहालले सेतोपाटीसँग भने, ‘दुई जनालाई डिस्चार्ज गर्ने तयारी गर्दैछौं।’
उनका अनुसार आगोले डढेको घटनामा तीन प्रकारका घाइते हुन्छन्। सतही, मध्यम र गहिरो पोलेका। त्यसमध्ये यी चार जना मध्यममा पर्छन्। यिनीहरूको शरीरको ३० प्रतिशत भाग जलेको थियो। ‘४० प्रतिशत शरीरको भाग जलेका बिरामीलाई भर्ना लिइँदैन, यस्तोमा मान्छे बाँच्ने सम्भावनै हुन्न,’ दाहाल भन्छन्।
दाहालको भनाइमा जलेका बिरामीको उपचार नेपालमा कठिन छ। पहिलो त औषधि नै महंगो र भारतबाट ल्याउनुपर्छ। दोस्रो, वीरमा जलेका बिरामीका लागि छुट्टै आइसियु बेड छैन।
‘डढेका बिरामीको उपचार नै चुनौतीपूर्ण छ, अन्यत्रको मासु काटेर जोड्नुपर्छ, कतिको त त्यो पनि सम्भव हुँदैन,’ दाहाल भन्छन्।
वीरमा आठवटा बेड छन् यस्ता बिरामीका निम्ति। टिचिङमा पाँच वटा छन्। काठमाडौंमा आगलागी भएर धेरै मान्छे घाइते भए उपचारमा निकै नै समस्या हुने दाहाल बताउँछन्।
...
घाइतेहरू सबैको घर एकै ठाउँ हो। जब विभु नेपाल छिरे, विभुकै गाउँका कोही भाइ, कोही भतिजा नाता पर्ने उनीहरू पनि यतै आउने मनस्थिति बनाए।
यहाँ आउनुको कारण पानीपुरी व्यवसाय हो। उनीहरूले सानैमा जानेको सीप यही हो। पहिले बिहारमा यो पेसा गर्थे। विभु राजधानी आएपछि नजिकका साथीभाइ पनि यतै आए।
घाइते लक्ष्मीका अनुसार दिनभरि पानीपुरी बेच्दा चार पाँच सय रुपैयाँ कमाइ हुन्थ्यो। घाइते भएपछि यो ठप्प भएको छ। अब फेरि यो पेसामा फर्किने नफर्किनेबारे लक्ष्मीले सोच्न सकिरहका छैनन्।
‘एकपटक घर जान मन लागेको छ,’ लक्ष्मी भन्छन्, ‘एक दुई महिना आराम गरेर फेरि फर्किन्छु कि!’

लक्ष्मीका अनुसार गाउँकै दाइ काठमाडौं आएका र जीविकोपार्जन भएकाले यतै आइयो। चार पाँच वर्षसम्म बस्दा काममा सन्तुष्टि नै मिलेको थियो। सिलिन्डर आगलागीपछि भने ग्यास चलाउन डर लागेको उनले बताइन्।
उनी आजका दिनसम्म उपचारमै छन्। उनलाई हेर्न कोही आएनन्, ग्यास सञ्चालक पनि आएनन्। त्यसैले राहत र क्षतिपूर्ति देऊ भनेर कसैलाई भन्न पनि सकेनन्। ‘खै के भन्ने, कसलाई भन्ने, कोही आएका पनि छैनन्,’ लक्ष्मी भन्छन्, ‘हामी अर्कै देशका मान्छे परिम्।’